आज : २०२६-११-०६, शुक्रबार

तिहारका लागि पटका तस्करी बढ्दै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमाथि प्रश्न !

रंगेली । तिहार नजिकिँदै गर्दा मोरङको रंगेली क्षेत्रका विभिन्न सीमावर्ती नाकाबाट पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार बढ्दै गएको स्थानीय स्रोतहरूले दाबी गरेका छन्। तर, पटका तस्करी नियन्त्रणमा यस वर्ष सुरक्षा निकायको सक्रियता अपेक्षाकृत कमजोर देखिएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन्।

विगतका वर्षहरूमा तिहारलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय रंगेली तथा सशस्त्र प्रहरीका प्रमुखहरूको सक्रियतामा विभिन्न सीमावर्ती क्षेत्रबाट पटाकाजन्य सामग्री बरामद गर्ने, नियन्त्रणमा लिने र सार्वजनिक रूपमा नष्ट गर्ने कार्य हुँदै आएको थियो। तर, यस वर्ष भने त्यस्तो सक्रियता नदेखिएको स्थानीयको गुनासो छ।

स्थानीय स्रोतका अनुसार रंगेलीका चोप्राह, धनापट्टी, आमगाछी, कर्सिया, मायागन्ज, नोचालगायतका सीमावर्ती तथा बजार क्षेत्र हुँदै दैनिक रूपमा पटाकाजन्य वस्तु नेपाल भित्रिने गरेको दाबी गरिएको छ। यसरी भित्र्याइएका पटका पथरी, उर्लाबारी, कानेपोखरी, बेलबारीलगायतका बजार तथा आसपासका क्षेत्रमा पुर्‍याउने गरिएको बताइएको छ।

विगतका वर्षहरूमा तिहार नजिकिएसँगै प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएर ठूलो परिमाणमा पटाकाजन्य सामग्री बरामद तथा नष्ट गर्ने गरेको थियो। तर, यस वर्ष अवैध ओसारपसार बढेको भनिँदा पनि नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको भन्दै सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।

पटाकाजन्य विस्फोटक पदार्थको अवैध आयात तथा बिक्रीवितरणले जनधनको सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्छ। विशेषगरी बालबालिका तथा युवाले प्रयोग गर्ने पटाकाका कारण आगलागी, चोटपटक र अन्य दुर्घटना हुने सम्भावना रहन्छ।

यस्तो अवस्थामा सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्नु नेपाल प्रहरी र सशस्त्र प्रहरीको महत्वपूर्ण जिम्मेवारी हो। विगतमा पटका नियन्त्रणमा सक्रिय देखिएका सुरक्षा निकाय यस वर्ष किन अपेक्षाकृत निष्क्रिय देखिएका छन्? सीमावर्ती नाकाबाट भइरहेको भनिएको अवैध ओसारपसारबारे सम्बन्धित निकाय जानकार छन् कि छैनन्?

तिहारलाई सुरक्षित र दुर्घटनामुक्त बनाउन सम्बन्धित सुरक्षा निकायले तत्काल सीमावर्ती क्षेत्रमा निगरानी बढाउन, अवैध रूपमा भित्र्याइने पटाकाजन्य सामग्री नियन्त्रण गर्न तथा बिक्रीवितरणमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न आवश्यक देखिन्छ।