रास्वपाद्वारा माइन्डसेट, लेखन तथा पब्लिक स्पिकिङ प्रशिक्षण

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर २ र ५ अन्तर्गतका नगर तथा वडा सभापति, उपसभापति र सचिवहरूका लागि माइन्डसेट, लेखन, उद्घोषण तथा सार्वजनिक भाषणकला (पब्लिक स्पिकिङ) सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
प्रशिक्षणमा रतुवामाई, सुनवर्षी, कानेपोखरी, रंगेली तथा धनपालथान क्षेत्रका करिब ११० जना पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा मुख्य प्रशिक्षक मञ्जरी घिमिरे (मञ्जु) ले जिम्मेवारीमा रहेका पदाधिकारीले सार्वजनिक स्थान, टोल तथा समुदायमा आफूलाई कसरी प्रस्तुत गर्ने, प्रभावकारी रूपमा कसरी बोल्ने, आफ्ना विचारलाई स्पष्ट र व्यवस्थित रूपमा कसरी राख्ने तथा जनतासँग संवाद गर्दा अपनाउनुपर्ने व्यवहार र शैलीका विषयमा प्रशिक्षण दिएकी थिइन्।
प्रशिक्षणका क्रममा उनले नेतृत्व पदमा सीमित हुने विषय नभएको बताउँदै जनतासँग कसरी बोल्ने, आफ्ना कुरा कसरी स्पष्ट रूपमा राख्ने र समुदायमा कस्तो व्यवहार गर्ने भन्ने कुराले पनि नेतृत्वको प्रभाव निर्धारण गर्ने धारणा राखिन्।
रंगेली नगर सभापति हरेन्द्र बरालले पार्टीका नेता तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्दै आफ्ना विचार र धारणा प्रभावकारी रूपमा सार्वजनिक गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए।
उनले आगामी दिनमा सम्पूर्ण पदाधिकारी तथा कार्यकर्तालाई समेटेर थप प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पहल गरिने जानकारी दिए।
प्रशिक्षणमा सहभागीहरूलाई संगठनात्मक जिम्मेवारीसँगै सार्वजनिक प्रस्तुति, लेखन, उद्घोषण, वक्तृत्वकला तथा जनतासँग प्रभावकारी संवाद गर्ने तरिकाबारे प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।


















