गृहमन्त्रीको ध्यानाकर्षण : सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा प्रहरीको भूमिकामाथि प्रश्न

विराटनगर -गृहमन्त्री सुधन गुरुङ अपर्झट विराटनगर आएको विषय सार्वजनिक भएसँगै मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा हुँदै आएको तस्करी र त्यसको नियन्त्रणमा सुरक्षाकर्मीको भूमिकाबारे गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिन्छ।
सशस्त्र प्रहरी बलको नं. ३ गण हेडक्वार्टर कंकालिनी, विराटनगरबाट करिब २४ किलोमिटर पूर्वतर्फ आएर रंगेली क्षेत्रमा रु. १ लाख १५ हजार ५ सय बराबरको अवैध खाद्यान्न सामग्री बरामद गरिएको छ। तर, रंगेलीको खुला सीमाक्षेत्रमा लामो समयदेखि तस्करी नियन्त्रणका लागि विभिन्न प्रहरी चौकी तथा सशस्त्र प्रहरीका सुरक्षा पोस्टहरू रहे पनि सीमाक्षेत्रबाट अवैध सामान ओसारपसार भइरहेको विषयले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
रंगेली क्षेत्रमा करिब २६ किलोमिटर खुला सीमाक्षेत्र रहेको छ। उक्त क्षेत्रमा इलाका प्रहरी कार्यालय रंगेली मातहतका विभिन्न प्रहरी चौकी, विशेषगरी आमगाछी प्रहरी चौकी (क), आमगाछी प्रहरी चौकी (ख) तथा धनापट्टिमा सशस्त्र प्रहरीको बेस क्याम्पसमेत रहेको अवस्थामा तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको हो भने यसको कारण खोजिनु आवश्यक छ।
सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीको जिम्मेवारी, गस्तीको प्रभावकारिता, सूचना संयन्त्र र तस्करी नियन्त्रणमा भइरहेको प्रयासबारे सम्बन्धित निकायले गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ। सुरक्षा निकायको उपस्थितिका बाबजुद अवैध सामान ओसारपसार भइरहेको हो भने त्यसको जवाफदेहिता कसले लिने भन्ने प्रश्न पनि उठेको छ।
गृहमन्त्रीज्यू, सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रण केवल सामान बरामद गरेर समाचार बनाउने विषय मात्र होइन। तस्करीको जरो, त्यसमा संलग्न व्यक्ति, सम्भावित संरक्षण र सुरक्षाकर्मीको भूमिकासमेत निष्पक्ष रूपमा अनुसन्धान हुन आवश्यक छ।
यस विषयमा समयमै गृहमन्त्रीको ध्यानाकर्षण होस् र मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणका लागि प्रभावकारी अनुगमन तथा अनुसन्धान अघि बढोस् भन्ने अपेक्षा गरिएको छ।


















