News Portal

१० महिना बित्दा पनि मलेसियामा हत्या भएकी छोरीको शव नआउँदा वृद्ध आमाको पीडा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि छोरीको शवको प्रतीक्षामा छिन्।

संगीता गुरुङ
२५० पटक

फाल्गुन १, लुम्बिनी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि छोरीको शव ल्याउन भौँतारिरहेकी छन्। रोजगारीको लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर आएको १० महिना बितिसक्दा पनि शव नेपाल ल्याउन नसक्दा उनी निरन्तर वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्।

मातातीर्थ औँसीको दिन आमालाई फोन गरेर शुभकामना दिएको त्यो अन्तिम पल भएको सम्झँदै धनमायाले आँसु थाम्न सक्दिनन्। त्यसको एक हप्तापछि छोरी तिलमाया सार्कीको हत्या भएको खबरले उनी विक्षिप्त भइन्। मलेसियामा हत्या भएको सुनेदेखि नै धनमायाको आँखा ओभाउन सकेको छैन।

श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर तिलमाया मलेसिया गएकी थिइन्। हत्या भएको १० महिना बितिसक्दा पनि न शव नेपाल आएको छ, न त राज्यबाट राहत रकम नै प्राप्त भएको छ।

धनमायाले आवश्यक सबै कागजात पूरा गरी मलेसिया पठाए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्दै भनिन्, “शव आउला भन्ने आशामा १० महिना बितिसक्यो, तर अझै शव देख्न पाइएन। म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, थाहा छैन।”

तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र अनुसन्धान नसकिएकाले शव नेपाल पठाउन नसकिएको मलेसियन दूतावासले जनाएको छ। सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) का अनुसार मुद्दा किनारा नलागेसम्म शव नेपाल पठाउँदा कानुनी प्रक्रिया जटिल हुन सक्ने जनाइएको छ।

वैदेशिक रोजगार बोर्डको नियमअनुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गर्नुपर्ने हुन्छ। समयमै शव र कागजात नआउँदा राहत नपाइने डरमा रहेको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन्। “जे हुने भइहाल्यो, तर केही राहत पाए छोरीको लालनपालनमा सहयोग हुने थियो,” उनले दुखेसो पोखिन्।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार शव पहिचानमा ढिलाइ भएकाले नेपाल ल्याउन नसकिएको हो। “मलेसियन अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित नगरेको र अनुसन्धान जारी रहेकाले शव अस्पतालमै रहेको जानकारी पाएका छौँ,” उनले स्पष्ट पारे।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका १८ जनाको मृत्यु भएको छ, जसमध्ये तीन जनाको शव अझै नेपाल आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...