केरौन १३२/३३ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति सुरु हुने

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन बजार नजिक निर्माण भइरहेको केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त आयोजनाबाट असोज महिनाभित्रै विद्युत् आपूर्ति सुरु गर्ने तयारी भइरहेको छ।
आयोजनाका इन्जिनियर राजेश साहका अनुसार सबस्टेशनका अधिकांश संरचनागत तथा प्राविधिक काम सम्पन्न भइसकेका छन्। सबस्टेशनबाट विद्युत् आपूर्ति सुरु गर्न आवश्यक प्रक्रियासमेत अघि बढाइएको उनले बताए।
असोज १७ गते हाईटेन्सन लाइनबाट विद्युत् आपूर्ति बन्द (सटडाउन) गरी ट्रान्सफर्मर चार्ज गर्ने तयारी गरिएको छ। ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा समय लाग्ने भएकाले मोरङ र झापाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाइएको छ। यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट अनुमति लिएर मात्रै सटडाउन गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया अघि बढिरहेको इन्जिनियर साहले बताए।
नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको यो आयोजना विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने उद्देश्यले अघि बढाइएको हो।
नेपाल सरकारले करिब पाँच बिघा जग्गा खरिद गरी सबस्टेशन निर्माणका लागि उपलब्ध गराएको थियो। २०७८ साउन २७ गतेदेखि निर्माण सुरु भएको आयोजनाको प्रारम्भिक ठेक्का अवधि २०८० कात्तिक २५ गतेसम्म थियो। निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले म्याद थप गरी २०८१ कात्तिक २५ गतेसम्म पुर्याएको थियो।
आयोजनाका अनुसार पोल विस्तारको काम सम्पन्न भइसकेको छ भने सबस्टेशनभित्र वायरिङ, ट्रान्सफर्मर जडानलगायतका आवश्यक प्राविधिक काम पनि पूरा भएका छन्।
केरौन सबस्टेशन सञ्चालनमा आएपछि विराटनगरतर्फबाट पूर्वी क्षेत्रमा आपूर्ति हुँदै आएको विद्युत् लाइनमा देखिँदै आएको भोल्टेजको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। नयाँ सबस्टेशन सञ्चालनमा आएपछि लामो दूरीबाट विद्युत् आपूर्ति गर्नुपर्ने अवस्था घट्नुका साथै स्थानीय वितरण प्रणाली थप मजबुत हुने विश्वास गरिएको छ।
हाल कतिपय क्षेत्रमा कम भोल्टेजका कारण घरेलु उपभोक्तादेखि उद्योग, व्यापार तथा कृषि क्षेत्रसमेत प्रभावित हुँदै आएका छन्। नयाँ सबस्टेशन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप स्थिर र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।
यी क्षेत्रका उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने
केरौन सबस्टेशन सञ्चालनमा आएपछि रङ्गेली वितरण केन्द्रअन्तर्गतका रङ्गेली, सुनवर्षी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलोलगायत क्षेत्रका विद्युत् उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने आयोजनाले जनाएको छ।
बढ्दो जनसंख्या, शहरीकरण, कृषि विद्युतीकरण तथा साना–ठूला उद्योग र व्यापारिक गतिविधिका कारण विद्युत्को माग निरन्तर बढिरहेको अवस्थामा नयाँ सबस्टेशन सञ्चालनले विद्युत् वितरणको क्षमता र विश्वसनीयता बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















