News Portal

युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किए

पूर्णप्रसाद न्यौपाने
४९५ पटक

काठमाण्डौ। संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन्।

बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर स्वदेश फर्किएका हुन्।

श्रेष्ठलाई ३ जुन २०१९ मा नवलपरासीको मध्यविन्दु नगरपालिका– ११ का बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो।

सोही घटनामा धादिङको नेत्रवती गाउँपालिका– ४ का पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो। पहलमान अहिले पनि युएईको सारजाह जेलमा छन्।

हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति एक लाख ५० हजार युएई दिराम (जम्मा तीन लाख) दिराम पीडित परिवारलाई नेपालमा दिने तथा पाँच वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो।

जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि भुवन बुधबार साँझ सारजाहबाट रिहाइ भई राति एयर अरबियामार्फत नेपाल फर्किएका हुन्।

पाँच वर्षदेखि युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ र थापालाई बचाउन नेपालमा रकम संकलन अभियान चलाइएको थियो।

भुवनका बुबा यमनारायण श्रेष्ठको याचनामा ओखलढुंगा जिल्लावासीले सुरु गरेको सहयोग संकलन अभियानमा देश–विदेशबाट रकम जम्मा भएको थियो।

अदालतले फैसलामा तोकेअनुसारको रकम पीडित परिवारलाई बुझाएपछि मृत्युदण्डको सजाय तोकिएका श्रेष्ठ र थापाको उद्धारको पहल सुरु भएको थियो। भुवन नेपाल फर्किए पनि पहलमान अझै जेलमै छन्। कानुनी प्रक्रिया पूरा गरेर उनलाई पनि नेपाल फर्काउने पहल भइरहेको छ।

आफ्नो श्रीमान् बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि वैदेशिक रोजगारीकै क्रममा युएईमा भएको र उनैले किटानी जाहेरीसहित अनुसन्धानका लागि निवेदन दिएकी थिइन्।

सोही उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाइ भएको थियो।

नेपाली दूतावास आबुधाबीले पीडितका तर्फबाट बहस पैरवी गर्न दूतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमलाई खटाएको थियो।

नेपाल फर्किएका भुवनलाई आफन्त र जिल्लावासीले स्वागत गरेका छन्। नेपाल फर्किएपछि भुवनले आफूहरूलाई उद्धारका लागि पहल गर्ने रकम संकलन गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...