
मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। मोरङ क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्य रेग्मी लामो समयदेखि पार्टीको संगठन विस्तार र जिम्मेवारी निर्वाहमा सक्रिय रहँदै आएका थिए।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि मतगणनाका लागि रतुवामाई नगरपालिका–स्थित सिजुवा बजार नजिक शिवालय मन्दिरमा निर्वाचन कार्यालय स्थापना गरिएको थियो। फागुन २२ गते देशभर रास्वपाको मत परिणाम उत्साहजनक बन्दै गइरहेको समयमा रेग्मी पनि मतगणनास्थलमा सक्रिय रूपमा खटिएका थिए।
सोही दिन दिउँसो उनले आफ्नो स्थानमा साथीलाई जिम्मा दिएर नजिकैको होटलमा खाना खान गएका थिए। खाना खाने क्रममा अचानक बेहोस भई ढलेपछि स्थानीयले तत्काल रङ्गेली अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनलाई बचाउन सकेनन् र मृत घोषणा गरे।
उनको निधनपछि मोरङ क्षेत्र नं. २ सहित देशभरका रास्वपा समर्थकहरू शोकमा डुबेका थिए। मतगणनाको उत्साहबीच आएको यो दुःखद घटनाले पार्टी कार्यकर्ता तथा समर्थकहरूलाई स्तब्ध बनाएको थियो।
पुरानो दोहमना बजार क्षेत्रमा बसोबास गर्दै आएका रेग्मीले गाउँघरमा रास्वपाबारे जानकारी गराउँदै सदस्यता विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको सक्रियता र योगदानको कदर गर्दै जिल्ला कार्यसमितिले उनलाई जिल्ला सदस्यको जिम्मेवारी समेत दिएको थियो।
छोटो समयमा नै लोकप्रियता कमाउन सफल रेग्मीले रास्वपाका सभापति रवि लामिछानेको विश्वास समेत जितेका थिए। पार्टीप्रति समर्पित उनले संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएका थिए।
केही वर्षअघि बुबाको निधन भएपछि उनले परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै राजनीतिक र सामाजिक कार्यलाई निरन्तरता दिएका थिए। उनको परिवारमा आमा बिन्दुकुमारी रेग्मी, श्रीमती पुष्पा रेग्मी, छोरी दिप्सा रेग्मी र छोरा दिप्सेन रेग्मी रहेका छन्।
पार्टीको जिम्मेवारी बहन गर्ने क्रममा उनको निधन भएकाले उनका परिवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको विशेष दायित्व रहने देखिन्छ। परिवारलाई उचित सम्मान, सहयोग र छोराछोरीको योग्यता अनुसार जीवनयापनका अवसर सुनिश्चित गर्न पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहका नेताकार्यकर्ताले पहल गर्नुपर्ने आवश्यकता छ।
कार्यकर्ताबाट काम मात्र लिने तर अप्ठ्यारो अवस्थामा बेवास्ता गर्ने पुरानो राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै रेग्मी परिवारलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउन पार्टीले जिम्मेवारी बहन गर्नुपर्ने अपेक्षा गरिएको छ।