दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई ५ हजार प्रोत्साहन भत्ता दिइने

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।
तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन्। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने पोखरेलले बताए।
वडामा जनसङ्ख्या वृद्धि गर्ने लक्ष्य सहित यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुने उनको भनाई छ। पछिल्लो समय बढीमा दुई सन्तान जन्माउने चलन छ।
‘गाउँमा जनसङ्ख्या घट्दै गएको छ। काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ,‘वडाध्यक्ष पोखरेलले प्रशासनसँग भने, नेपाल’ कृषि प्रधान देश भएको सरकारले नै भन्दै आएको छ। बजेट पनि कृषिमा नै बढी विनियोजन भएको अवस्था छ। तर कार्यान्वयन पक्ष उपलब्धिमूलक छैन। कृषि गर्ने मानिसको अभाव छ। खेतबारी बाझिएका छन्। यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था दिनानुदिन सिर्जना हुँदै गएको छ। खानकै लागि परनिर्भर बन्न परिरहेको छ।’
शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकाले लिनुपर्ने उनको भनाई छ। धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने भन्दै उनले अलिअलि उत्पादन भएको खेती जोगाउन पनि जङ्गली जनावर लखेट्ने मानिस गाउँमा नभएको बताए।
उनले भने, ‘गाउँमा जेष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। २ सन्तान हुन्छन्,पढाइका लागी बिदेसिन्छन्, जङ्गली जनावर घरभित्रै पसेर अन्नपात खोसेर लैजाने गरेका छन्। यसको रोकथामका लागि जन्मदर बढाउनुपर्छ। नत्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुको कुनै अर्थ छैन। आधुनिक प्रविधिको उपयोग गर्ने जनशक्ति छैनन्।’
वडाको उक्त निर्णय गाउँपालिको रातो किताबमा समेत परिसकेको उनको भनाई छ।

















