आज : २०२६-१०-०७, बुधबार

सल्यान पुगेर रास्वपाले सुरु गर्‍यो नागरिकसँग प्रत्यक्ष संवाद

सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा संगठन सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद अभियान सञ्चालन गरेको छ।

रास्वपाको नेचासल्यान गाउँपालिका संयोजक एकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य निशा श्रेष्ठ, संघीय सांसद प्रेमलाल चौधरी तथा प्रदेश कमिटी सदस्य सुशील दर्जी शेर्पालगायत नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, नागरिकका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने तथा गाउँपालिकामा भइरहेका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने विषयमा छलफल भएको थियो।

त्यस्तै, गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पारित गरेका बजेट तथा योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न पालिका नेतृत्वसँग निरन्तर छलफल तथा परामर्श गर्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा सक्षम, इमानदार र नेतृत्व गर्न तयार व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने जनाएको छ। पार्टीले क्यान्डिडेट क्लब, लिडर्सिप एकेडेमी तथा पूर्ण लोकतान्त्रिक छनोट प्रक्रिया मार्फत उम्मेदवार छनोट गरिनेबारे नागरिकलाई जानकारी गराएको थियो।

रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरूले देशका ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अभियान सुरु गरेका छन्।

अभियानअन्तर्गत नागरिकका गुनासा, सुझाव तथा स्थानीय आवश्यकताबारे जानकारी लिने र संघीय तहबाट सम्बोधन गर्न सकिने विषयमा आवश्यक पहल गर्ने रास्वपाको भनाइ छ।

केन्द्रीय सदस्य निशा श्रेष्ठले नागरिकसँग प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या, आवश्यकता र अपेक्षा बुझ्ने तथा सम्भव भएसम्म सम्बन्धित तहबाट समाधानका लागि पहल गर्ने बताउनुभयो।