कार्यक्रम बिथोल्न म बिरुद्ध पक्राउ पूर्जी : दुर्गा प्रसाईँ

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेकाे र्याली बिथोल्न सरकारले आफूबिरुद्ध पक्राउ पूर्जी लिएकाे आरोप लगाएका छन्।
उनले देशसञ्चारसँग कुरा गर्दै बिहीबारको कार्यक्रम बिथोल्न सरकारले आफूबिरुद्ध षड्यन्त्र गरेकाे बताएका छन्।
विद्युतीय कारोबार ऐनकाे व्यवस्था उल्लंघन गरेकाे आरोपमा प्रसाईँलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो। उनीसँग जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएकाे हाे।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार उनीमाथि विद्युतीय काराेबार ऐनकाे व्यवस्था उलंघन गरेको आराेप छ।
प्रसाईँले आफू काठमाडाैँमै रहेकाे पनि बताए। उनले संविधान दिवसमा अवसरमा बिहीबार सर्लाहीको लालबन्दीमा र्याली गर्ने तयारी गरेका थिए। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। न्यायाधीश महेन्द्र काफ्लेकाे इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएकाे हाे।


















