आज : २०२६-०६-०८, सोमबार

माटो र आपा !

भाले तेस्रो प्रहर बासेपछी
धर्तिमा उज्यालो पोखिएपछी
अन्धकारले साम्राज्य नजमाए सम्म
झ्याउकिरीहरु न कराए सम्म

आपा खेलिरहनु हुन्थ्यो माटो संग
चुहाउनु हुन्थ्यो निधारबाट
छेब्दु देखि चुहिने वासिम जस्तै
पसिनाको धारा
सिंचित पार्नु हुन्थ्यो खेतबारी
फूल्थ्यो सपनाहरु
झुल्थ्यो रहरहरु
मिल्दै नमिलेको असमान
काल्ला, गर्‍हाहरुलाई
कोदाली, कुटोले
निरन्तर मिलाइरहनु हुन्थ्यो ।

आपा देश बोकेर हिड्नु हुन्थ्यो
मैले धेरै पटक भेटेको थिए
सुर्ती र सलाईको बट्टा संगै
आपाको इस्टकोटको गोजिमा धुलो ।

आपालाई राष्ट्रवाद था’थिएन
ठूलो ठूलो स्वरमा भाषण गर्नु भएन
बोल्नु भएन लिपुलेक, लिम्पियाधुरा कालापानी हाम्रो हो भनेर
आपा त माटो संग बोल्नु हुन्थ्यो
खोला संग खेल्नु हुन्थ्यो
वनजंगल संग रमाउनु हुन्थ्यो ।

दौँतरीहरु बन्दुक संगै परेड खेल्न पल्टन तिर जादा
खै किन ?
आपालाई यहि माटो संग खेल्ने रहर भो !

दौँतरीहरु कालो बुट बजार्दै हिड्दा
आपा सिंचाइ न’पुगेर धांज परेको खेतको गह्रा जस्तो कुर्कुचाले
लेक, बेसी गरिरहनु हुन्थ्यो ।

माटो संग खेल्दा खेल्दै
अचानक एकदीन
आपा माटो संग कहिले न’खेल्ने गरि थाक्नु भो !

हामीले आपालाई माटो कै काखमा राखिदिउ
तीन मुट्ठी मट्टी दिउ
अहिले आपा माटो भैसक्नु भो
माटो भनेको देश हो भन्नेहरुले
माटो संगै ब्युझने
माटो संगै निदाउने
मेरो आपालाई
कहिले देश प्रेमी भन्ने छैन
देख्ने छैन ।।

माटो प्रति मेरो श्रद्धा बढेको छ
अब माटो भन्नू आपा हो
र आपा भन्नू माटो हो
आपाले जस्तै
अचेल म माटोलाई बहुत प्रेम गर्छु ।

लेखक:- सुशीला निनाम