रघुनाथ बजगाईं,
काठमाडौं। राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन्। रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए। सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए। २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए। दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे।
कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ। उनी आवद्ध नेपाली कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरु कुनै पनि दल खुलेका छैनन्। एमाले नेताहरुले भने १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरुको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।
दुवैको समानता – शालीनता
राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता हुन्। दुवै नेता संसदीय राजनीतिबारे दख्खल राख्ने नेता पनि हुन्। दुवै नेताको समानता शालीनता पनि हो।
उमेरले रामचन्द्र पौडेल जेठा हुन्। २००१ असोज २९ गते तनहुँको मिर्लुङ, बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेल हाल काठमाडौंको बोहोराटारमा बस्नै आएका छन्। उनी नेपाली साहित्य, शास्त्री (संस्कृत) मा स्नाताकोत्तर हुन्।
सुवास नेम्बाङ २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका हुन्। हाल काठमाडौंको बालुवाटारमा बस्दै आएका नेम्बाङ कानुनका प्राध्यापकसमेत थिए। प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका उनी कुनै बेला प्राध्यापक संघमा पनि सक्रिय थिए। नेपाल बार एसोसिएसनको महासचिव पनि भए।
संसदीय राजनीतिमा सँगसँगै
रामचन्द्र पौडेल र सुवास नेम्बाङ संसदीय राजनीतिमा सँगसँगै छन्। दुवैले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आएका छन्।
रामचन्द्र पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित भए। ०७४ सालमा भने पराजित भएका थिए।
सुवास नेम्बाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य थिए। २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलामबाट निर्वाचित भए। ०५६ सालमा प्रतिनिधिसभा सदस्यको चुनाव जिते पछि उनले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरे। संसदीय गतिविधिलाई खुला गर्नुपर्छ भन्दै उनले लेखा समितिमा पत्रकारहरुलाई रिपोर्टिङका लागि खुला गरेका थिए।
दुवै नेताले राजनीतिक जीवन सुरुवात गर्दा मुलुक प्रजातन्त्रका लागि संघर्षरत थियो। रामचन्द्र पौडेल २०१५ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएका हुन्। त्यसबेला मुलुक प्रजातन्त्रलाई संस्थागत गर्ने कसरतमा थियो। २००७ सालमा प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्न २०१५ सालमा आम चुनाव भएको थियो। तर, २०१७ सालमा जननिर्वाचित संसदलाई भंग गरेर तत्कालीन राजा महेन्द्रले शासनसत्ता हातमा लिएर पंचायती व्यवस्था सुरु गरे।
प्रजातन्त्रलाई संस्थगत गर्न खोज्दा खोज्दै खोसिएको राजनीतिक अवस्थाबाट राजनीतिक जीवन सुरुवात गरेका रामचन्द्र पौडेलले प्रजातन्त्र पुनर्प्राप्तीका लागि जीवनभर संघर्ष गरे।
राष्ट्रपतिको उम्मेदवार भएपछि उनले पत्रकारहरुसित भनेका छन्, ‘प्रजातन्त्रका लागि ७० वर्ष लड्नुपर्यो। ७० वर्षसम्म लडेर ल्याएको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार प्रदान गरेको छ। त्यसको रक्षा गर्नको निम्ति आएको छु।’
फेरि पनि प्रजातन्त्रलाई खोस्ने र व्यवस्थामाथि खेलवाड गर्ने स्वार्थी प्रयासबाट सबै नेपाली सजग हुनुपर्ने पौडेल बताउँछन्। उनको प्रतिवद्धता छ, ‘संविधानको भावना र मर्म अंगाल्दै संघीय लोकतान्त्रक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै संविधानको रक्षकको हैसियतले राष्ट्रपति भएर जिम्मेवारी पूरा गर्ने प्रयास रहनेछु।’
२०२५ सालमा बीपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि रामचन्द्र पौडेललाई भेट्न सेन्टर जेल गएका थिए। त्यहाँ नै बीपीसँग पौडेलको पहिलो भेट भएको थियो। त्यस बखतमा बीपीले पौडेलसँगै रहेका कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी तथा शम्भुराम श्रेष्ठलाई पनि भेटेका थिए।
अर्थात, पञ्चायती शासन व्यवस्थाका विरुद्ध कांग्रेसले कम्युनिस्टसँग समेत सहकार्यको हात बढाउँदै गर्दा सुवास नेम्बाङ पनि राजनीतिमा होमिएका हुन्। स्नातक अध्ययनका क्रममा २०२८ सालबाट राजनीतिमा होमिएका हुन् सुवास नेम्बाङ।
पञ्चायती व्यवस्थाका विरुद्ध आफूलाई उभ्याएका कारण २०३३ सालमा नेम्बाङ राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा परे। थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेनेशन केन्द्रमा संगठित भएका थिए नेम्बाङ। ०४८ देखि लगातार सांसद छन्।
रामचन्द्र पौडेल पनि प्रजातन्त्रका लागि आवाज उठाउँदा पटक पटक जेल परे। पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रदा गिरफ्तार भई जेल परे।
२०३४ सालमै कांग्रेसको केन्द्रीय सदस्य भएका उनी राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्ममको अवधिमा पटक पटक गरी १४ वर्ष जेलमा बन्दी जीवन बिताए।
‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर राजनीतिमा चर्चित पनि छ। २०४७ पछिका आमनिर्वाचनमा ६ पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पौडेल सभामुखका अलावा पटक–पटक मन्त्री भएका छन्। स्थानीय विकास, कृषि तथा सहकारी, गृह, सञ्चार, जलस्रोत, शिक्षा र शान्ति पुनः निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेल पटक पटक उपप्रधानमन्त्री पनि भए।
पौडेलका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा नेपाल पत्रपत्रिका र अनलाइन सञ्चार माध्यममा समसाययिक लेख प्रकाशित छन्।
पार्टीमा दुवै मध्यमार्गी
आ–आफ्नो पार्टीमा रामचन्द्र पौडेल र सुवास नेम्बाङको समान परिचय छ – मध्यमार्गी नेता।
कांग्रेसभित्र सधैं मध्यमार्गी नेताका रुपमा परिचित पौडेल तत्कालीन अवस्थामा द्वन्द्वरत नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने क्रममा वार्ता र सहमतिका काममा अग्रणी मध्यमार्गी भूमिका खेलेका थिए। १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार सहमति र सहकार्यका पक्षपाती पनि हुन्।
गत ४ मंसिरको आम निर्वाचनपछि नेपाली कांग्रेस र माओवादी मिलेर सरकार बनाउनुपर्छ भन्दै आएका पौडेलले एमाले र माओवादीबीच प्रधानमन्त्री आधा आधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी २०७९ पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रेसले प्रचण्डलाई धोका दिएको’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।
त्यही दिनदेखि बिथोलालिएको चुनाव अगाडिको गठबन्धन ब्यूँताउँदै पौडेल आफैं राष्ट्रपतिका उम्मेदवार बनेका छन्।
सुवास नेम्बाङ पनि एमालेका मध्यमार्गी नेता हुन्। खासगरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा नेम्बाङले मध्यमार्गी भूमिका खेलेका थिए। नेम्बाङले अहिले पनि कम्युनिस्ट पार्टीहरु विभाजित हुन नहुने मत राख्छन्। नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नै नेकपा एकता भंग गरिदिएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिए। त्यसपछि एमालेमा भएको विवादमा पनि नेम्बाङले मध्यमार्गमा रहेर अग्रणी भूमिका खेले।
परिणाममा घनश्याम भूसाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुजी पन्त लगायतका नेताहरु एमाले फुटेर नेकपा एकीकृत समाजवादी बन्दा एमालेकै रहेको भनी एमालेमा उनको प्रशंसा हुने गर्दछ। तर, यसबीचमा घनश्याम भूसाल भने एकीकृत समाजवादी प्रवेश गरिसकेका छन्।
विगतको नेकपा ब्यूँताउनुपर्ने प्रयास र मागमा सकारात्मक रहँदै आएका नेम्बाङले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भए केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने मत राख्दै आएका थिए। यस विषयमा एमाले अध्यक्ष ओलीले समयमै निर्णय दिएनन्।
माओवादी केन्द्र राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा पुगेपछि एमालेले नेम्बाङलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयमा पुगेको छ। नेम्बाङको आश फेरि पनि उही माओवादी केन्द्रले गत १० पुसमा भएको सहमति अनुसार आफूलाई मत दिने र चुनाव जित्न सक्छु कि भन्नेमा छ।
यही विश्वासका आधारमा एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेको छैन। ‘सुबासजीको उम्मेदवारी पुस १० को निरन्तरता हो,’ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गर्ने दल र मतदानताहरु कायम रहन्छ भन्ने हाम्रो विश्वास छ।’