आज : २०२६-०८-०७, शुक्रबार

मानवीय सेवामा जीवन समर्पित गर्दै बलबहादुर बस्नेत

रतुवामाई, –समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो पद, संस्था वा सम्पत्ति नै आवश्यक पर्दैन। दृढ इच्छाशक्ति, सेवाभाव र अरूको दुःखमा साथ दिने मन भए पुग्छ भन्ने उदाहरण बनेका छन् मोरङको रतुवामाई नगरपालिकाका समाजसेवी तथा बुद्धिजीवी बलबहादुर बस्नेत

विगत लामो समयदेखि आफ्नै मेहनतबाट आर्जन गरेको रकमको एक हिस्सा शिक्षा, स्वास्थ्य, धार्मिक तथा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका बस्नेत प्रचारभन्दा सेवामा विश्वास गर्ने व्यक्तिका रूपमा स्थानीयस्तरमा परिचित छन्।

सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थी, विपन्न परिवार, मठमन्दिर तथा विभिन्न सामाजिक संस्थालाई आवश्यकता अनुसार सहयोग गर्दै आएका बस्नेतले पछिल्लो समय पनि आफ्नो सहयोग अभियानलाई निरन्तरता दिएका छन्।

बस्नेतले रतुवामाई–८ स्थित दाम्राभिट्टा जुम्बा डान्स सेन्टरलाई ८५ थान टिसर्ट प्रदान गरेका छन्। त्यस्तै, रतुवामाई–५ स्थित आधारभूत विद्यालय लारिकट्टाका विद्यार्थीलाई १०८ थान विद्यालय पोसाक (टिसर्ट) तथा रतुवामाई–६ स्थित ओमकारेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई ३६ थान विद्यालय पोसाक (टिसर्ट) वितरण गरेका छन्।

यसैगरी, रतुवामाई–५ निवासी पूर्णबहादुर लिम्बुको विपन्न परिवारलाई एक थान खाट, एक थान त्रिपाल र एक थान म्याट उपलब्ध गराउँदै बस्नेतले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंह, सिजुवा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाश लिम्बु, रतुवामाई नगरपालिकाका शिक्षा अधिकृत रविन्द्र पण्डित लगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयका अनुसार बस्नेतले वर्षौंदेखि कुनै आग्रह, स्वार्थ वा प्रचारको अपेक्षा नगरी सामाजिक उत्तरदायित्वलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै आएका छन्। उनले विद्यालयका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै विपन्न परिवारलाई दैनिक जीवनमा आवश्यक सामग्रीसमेत सहयोग गर्दै आएका छन्।

धार्मिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका बस्नेतले समाजका विभिन्न वर्ग र समुदायसँग सहकार्य गर्दै आएका छन्। उनको निरन्तर सामाजिक सक्रियताका कारण रतुवामाईका युवा, ज्येष्ठ नागरिक, अभिभावक, शिक्षक तथा विद्यालयका प्रधानाध्यापकहरूमाझ उनले विशेष सम्मान र विश्वाससमेत कमाएका छन्।

धेरै स्थानीयले बस्नेतलाई “आफ्नो कमाइ समाजकै हितमा खर्च गर्ने समाजसेवी” का रूपमा चिन्ने गरेका छन्। सहयोग प्राप्त गर्ने परिवार तथा संस्थाका प्रतिनिधिहरूले उनको सहयोगले आफूहरूलाई आर्थिक राहतसँगै आत्मबलसमेत प्रदान गरेको बताएका छन्।

समाजमा व्यक्तिगत जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउन बस्नेतका यस्ता कार्य प्रेरणादायी बनेका छन्। सहयोगको मूल्य रकमले मात्र नभई त्यसमा निहित सद्भाव, संवेदना र मानवीय भावनाले निर्धारण गर्छ भन्ने सन्देश उनको सेवामुखी जीवनशैलीले दिएको स्थानीयको भनाइ छ।

सामाजिक सेवालाई निरन्तरता दिँदै आएका बलबहादुर बस्नेतजस्ता व्यक्तित्वको योगदानले समाजमा सहयोग, सहकार्य र मानवीयताको संस्कृतिलाई थप मजबुत बनाइरहेको छ। आफ्नै कमाइको हिस्सा अरूको जीवनमा राहत र खुसी ल्याउन खर्च गर्दै आएका बस्नेतको सेवायात्रा रतुवामाईका लागि मात्र नभई समग्र समाजका लागि अनुकरणीय उदाहरण बन्दै गएको छ।