तीनपटक उत्कृष्ट घोषित भए सिजुवा प्रहरी प्रमुख लिम्बू

मोरङ। लागुऔषध नियन्त्रण, गाँजा तस्करी रोकथाम तथा अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै मोरङको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी प्रमुख कैलाश लिम्बू तीनपटक उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले प्रत्येक महिना प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। सोही क्रममा वैशाख, श्रावण र पछिल्लो महिनाको कार्यसम्पादन मूल्याङ्कनमा इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख लिम्बू उत्कृष्ट घोषित भएका हुन्।
लागुऔषध नियन्त्रण तथा गाँजा तस्करी रोकथाममा सक्रियता देखाउनुका साथै ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएपछि लिम्बूको कार्यसम्पादनको मूल्याङ्कन गरिएको जनाइएको छ।
त्यसैगरी, स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी सेवालाई प्रभावकारी बनाउन उनले निर्वाह गरेको भूमिकाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले लिम्बूलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।
लगातार तीनपटक उत्कृष्ट प्रहरी घोषित हुनुले उनको कार्यसम्पादन र सुरक्षा व्यवस्थापनमा देखिएको सक्रियतालाई उजागर गरेको छ।



















