News Portal

एमाले नेतृत्वविरुद्ध विद्या भण्डारीको अडान : विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने घोषणा

२७२ पटक

काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको सदस्यता नवीकरण रोक्ने निर्णयलाई अस्वीकार गर्दै निरन्तर संघर्ष गर्ने घोषणा गरेकी छन्। शुक्रबार थापागाउँमा मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल समितिको कार्यालय उद्घाटन गर्दै उनले पार्टीभित्र बढ्दै गएको विकृति र विसंगतिविरुद्ध आफू सक्रिय रहने स्पष्ट अडान लिइन्।

भण्डारीले भनिन्, “मलाई जिम्मेवारी दिइयोस् वा दिइएन, त्यो ठूलो कुरा होइन। म एमालेको सदस्य हुँ र रहिरहनेछु। पार्टीमा देखिएको विकृति र विसंगतिलाई चुपचाप सहेर बस्दिनँ।”

उनले आफ्नो राजनीतिक यात्रा सम्झँदै माले कालदेखि नै संगठित सदस्य बनेको र त्यस सदस्यतालाई कसैले खोस्न नसक्ने प्रष्ट पारिन्। “नेकपा (एमाले) त पछि जन्मिएको दल हो। म पहिले नै रातो झण्डा समूहसँग आबद्ध भएकी थिएँ। त्यसैले मेरो सदस्यता ऐतिहासिक छ,” उनले जोड दिइन्।

भण्डारीले करिब आधा घण्टासम्मको सम्बोधनमा आफूलाई पूर्वराष्ट्रपति भन्दा एमालेको पुरानो कार्यकर्ता र नेतृको रूपमा प्रस्तुत गरिन्। उनले दलहरूले मुलुकका जनअपेक्षाहरू सम्बोधन गर्न नसकेको गुनासो गर्दै पार्टीभित्रको विकृति सच्याउन निरन्तर आवाज उठाइरहने बताइन्।

यसबीच, एमालेभित्रै उनको पक्षमा नेताहरू खुलेका छन्। उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले भण्डारीविरुद्धको निर्णयमा असहमति जनाउँदै आधिकारिक रूपमा नोट अफ डिसेन्ट पेस गरेका छन्। उनीहरू शुक्रबारको उद्घाटन कार्यक्रममा समेत सहभागी भई भण्डारीलाई समर्थन जनाए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि विगतदेखि नै भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत गर्ने पक्षमा छन्। कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद (जबज) UML को मूल विचार भएको र मदन भण्डारीकै योगदानमा विकसित भएको भन्दै, “यो विचारलाई क्षतिग्रस्त बनाउने प्रयास सफल हुने छैन,” भने।

तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने भण्डारीको सदस्यता नवीकरण नगर्ने अडानमा अडिग देखिएका छन्। उनले हालै फाउण्डेसनलाई लक्षित गर्दै ‘ठगी खाने भाँडो’ बन्न सक्ने चेतावनी दिएका थिए।

भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने अभियानलाई समर्थन गर्ने नेताहरू खुलेपछि एमालेभित्र स्पष्ट ध्रुवीकरण देखिन थालेको छ। एकातिर ओली नेतृत्वको कडाइ, अर्कोतिर शीर्ष तहकै नेताहरूको समर्थनसहित भण्डारीलाई स्वागत गर्ने अभियान—यी दुई धारबीचको रस्साकस्सीले एमालेभित्रको विवाद अझै गहिरिने संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...