बूढीगण्डकी नदीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ। स्यारखोला क्षेत्रबाट आएको बाढीले तल्लो तटीय क्षेत्र हुँदै त्रिशूली दोभानसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदीको बहाव थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। नदीमा पानीको बहाव बढ्दै जाँदा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन, नदीको बहाव नजिक नजान र सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गरिएको छ।


















