दीपेन्द्र राई
काठमाडौं : सपना ठूलै देख्नुपर्छ भन्ने नेपाली उखान प्रचलित छ । तर, उनले देखेको सपना न ठूलो थियो न त महत्वाकांक्षी नै । वकिल बन्ने सपना देखेका उनले वकालतका लागि ‘लाइसेन्स’ लिएरै छाडे । ‘लाइसेन्स’ लिएरमात्रै भएन । वकिल बन्न पञ्चायतको सदस्य बन्नुपर्ने बाध्यता थियो । सदस्यता लिएपछि उनको जीवनमा व्यापक परिवर्तन आयो ।
वकिल बन्न पञ्चायत सदस्य बनेका उनी बहुदल र पञ्चायतकालमा दुई–दुईपटक गरी चारपटक प्रधानमन्त्री बने । संवत् २०४० असार २९ गते पहिलोपटक प्रधानमन्त्री बनेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विगत सम्झे, ‘प्रधानमन्त्री बनेको पहिलो रात निदाउन सकिनँ ।’
किन ?
‘प्रधानमन्त्रीको भूमिका पाउनअघि मन्त्रीसम्म बनेको थिइनँ,’ पूर्वप्रधानमन्त्री चन्दले वास्तविकता सुनाए, ‘एक्कासि त्यति ठूलो भूमिका पाएको थिएँ । त्यति ठूलो भूमिको बोझ मेरा लागि ठूलै थियो ।’ भूमिका पाएपछि निर्वाह गर्नैपर्यो । गर्दै गए ।
‘मन्त्रिमण्डल गठन गर्न सकस पर्यो । त्यतिबेला अहिलेजस्तो पार्टी थिएन,’ संवत् १९६६ फागुन ३ मा बैतडीको कुरकुटियामा जन्मेका उनको बुझाइ थियो, ‘पार्टी भइदिएको भए अनुशासनले बाँध्थ्यो । मन्त्रिमण्डलमा नपरेकालाई सम्झाइ–बुझाइ गर्न सजिलो हुन्थ्यो ।’
मन्त्रिमण्डलका लागि नामावली तयार भयो । नामावली राजा वीरेन्द्रसमक्ष पेस गरे । कमा र फुलस्टपसम्म फेरबदल भएन । कमा र फुलस्टपसम्म फेरबदल नहुँदा खुसी हुनु छँदै थियो । तर, मन्त्रिमण्डलमा समेट्नैपर्नेलाई अटाउन नसक्दा उनी त्यत्तिकै दुःखी थिए । ‘त्यतिबेला मन्त्री हुन नपाउनेहरू रिसाउने नै भए । सानोतिनो विरोध हुने नै भयो,’ ४०, ४६, ५३ र ५८ मा प्रधानमन्त्री बनेका उनको भनाइ थियो, ‘मन्त्रिमण्डलमा यसलाई कि उसलाई राखौं भन्ने अन्योलमा परें । सबैलाई अटाउन पाए हुन्थ्यो भन्ने नलागेको होइन । तर, सम्भव थिएन ।’
छुटाउनै नहुनेलाई मन्त्रिमण्डलमा समेट्न नसक्दा थकथक लाग्ने नै भयो । कत्तिले चित्त दुखाए । नजिकका सम्बन्ध भएकाले चित्त दुखाउनु अस्वाभाविक थिएन । तर, चित्त दुखाएका र रिसाएकालाई सम्झाइ–बुझाइ गर्न अप्ठ्यारो नपरेको उनको भनाइ थियो ।
पञ्चायती व्यवस्थामा व्यक्तिगत पहुँचकै आधारमा मन्त्री बन्ने योग्यता राखिन्थ्यो । आफूले पाएको भूमिकाअनुसारको काम गर्नु नै थियो । ‘अन्ततः मन्त्रिमण्डल गठन गरें,’ मन्त्रिमण्डल गठनपछि राजा वीरेन्द्रले भनेका कुरा सम्झँदै उनले थपे, ‘तिम्रो ५० प्रतिशत अप्ठ्यारो सल्टियो ।
पहिलो मन्त्रिमण्डल कति सदस्यीय थिए ?
‘३०–३१ जनाको मन्त्रिमण्डल थियोजस्तो लाग्छ,’ उनले सम्झने प्रयास गरे, ३१ जनाकै हुनुपर्छ ।’ तर, ०४० असार २९ गतेको राजपत्र खण्ड ३३, अतिरिक्तांक १२ ‘ख’ मा चन्द नेतृत्वको मन्त्रिमण्डल २१ सदस्यीय थियो ।
लोकेन्द्रबहादुर चन्दको पहिलो मन्त्रिमण्डलमा
लोकेन्द्रबहादुर चन्द्र –प्रधानमन्त्री, राजदरबारसम्बन्धी र रक्षा
मन्त्री
जोगमेहर श्रेष्ठ –पञ्चायत तथा स्थानीय विभाग
पद्मसुन्दर लावती –गृह तथा सामान्य प्रशासन
पशुपतिशमशेर जबरा –जलस्रोत तथा आपूर्ति
हेमबहादुर मल्ल –कृषि तथा भूमिसुधार
नारायणदत्त भट्ट –स्वास्थ्य, उद्योग तथा वाणिज्य
बखानसिंह गुरुङ –कानुन तथा न्याय
पद्मबहादुर खत्री –परराष्ट्र
डम्बरनारायण यादव –निर्माण तथा यातायात
प्रकाशचन्द्र लोहनी –अर्थ र सञ्चार
राज्यमन्त्री
पक्तेसिंह थारू –शिक्षा तथा संस्कृति
विष्णु मादेन –वन तथा भूसंरक्षण
दीपक बोहोरा –पर्यटन
श्रीप्रसाद बुढाथोकी –श्रम तथा सामाजिक कल्याण
सहायकमन्त्री
सुरवीर शाही –वन तथा भूसंरक्षण
टंकबहादुर विष्ट –गृह
श्रीमती विद्यादेवी देवकोटा –स्वास्थ्य
केदार राई –आपूर्ति
नीरञ्जन थापा –पञ्चायत तथा स्थानीय विकास
भोलामानसिंह थापा –निर्माण तथा यातायात
मुकुन्दबहादुर बस्नेत –उद्योग तथा वाणिज्य
मन्त्रिमण्डल गठन भयो । ‘प्रधानमन्त्री भएपछि के गर्ने, कसरी काम गर्ने भनेर घोत्लिएँ,’ साहित्यकारसमेत रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भक्तपुरको बालकोटमा रहेको आफ्नै घरको आँगनबाट विगत सम्झे, ‘घोत्लिँदाघोत्लिँदै प्रधानमन्त्री बनेको पहिलो रात निद्रा लागेन ।
संवत् ०४१ असोज १ गतेको राजपत्र खण्ड ३४, अतिरिक्तांक २९ मा चन्द नेतृत्वको मन्त्रिमण्डल २६ सदस्यीय थियो भने ०४२ जेठ १ गतेको राजपत्र खण्ड ३५ अतिरिक्तांक ७ मा २४ सदस्यीय मन्त्रिमण्डल रहेको थियो । हेरफेर गरिएको मन्त्रिमण्डलमा मन्त्रीको भूमिकामात्रै होइन, मन्त्रीसमेत फेरबदल गरिएको थियो ।
जिल्ला पञ्चायत सभापतिबाट राजनीतिक यात्रा थालेका उनले वरिष्ठ साहित्यकारको परिचय बनाएका छन् । दर्जन पुस्तकका लेखक चन्दको ‘विसर्जन’ नामक कथासंग्रहलाई ०५४ सालको मदन पुरस्कार दिइएको थिए । रातोपाटिबाट