
रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक उच्च माध्यमिक विद्यालयलगायतका शैक्षिक संस्थाहरूले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेका छन्।
नेपाल सरकारको निर्देशनअनुसार वैशाख १५ गतेदेखि २० गतेसम्म घरदैलो अभियान सञ्चालन गरिने भएपछि विद्यालयहरूले आफ्नो सेवा क्षेत्रभित्र बिहानैदेखि गाउँ–गाउँ पुगेर विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन गर्नुका साथै अभिभावकलाई शिक्षा सम्बन्धी सचेतना प्रदान गरिरहेका छन्।
“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक–शिक्षिका तथा कर्मचारीहरू घरघरमै पुगेर विद्यालय जाने र नजाने दुई वर्षदेखि माथिका बालबालिकाका अभिभावकलाई सम्झाइ–बुझाइ गर्दै विद्यालय पठाउन आग्रह गरिरहेका छन्।
सरकारले कुनै पनि बालबालिका शिक्षा प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वर्ष भर्ना अभियान सञ्चालन गर्दै आएको भए पनि यस वर्ष वैशाख १५ गतेदेखि मात्रै घरदैलो कार्यक्रम सुरु गर्न निर्देशन दिइएको छ। विगतका वर्षहरूमा भने वैशाख ३ गतेदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो।
भर्ना अभियान ढिलो सुरु हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुन सक्ने विद्यालयहरूले बताएका छन्। सार्वजनिक बिदाका कारण पनि पाठ्यक्रम समयमै सम्पन्न गर्न चुनौती थपिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र सेडाईले जानकारी दिए। उनले समयमै भर्ना प्रक्रिया सम्पन्न गरी नियमित पठनपाठनलाई प्रभावकारी बनाउन सबै अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालयमा अनिवार्य भर्ना गराउन आग्रह गरे।