आज : २०२६-११-२५, बुधबार

रतुवामाईमा दुई महिना बित्दा पनि प्रमुख प्रशासकीय अधिकृत हाजिर भएनन्, मन्त्रालयले फेरि गर्‍यो नयाँ सरुवा

मोरङका चार नगरपालिकाले महिला उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी पाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोजको पहिलो साता एकैपटक ४२ जना उपसचिवको सरुवा गर्दै मोरङका चार नगरपालिकामा महिला उपसचिवलाई प्रशासनिक नेतृत्वको जिम्मेवारी दिएको थियो।

तर सरुवा भएको करिब दुई महिना बितिसक्दा पनि रतुवामाई नगरपालिकामा खटाइएकी प्रमुख प्रशासकीय अधिकृत शारदा भण्डारी भने अहिलेसम्म कार्यालयमा हाजिर भएकी छैनन्।

मोरङका अन्य तीन नगरपालिकामा सरुवा भएर आएका महिला प्रमुख प्रशासकीय अधिकृतले एक साताभित्रै कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेर कामकाज सुरु गरिसकेका छन्। तर रतुवामाईमा भने दुई महिना बितिसक्दा पनि तोकिएका प्रमुख प्रशासकीय अधिकृत उपस्थित नहुनुले सरुवा कार्यान्वयन र प्रशासनिक व्यवस्थापनमाथि नै प्रश्न उठाएको छ।

शारदा भण्डारी कार्यालयमा हाजिर नहुने भएपछि मन्त्रालयले मंसिर २ गते पुनः परिपत्र गर्दै उक्त स्थानमा चन्द्रकला चौलागाईं ओलीलाई पठाउने निर्णय गरेको छ।

सरकारी कर्मचारीको सरुवा भएको लामो समयसम्म पनि जिम्मेवारी सम्हाल्न नआउनु र पुनः अर्को कर्मचारी पठाउनुपर्ने अवस्था आउनुले स्थानीय तहको प्रशासनिक सेवा प्रवाहमा कस्तो असर परेको छ भन्ने विषयसमेत चासोको विषय बनेको छ।