खसीको नाममा बाख्राको मासु बेच्ने व्यवसायी पक्राउ

माघ ३०, पर्सा – वीरगञ्ज महानगरपालिका-१३, प्रतिमा चोकमा खसीको नाममा बाख्राको मासु बिक्री गरेको आरोपमा एक मासु व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
आसमिन फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारून मियाँ अन्सारीले खसीको मासु भनेर बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो।
प्रहरीले अनुगमनका क्रममा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बिक्री गरिरहेको फेला पारेको थियो। पसलबाट १५ किलो बाख्राको मासु बरामद गरिएको छ।
प्रहरीका अनुसार अन्सारीमाथि कालोबजारीको अभियोगमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान जारी राखिएको छ।















