आज : २०२६-११-२०, शुक्रबार

रंगेलीकाे सुन्दर दृश्य भित्र कुरूप दृश्य

मोरङ-रंगेली नगरपालिका परिसरमा पुग्ने जोकोहीलाई त्यहाँको सुन्दरता र व्यवस्थापनले आकर्षित गर्छ। नगरभित्रकाे चिटिक्क पारिएको राम्रो पार्क तथा हरियाली बगैँचा, फूलबारी, बस्नका लागि राखिएका बेन्च र व्यवस्थित खुला क्षेत्रले नगरपालिकाको परिसरलाई आकर्षक बनाएको छ। तर यही सुन्दर परिसरको एक कुनामा पुग्दा भने दृश्य बिल्कुल फरक देखिन्छ। जेन्जि आन्दोलनमा त्यहाँ जलेर ध्वस्त भएको एउटा पुरानो सभाहालले जेन्जि आन्दोलनकाे झल्काे दिने भगनाअवषेश देखिन्छ । कुनै समय मानिसहरूको चहलपहल हुन्थ्यो, सार्वजनिक कार्यक्रम आयोजना गर्ने स्थान थियोे । तर एक बर्ष बितिसक्दा समेत आज त्यही स्थानमा जलेका टिनका पाता, भत्किएका संरचना, खिया लागेका फलामका पाताले निर्माण सामग्रीले सभाहालको पुरानो अस्तित्व सम्झाइरहेका छन्। २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त सभाहाल लामो समय बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। आगलागीबाट क्षति पुगेको संरचना अहिले भग्नावशेषमा परिणत भएको दृश्यले सबैकाे मन तानिएको छ । समय बित्दै गएको र नगरपालिकाको परिसरमा नयाँ संरचना थपिँदै छन्। बाटो र बगैँचाको स्वरूप फेरिँदै छ। परिसरलाई आकर्षक बनाउने कामले निरन्तरता पाइरहेको देखिन्छ। तर त्यही परिसरभित्र रहेको जलेको सभाहाल भने पुनर्निर्माणको प्रतीक्षामा बसिहेकाे देखिन्छ ।
बाहिरबाट हेर्दा आधुनिक र व्यवस्थित देखिने नगरपालिकाको परिसरभित्रै यस्तो दृश्य रहनुले सार्वजनिक सम्पत्तिको संरक्षण र पुनर्निर्माणका लागि चासोकाे बिषय बनिरहेको देखिन्छ । सभाहाल केवल एउटा भवन मात्र होइन। यो सार्वजनिक कार्यक्रम, नागरिक छलफल, सामाजिक गतिविधि तथा नगरपालिकाका विभिन्न कार्यक्रम सञ्चालन गर्न उपयोगी हुने सार्वजनिक संरचना थियोे । यसको पुनर्निर्माणले भवनको स्वरूप फर्काउने मात्र होइन, सार्वजनिक उपयोगको एउटा महत्वपूर्ण स्थानलाई समेत पुनःजीवन दिन सक्छ। नगरपालिकाको सुन्दरता बाहिरी संरचना र हरियालीले मात्र पूर्ण हुँदैन। परिसरभित्र रहेका सार्वजनिक सम्पत्तिको संरक्षण, मर्मतसम्भार र पुनर्निर्माणले पनि त्यत्तिकै महत्व राख्छ। त्यसैले रंगेली नगरपालिकाले जलेको सभाहालको भग्नावशेषलाई लामो समयसम्म त्यसै छाड्नुको सट्टा पुनर्निर्माण वा उक्त स्थानमा पार्क वा अन्य केही निर्माणकार्य गरेर उक्त कुरुप देखिने ठाउँमा केही राम्रो काम गर्नुपर्ने स्पष्ट योजना सार्वजनिक गर्न आवश्यक छ। नगरपालिकाको सुन्दर परिसरको बीचमा रहेको यो भग्नावशेष कहिले हट्छ र पुरानो सभाहालले कहिले नयाँ स्वरूप पाउँछ भन्ने प्रतीक्षामा स्थानीयवासी रहेका छन्।