News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने तयारी

    हिमाली संचार संवाददाता
    ३२९ पटक

    कार्तिक १, २०७६ काठमाडौं : सत्ता साझेदार समाजवादी पार्टी (सपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) बीचको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

    एक महिनाभित्र एकता गर्ने तयारी भइहेको राजपा वार्ता समितिका संयोजक राजेन्द्र महतोले जानकारी दिए।

    राजपा अध्यक्ष मण्डलका सदस्यसमेत रहेका संयोजक महतो पार्टी एकीरणका लागि सैद्धान्तिक सहमति भइसकेको र केही प्राविधिक काम मात्रै बाँकी रहेको बताउँछन्। उनी भन्छन्, ‘एक महिनाभित्र एकता घोषणा गर्ने गरी तयारी भइरहेको छ।

    समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले पनि केही विषयमा निर्णय हुन बाँकी रहेपनि एकता अन्तिम चरणमा पुगेको बताउँछन्। आफ्नो पार्टी पनि सकेसम्म छिटो एकता गर्नुपर्ने पक्षमा रहेको श्रेष्ठको भनाइ छ।

    नाम र चुनाव चिह्नमा लगभग सहमति दुई पार्टीबीच एउटाको नाम र अर्कोको चुनाव चिह्न राख्ने विषय सहमति नजिक पुगेको वार्ता समितिका एक सदस्यले बताए।

    उनका अनुसार पार्टीको नाम समाजवादी पार्टी राख्ने र चुनाव चिह्न राजपाले प्रयोग गरेको छातालाई मान्ने सहमति भएको हो तर, राजपाका कतिपय नेताहरू भने एकताको सन्देश पार्टीको नाममै झल्कियोस् भन्ने पक्षमा देखिन्छन्।

    ‘उहाँहरूले नाममा ‘जनता, एकिकृत वा संयुक्त’ थप्नुपर्नेमा जोड गरिरहनु भएको छ’ सपा वार्ता टोलीका एक सदस्यले भने। आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनमा सपाले पाँच औंलासहितको हत्केला चुनाव चिह्न पाएको छ।

    पहिला यो चुनाव चिह्न सद्भावना पार्टीको थियो। गजेन्द्रनारायण सिंहको सद्भावना ‘स्कुलिङ’बाट आएकाहरू राजपामा ठूलो संख्यामा छन्। राजपा गठन हुँदाका तीनवटा पार्टीको नाममा सद्भावना जोडिएको थियो।

    पाँच औंलासहितको हत्केला चिह्नमा पनि राजपाको खासै आपत्ती नरहने सपा महासचिव श्रेष्ठको भनाइ छ। ‘नाम र चुनाव चिह्नका विषयमा प्रशस्त छलफल गर्न सकिन्छ’ उनी भन्छन्, ‘तर नाम र चिह्न एकताको बाधक बन्दैन।

    राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव पनि जनताको चाहना र तेस्रो वैकल्पिक शक्ति बनाउने अभियान अन्तर्गत एकता हुन लागेकाले ससाना प्राविधिक विषयमा अल्झिन नहुनेमा जोड दिन्छन्।

    छिट्टै एकता गर्नका लागि दुबै पक्षले केही न केही अडान छोड्नुपर्ने यादवको भनाई छ। नेतृत्व व्यवस्थापनको चुनौती सपामा डा.बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष छन्। ६ सदस्यीय राजपा अध्यक्ष मण्डलमा महन्थ ठाकुर संयोजक छन्।

    एकीकृत पार्टीमा भट्टराई, यादव र ठाकुर तीनै जनालाई अध्यक्ष बनाउने विषयमा वार्ता टोलीबीच अनौपचारिक छलफल चलिरहेको छ। राजपाका नेताहरूले भने यसलाई सपाको प्रस्ताव रुपमा मात्रै लिएका छन्।

    राजपाले अध्यक्ष मण्डलका सबै सदस्य र सपाका दुबै अध्यक्षलाई केन्द्रीय अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए। यो प्रस्तावलाई सपा वार्ता टोलीले अस्विकार गर्‍यो।

    बहुअध्यक्षमा जाँदा दुबै पार्टीको समान नेतृत्व हुनुपर्ने राजपाको माग छ। राजपा अध्यक्ष मण्डलका एक सदस्य भन्छन्, ‘दुईबाट एक–एक वा दुई–दुई जना अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो माग हो।

    एउटा वा दुईवटा मात्रै अध्यक्ष बनाउने कुरामा सपाका नेताहरूको असहमति देखिन्छ। एकजना मात्रै अध्यक्ष बनाउँदा भट्टराई वा यादव कसलाई पठाउने भन्नेमा सपाभित्रै मतेक्य देखिँदैन। राजपामा भने एकल नेतृत्वका लागि असहमतिका बावजुद ठाकुरलाई अगाडि सार्न सकिने देखिन्छ।

    नेतृत्वको विभिन्न संरचनाको विषयमा छलफल चलिरहेको राजपा वार्ता टोलीका संयोजक महतो बताउँछन्। उनी भन्छन्, ‘जुन संरचनामा गए पनि नेतृत्व बराबरीको आधारमा हुनुपर्छ।

    सत्ता साझेदारीको समस्या वार्ता टोली संयोजक महतो एकताअघि नै सपा सत्ताबाट बाहिरिनुपर्ने बताउँछन्। सत्तामा बसेर वैकल्पिक शक्ति नबन्ने उनको दाबी छ।

    संविधान संशोधन नभएपछि आफूहरूले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्मरण गर्दै महतोले भने, ‘हाम्रो लागि मात्रै होइन, दुई बुँदे सहमति कार्यान्वयन नभएपछि त सपा सरकारमा बस्नुको कुनै औचित्य छैन।

    सपा महासचिव श्रेष्ठ आफ्नो पार्टी भित्रै सरकारमा बस्ने कि फिर्ता हुने भन्ने विषयमा छलफल चलिरहेको बताउँछन्। संविधान संशोधन नहुँदा पनि सरकारमै बसिरहने कि बाहिरिने भन्ने विषय पार्टीमै छलफलमा रहेकाले एकतामा यसले पनि बाधा नपार्ने श्रेष्ठको भनाई छ।

    २८ कार्तिकमा बस्ने संघीय परिषद् र २९–३० कार्तिकमा बस्ने केन्द्रीय समिति बैठकले सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा निर्णय गर्ने उनले जानकारी दिए।

    महाधिवेशन प्रभावित पार्ने षडयन्त्र !

    गत बैशाखमा बसेको राजपा पदाधिकारी बैठकले कात्तिक अन्तिमसाता महाधिवेशन गर्ने निर्णय गर्‍यो। त्यसपछि महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन मूल तयारी समिति पनि गठन भयो।

    राजपाका कतिपय नेताहरू भने पूर्वनिर्धारित महाधिवेशन रोक्ने षडयन्त्र अन्तर्गत पार्टी एकताको कुरा आएको बताउँछन्। राजपा वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल भने मुद्दामा प्रतिवद्धता र जनाधार नभएकाहरूले पार्टी एकताको हल्ला फैलाइरहेको बताउँछन्।

    ‘पार्टीभित्र एकीकरण होइन, महाधिवेशनको माग भइरहेको छ’ लाल भन्छन्, ‘महाधिवेशन रोक्ने षडयन्त्र अन्तर्गत एकताको कुरा अघि सारिएको हो। २०७४ बैशाखमा छ वटा मधेसवादी दल मिलेर गठन भएको राजपाको सांगठनिक प्रक्रिया अझै सकिएको छैन।

    २०७६ बैशाखमा संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएर गठन भएको सपाको पनि तल्लो तहसम्म एकीकरण भइसकेको छैन। पहिलाकै एकताले पूर्णता नपाई एकता गर्दा ‘भुँईको टिप्न खोज्दा खल्तीको पोखियो’ भन्ने उखानजस्तो हुन्छ भन्ने मत दुबै पार्टीमा देखिन्छ।

    राजपा वार्ताटोली संयोजक महतो भने महाधिवेशन वा सांगठनिक कुराले एकीकरणमा कुनै प्रभाव नपार्ने बताउँछन्। उनी भन्छन्, ‘एकीकरण गरेर एकता महाधिवेशन गर्छौ।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...