रिखिराम जिसी,
पोखरा। तनहुँका दुई नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध र टकराव नेपाली राजनीतिमा नौलो होइन। २०४८/०४९ सालदेखि उनीहरुको प्रतिस्पर्धा र बेमेल निरन्तर चलिरहेको छ।
पौडेल र जोशी दुवैको पार्टी र गुट एउटै थियो। एउटै पार्टीको एउटै गुटमा रहँदा पनि एकै जिल्लाका पौडेल र जोशीबीच कहिल्यै पनि सौहार्दपू्र्ण सम्बन्ध रहन सकेन। जिल्लामा बढी सक्रिय जोशी सधैं कार्यकर्तासँग जोडिए। पौडेल केन्द्रमा नै सधैँ बलियो नेताका रूपमा रहन पुगे।
जोशी शिक्षक भएर काम गर्दा तथा वकिल हुँदा स्थानीय नेता-कार्यकर्तासँग नजिक भए। पौडेलको जन्म तनहुँमा भए पनि पञ्चायती व्यवस्था सुरु भएलगत्तै बिपी कोइरालाको संगतमा पुगे।
बनारसबाट नेपालमा राजनीतिक गतिविधि चलाइरहँदा पश्चिमी कमान्ड पौडेललाई दिएको मन पराउँदैनथे जोशी। त्यतिबेला उनले ‘भूगोलमा राजनीति गरेको नेता म हुँ’ भन्दै बिपीसँग समेत गुनासो गर्ने गरेका थिए। त्यसयता जोशीले पौडेललाई नेताका रूपमा कहिल्यै स्वीकार्न चाहेनन्।
२०४८ सालमा भएको निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उठेर जोशीलाई कांग्रेसको प्रभाव नरहेको क्षेत्र नम्बर २ मा पठाए। तनहुँ- १ बाट चुनाव जितेर पौडेल स्थानीय विकास तथा कृषि मन्त्री भए। जोशीले पनि त्यतिबेला चुनाव भने जितेका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा जोशीले जितेको क्षेत्र सुरक्षित देखेर पौडेल त्यतै लागे। क्षेत्र नम्बर १ छोडेर क्षेत्र नम्बर २ बाट चुनाव लडे। र, जोशीलाई क्षेत्र नम्बर १ मा उठाए। त्यसबेला पनि जोशीले चुनाव जिते।
२०७० को संविधान सभा निर्वाचनमा पनि जोशीमाथि पौडेलको हस्तक्षेप देखियो। आफू तनहुँ- २ बाट उठेका पौडेलले जोशीलाई प्रत्यक्षमा टिकट त दिएनन् नै, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिस समेत उनकै बलमा काटियो। पौडेलको क्षेत्रबाट ६ जना समानुपातिक सांसद पर्दा १ र ३ बाट एक जना पनि पारेनन्।
२०७४ को निर्वाचनमा तनहुँ- १ मा आफू सुरक्षित हुने गरी तनहुँ- २ मा शंकर भण्डारीलाई टिकट दिए। जोशीको हात खाली भयो। टिकट नपाएपछि त्यही झोकमा जोशीले रामचन्द्रविरुद्ध तनहुँ- १ बाट स्वतन्त्र उम्मेदवारी दिए।
पौडेल पक्षकै उजुरीका आधारमा निर्वाचन आयोगले भ्रष्टाचार मुद्दा लागेका जोशीको उम्मेदवारी खारेज गरिदियो। रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सहयोग गरे। जुन निर्वाचनमा रामचन्द्र लगायत तनहुँका सबै क्षेत्रमा कांग्रेस पराजित हुन पुग्यो। श्रेष्ठले ६ हजार ८०२ मत अन्तरले पौडेललाई पराजित गरेका थिए। पौडेललाई हार चखाउन जोशी सफल रहे।
निर्वाचनपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गर्यो।
२०७४ सालमा पौडेललाई जितेका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ यसपालि भने पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा- ४ मा गए। तनहुँ-१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ-२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं-५ मा पठाएर रामचन्द्र पौडेलले पार्टीभित्र सहज वातावरण बनाए।
रामचन्द्र पौडेल र गोविन्दराज जोशीको टकराव स्थानीय तहको निर्वाचनमा पनि देखियो। गत वैशाख ३० गते भएको निर्वाचनमा कांग्रेसलाई पराजित गर्न जोशीले एमालेसँग तालमेल गरेका थिए। स्थानीय तहको निर्वाचनमा गोविन्दराज जोशी एमालेसँग तालमेल गरेर चुनावी मैदानमा थिए।
नेकपा एमालेसँग चुनावी तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा गोविन्दराज जोशीले छोरा दीपकराज जोशीलाई उम्मेदवार बनाएका थिए। एमालेसँग तालमेलबाट उम्मेदवारी दिएका दीपकराज नेपाली कांग्रेसका उम्मेदवारसँग २ सय ५२ को झिनो मतान्तरले पराजित भएका थिए। दीपकराजले ११ हजार ८ सय २६ र कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत ल्याए। न्यौपाने रामचन्द्र पक्षधर स्थानीय नेता हुन्।
यस पटक जोशीले रामचन्द्रलाई पराजित गर्न सकेनन्। अघिल्लो पटक जोशीको उम्मेदवारी खारेज हुँदा पराजय व्यहोरेका पौडेलले जोशीको उम्मेदवारीमा पनि विजयी भए।
पौडेलले एमाले उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३ सय ८० मतले पराजित गरे। पौडेललाई हराउँछु भनेर स्वतन्त्र उम्मेदवारी दिएका जोशीले ६ हजार ८ सय ८६ मत पाएका छन्। यहाँ पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका एकबहादुरले १९ हजार ९ सय ८१ मत पाए। तर जोशी र रानाको मत जोड्दा भने पौडेलको भन्दा धेरै हुन्छ।
स्थानीय तह निर्वाचनमा झैं जोशीले कांग्रेसविरुद्ध तालमेल गरेका भए पौडेल हराउने उनको प्रयास सफल हुने मत परिणामले देखाएको छ। राना र जोशीको मत एकै ठाउँमा भएको भए पौडेल १ हजार ५ सय १६ मतले हार्न सक्थे।
तनहुँ- १ को मत
रामचन्द्र पौडेल – २५३६१
एकबहादुर राना – १९९९१
गोविन्दराज जोशी – ६८८६
राना र पौडेलको मतान्तर – ५३८०
राना र जोशीको मत एक ठाउँ हुँदा – २६८७७
जोशी र रानाको मतसँग पौडेलको मतान्तर – १५१६