पोखराको सम्पत्ति बेचेर मोरङको बगर हराभरा बनाए, तर तटबन्धनमा सहयोग नपाएको उद्यमीको गुनासो

मोरङ -धेरै मानिस आर्थिक रूपमा सक्षम भएपछि सुविधासम्पन्न सहरमा बसाइँ सर्ने सपना देख्छन्। तर, पोखरा–२८ का ६० वर्षीय उद्यमी लिलाकृष्ण भुर्तेलले भने फरक बाटो रोजे। पोखरामा आरती सोप र आरती पेन्ट्सलगायत उद्योग सञ्चालन गरेका उनले आफ्नो घरजग्गासमेत बिक्री गरेर मोरङको रतुवामाई नगरपालिका–३ महादेवास्थित रतुवा खोलाको किनारमा रहेको ३६ बिघा बगर खरिद गरी हरियाली बनाउने अभियान सुरु गरे।
आरती हर्बल प्रालि, आरती एरोमा प्रालि र आरती एग्रो प्रालिको संयुक्त पहलमा उनले हालसम्म १० करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गरिसकेका छन्। सात वर्षको निरन्तर मेहनतपछि बालुवामय बगर अहिले १४२ प्रजातिका जडीबुटी, मकै र सूर्यमुखी खेतीले हराभरा बनेको छ।
तर अहिले उनी दुईवटा मुख्य समस्याबाट चिन्तित छन्। पहिलो, जडीबुटी प्रशोधनका लागि आवश्यक पूर्वाधार र सरकारी समन्वयको अभाव, र दोस्रो रतुवा खोलाको बढ्दो कटान।
भुर्तेलका अनुसार गत वर्ष मात्रै खोलाले करिब ५ बिघा क्षेत्रमा लगाइएको जडीबुटी खेती बगाएको थियो। समयमै तटबन्धन निर्माण नगरिए बाँकी ३१ बिघा जमिन, उद्योग तथा आसपासको बस्तीसमेत जोखिममा पर्ने उनको भनाइ छ।
उनले तटबन्धनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग पटक–पटक आग्रह गरे पनि प्रभावकारी पहल नभएको गुनासो गरे। “धेरैजना अवलोकन गर्न आउनुभयो, कामको प्रशंसा गर्नुभयो, तर तटबन्धनका लागि ठोस सहयोग भने भएन,” उनले भने।
भुर्तेलले रतुवामाई नगरपालिकासँग पनि सहयोग मागेको तर अपेक्षित साथ नपाएको बताए। उनका अनुसार नगरप्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले “तपाईं पोखराको मान्छे, हामी तपाईंलाई सहयोग गर्न सक्दैनौँ” भन्ने आशयको प्रतिक्रिया दिएको दाबी गरेका छन्। यद्यपि, यस विषयमा नगरप्रमुखको आधिकारिक धारणा भने प्राप्त हुन बाँकी छ।
स्थानीय कृषकहरूले भने भुर्तेलको प्रयासको प्रशंसा गरेका छन्। उनीहरूका अनुसार बगरमा लगाइएका लाखौँ बिरुवा र जडीबुटीका कारण रतुवा खोलाको बाढीको प्रभाव केही हदसम्म कम भएको छ र गाउँ संरक्षणमा सकारात्मक योगदान पुगेको छ।
स्थानीयवासीले वातावरण संरक्षण, कृषि प्रवर्द्धन र रोजगारी सिर्जनामा निजी क्षेत्रबाट भएको यस्तो लगानीलाई संरक्षण गर्न सम्बन्धित निकायले तटबन्धन निर्माण, जडीबुटी प्रशोधन पूर्वाधार तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
यस विषयमा रतुवामाई नगरपालिकाको आधिकारिक धारणा तथा अन्य सम्बन्धित निकायको प्रतिक्रिया प्राप्त भएपछि समाचारलाई थप अद्यावधिक गरिनेछ।



















