मेहनतअनुसार मूल्य नपाउँदा मोरङका सनपाट किसान निराश

मोरङ । मोरङको दक्षिणी क्षेत्रमा कुनै समय प्रमुख नगदेबालीका रूपमा चिनिने सनपाट (पटुवा/जुट) खेती पछिल्लो समय संकटमा पर्न थालेको छ। उत्पादन लागत बढ्दै जानु, मजदुरको अभाव हुनु तथा मेहनतअनुसारको मूल्य नपाउँदा किसानहरू सनपाट खेतीबाटै निराश बन्न थालेका छन्।
रंगेलीका कृषक जगर्नाथ मण्डलका अनुसार सनपाट खेती गर्न किसानले निकै मेहनत र समय खर्च गर्नुपर्छ। खेती लगाउनेदेखि काट्ने, प्रशोधन गर्ने र बजारसम्म पुर्याउने प्रक्रियासमेत झन्झटिलो र श्रमसाध्य हुने गरेको उनले बताए।
किसानहरूले नेपाल सरकारले सनपाटको उचित मूल्य निर्धारण नगर्दा व्यापारीहरूले आफूखुसी मूल्य तोक्ने गरेको गुनासो गरेका छन्। जसका कारण किसानहरू उत्पादनको वास्तविक लागतसमेत नउठ्ने गरी सस्तो मूल्यमा सनपाट बिक्री गर्न बाध्य हुने गरेका छन्।
नेपाल–भारत खुला सीमाक्षेत्रमा रहेका नेपाली किसानले आफ्नो उत्पादन भारतीय बजारमा समेत लगेर बिक्री गर्ने गरेका छन्। किसानका अनुसार भारतीय बजारमा नेपाली रुपैयाँ करिब १२ हजार रुपैयाँ प्रतिमनसम्म मूल्य पाउने भए पनि नेपाली बजारमा भने करिब ६ हजार ५ सय रुपैयाँ प्रतिमनमा मात्रै खरिद–बिक्री हुने गरेको छ। विगतका वर्षमा प्रतिमन १० हजार रुपैयाँसम्म मूल्य पाएको भए पनि यस वर्ष मूल्य घटेको किसानहरूको भनाइ छ।
व्यापारीहरूका अनुसार बंगलादेशबाट सनपाट आयात हुने भएकाले नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको हो। बंगलादेशबाट ठूलो परिमाणमा सनपाट भित्रिँदा मूल्यसमेत सस्तो पर्ने उनीहरूको भनाइ छ।
स्थानीय कृषक महादेव साहका अनुसार १० कठ्ठा जग्गामा सनपाट खेती गर्दा करिब ३० देखि ३५ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। तर बजारमा उचित मूल्य नपाउँदा लगानीसमेत उठाउन कठिन भएको उनले बताए।
सनपाट काट्ने समयमा मजदुरको अभाव पनि किसानका लागि अर्को ठूलो चुनौती बनेको छ। अहिले दैनिक करिब ७ सय रुपैयाँसम्म ज्याला दिनुपर्ने भए पनि गाउँघरमै पर्याप्त मजदुर नपाइने किसानहरू बताउँछन्।
सनपाट काटिसकेपछि पनि किसानको काम सकिँदैन। काटेको सनपाटको पात झार्न करिब एक साता लाग्छ। त्यसपछि स–साना मुठा बनाएर पानी जम्ने पोखरी, खोला वा खोल्सामा करिब २५ दिनसम्म कुहाउन राखिन्छ। करिब २५ दिनपछि पानीबाट निकालेर सफा गरिन्छ र पुनः करिब एक सातासम्म घाममा सुकाएपछि मात्रै बजारमा बिक्री गर्न योग्य हुन्छ।
यसरी सनपाट तयार गर्न लामो समय, श्रम र लगानी आवश्यक पर्ने भए पनि बजारमा उचित मूल्य नपाउँदा किसानलाई लागत उठाउनसमेत कठिन भइरहेको छ। त्यसैले सरकारले उत्पादन लागतलाई आधार बनाएर सनपाटको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुपर्ने किसानहरूको माग छ।
मोरङमा कुनै समय ठूलो क्षेत्रफलमा गरिने सनपाट खेती पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ। किसानहरूका अनुसार विगतका वर्षमा मोरङमा करिब ५ हजार ४ सय ४२ हेक्टर क्षेत्रफलमा सनपाट खेती हुने गरेकोमा यस वर्ष भने अघिल्लो वर्षको तुलनामा करिब ८ देखि १० प्रतिशत मात्रै क्षेत्रफलमा खेती सीमित भएको छ।
स्थानीय वृद्धवृद्धाका अनुसार २०४१ सालतिर मोरङमा सनपाट खेती निकै उत्साहजनक अवस्थामा थियो। त्यतिबेला भारतबाट समेत ठूलो संख्यामा मजदुरहरू मोरङका विभिन्न क्षेत्रमा आउने गरेका थिए। उनीहरू तीन महिनासम्म घर भाडामा लिएर बसेर सनपाट तयार पारेर मात्रै भारत फर्किने गरेको स्थानीयहरू सम्झन्छन्।
कुनै समय मोरङका किसानको आम्दानीको महत्वपूर्ण आधार बनेको सनपाट खेती अहिले बढ्दो लागत, मजदुर अभाव र उचित बजार मूल्यको अभावका कारण खुम्चिँदै गएको छ। किसानले उत्पादन गरेको सनपाटको उचित मूल्य सुनिश्चित गर्न नसकिए आगामी दिनमा यस खेतीबाट किसान थप विस्थापित हुने जोखिम बढेको छ।त्यसैले स्थानीय उत्पादनको संरक्षणसँगै उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण, आयात व्यवस्थापन र बजार सुनिश्चिततामा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ।



















