News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्थानीय तहमा खोई सरकारी अस्पताल ?

    सरकारी अस्पतालको हाहाकार, निजी मेडिकलको मारामार !

    ६८१ पटक

    मोरङ : केराबारी गाउँपालिका-९, भलुवा बस्ने नवीन कुँवरकी दुईमहिने छोरी दशैंको मुखमा निमोनियाको बिरामी भइन् । उनलाई बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरियो । केही दिनको उपचारपछि उनको उपचारको बिल करिब ५० हजार रुपैयाँ उठ्यो । सामान्य परिवारले त्यत्रो पैसा तिर्ने ल्याकत भएन ।

    उपचार खर्च तिर्न नसकी अस्पतालबाट डिस्चार्ज हुन नसकेपछि स्थानीय कोशिस युवा क्लबले सहयोग संकलनको आह्वान गर्‍यो ।

    छिमेकी लेटाङ नगरपालिकाका मेयर शंकर राईले १० हजार दिने घोषणा गरे । केराबारी गाउँपालिका उपप्रमुुख शान्ति लिम्बुले व्यक्तिगत एक हजार र गाउँपालिकाका तर्फबाट ५ हजार दिने घोषणा गरिन् । लेटाङका मेयरले नोबेल अस्पतालका सञ्चालकलाई फोन गरेर ५ हजार रुपैयाँ ‘डिस्काउन्ट’ गरिदिन आग्रह समेत गरे । स्थानीय युवाले माइकिङ एवं टोक्री थापेर गाउँमै आर्थिक संकलन गरे ।

    अन्ततः करिब आधाघण्टामै संकलन भएको रकम जुटाएर गाउँका युवा राति नै बिरामीलाई उकास्न र घरैमा दशैं मनाउने वातावरण बनाउन मोटरसाइकल चढेर बिराटनगरतिर लागे । बिरामी परिवार घर बिराटनगरबाट घर फर्कियो ।

    मोरङका अधिकांश गाउँबाट बिरामीहरु उपचारका लागि बिराटनगर जाने गर्छन् । बिराटनगरमा विगतमा कोशी अञ्चल अस्पतालको नाम खुबै चलेको थियो । तर, अहिले नोबेल, न्युरो लगायतका बिराटनगरका निजी अस्पतालहरु चल्तीमा छन्, सरकारी अस्पताल सुनसान छ ।

    निजी मेडिकल कलेजमा जहाँ सामान्य निमोनियाका बिरामीको बिल ५० हजारसम्म उठ्ने गर्छ, जसले गर्दा मानिसहरु अस्पतालमै बन्धकजस्तो बन्नुपर्ने अवस्था छ ।

    सिभिल अस्पतालमा जस्तै मेडिकल पसलमा भीड

    लेटाङ र केराबारीको सीमानामा पूर्व–पञ्चिम राजमार्गसँग जोडिएको ठाउँमा बेलाबारी नगरपालिका अवस्थित छ । छेवैमा बिराटचोकजस्तो उदीयमान शहर पनि छ । तर, यो भेगमा भरपर्दा अस्पतालहरु छैनन् । यहाँका बसिन्दा प्रदेशको अस्थायी राजधानी रहेको बिराटनगर पुग्नुपर्छ, जहाँ निजी मेडिकलको मारामार धन्दा चलिरहेको छ ।

    हामीले बेलबारी बजारका केही मेडिकल पसलहरु हेर्‍यौं, जहाँ दशैंका बेलामा बिरामीहरुको भीडभाड देखिन्थ्यो । भीड यति ठूलो थियो कि कोही बाहिरपट्टिको खाटैमा स्लाइन चढाइरहेका थिए । मेडिकल पसलमा वालबच्चा बोकेर बसेका बिरामीको लाइन काठमाडौंको सिभिल अस्पतालमा जस्तै थियो । एउटा मात्रै होइन, बेलबारीका सबै मेडिकल पसलमा जँचाउन आउनेहरुको भीड उस्तै बाक्लो देखिन्थ्यो ।

    जतात्यतै बिरामीहरुको भीड देख्दा यस्तो लाग्थ्यो कि दशैंका बेलामा यो भीड काँकडभिट्टादेखि धनगढीसम्म उस्तै हुन सक्छ । किनभने, समाजवादी भनिएको ओली सरकारले स्थानीय तहमा सरकारी स्वास्थ्य संस्थाको प्रवद्र्धन नगरेका कारण हरेक नगरपालिका र गाउँपालिकाका बासिन्दाले यसै गरी निजीमा भर पर्नु परिरहेको छ ।

    केही मेडिकल पसलमा हेल्थ असिस्टेन्टसम्म भेटिन्छन् । उनीहरुले पसलमा शहरबाट जाँच्न आउने डाक्टरहरुको नाम र मिति उल्लेख गरेका हुन्छन् । बिरामीको एक्स रे र रगत जाँच गरिन्छ । सामान्य बिरामीलाई पनि स्लाइन चढाउन सुझाइन्छ । एन्टीबायोटिक औषधिको सिफारिस बाक्लोसँग गरिन्छ । गाउँमा सबैभन्दा राम्रो कमाइको माध्यम जनताको स्वास्थ्य बनेको छ ।

    स्थानीय सरकार के हेर्दैछ ?

    स्थानीय सरकार आइसकेको अवस्थामा पनि स्वास्थ्यजस्तो जनताको नैसर्गिक अधिकारमाथि सरकारले किन यति साह्रो बेवास्ता गरिरहेको होला ? किन सर्वसाधारण नागरिकले सुलभ, सस्तो र भरपर्दो स्वास्थ्य सेवा पाउन नसकिरहेका होलान् ? हामीले बेलाबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीसँग यसबारे जिज्ञासा राख्यौं ।

    स्थानीय तहमा जनस्वास्थ्यको अवस्थाबारे मेयर सुवेदीले यस्तो प्रतिक्रिया दिए–

    अहिले यो वास्तवमा अव्यवस्थितै छ । प्राइभेट सेक्टरले कमाउने मेलो गरिरहेका छन् । अहिले राज्य संक्रमणकालमै छ । कानूनहरु बनिसकेका छैनन् । कतिपय त हामीले बन्द गर्नुपर्ने संस्थाहरु पनि छन् । कसले कुन ढंगले चलाइरहेको भनेर हेर्नका लागि कानून चाहिन्छ । स्थानीय तहलाई अधिकार त छ, तर कानून नभएपछि एक्सन ओरियन्टेड हुन सकिएको छैन ।

    यथार्थरुपमा भन्नुपर्दा अहिले स्वास्थ्यको कानून छैन । यो कानून माथिबाटै बनेर आउने हो । केन्द्रले नै त्यो कानून बनाउँछ । हामीले यो कुरा अगाडि देखि नै भनेका भन्यै छौं, तर अहिलेसम्म पुरानै परम्परामा चलिराखेको छ ।

    अझ त्यो परम्परागत कुरो पनि कहाँ ब्रेक भएको छ भने अहिले जिल्ला जनस्वास्थ्य कार्यालय छैन । स्थानीय तहमा जति पनि हेल्थ युनिटहरु छन्, ती सबै हाम्रै कन्ट्रोलमा छन् । अहिले त्यसको केन्द्र नै हामी हौं । जनस्वास्थ्यले कागजमा बाँधेर हामीलाई ती युनिटहरु जिम्मा लगाएको हो ।

    उसले चलाउ भनेर स्थानीय तहलाई जिम्मा त लगायो, तर यसलाई चलाउने विधि, प्रक्रिया, कानूनहरु बन्नै बाँकी छन् ।

    शिक्षाको कानून हामीले बनाएका छौं, त्यसभित्र विवाद छ । स्वास्थ्यमा प्राइभेटवालाले जसरी सरकारीलाई असहयोग गर्छ भनिन्छ, शिक्षाको क्षेत्र पनि त्यस्तै अस्तव्यस्त छ । मास्टर साहेबहरु आफूले भनेको हुनुपयो भन्नुहुन्छ । ठीक छ, भने अनुकुल गरौंला, तर पढाइको गुणस्तर त बढ्नुपर्‍यो नि ।

    शिक्षामा जस्तै स्वास्थ्यमा पनि यी प्राइभेट क्षेत्रलाई नियमन, अनुगमन गर्ने र त्यसलाई दायरामा ल्याउने कुराको विधि त पहिले कानून नै हो । कानूनविनै हात हालेर हुँदैन । त्यो हात हाल्नका लागि कानून चाहिन्छ ।

    स्थानीय तहमा सरकारी अस्पतालको कुरा गर्दा प्रदेश सरकार बन्नुभन्दा अगाडि हामीलाई चिठी पनि आएको थियो । हामी त्यसमा लागिप¥यौं । बेलबारी नगरपालिकामा १०/११ कठ्ठा जग्गा उपलब्ध गराउँदा बिल्डिङ बनाएर अस्पतालको व्यवस्था गर्दिने प्रस्ताव आएको थियो । हामीले यसको तयारी पनि अगाडि बढायौं । राजमार्ग छेउमा त्यसखालको जग्गा निस्किएन ।

    ४ नम्बर वडा बुधबारेमा हामीले नगरपालिकाको जग्गामा अस्पताल बनाउने हामीले प्रोसेस अगाडि बढायौं । तर, त्यही बेलामा प्रदेश सरकार बन्यो र त्यो केन्द्रको योजना अब प्रदेश सरकारमार्फत लागू हुने भनियो । अहिले त्यो यता आइसकेको पनि छैन, केन्द्रले कार्यान्वयन गर्ने ठाउँमा पनि छैन । यो एकदमै झुण्डिएर वीचमा बसेजस्तै भएको छ अस्पतालको कुरो ।

    हामी स्थानीय तहबाट अस्पताल बनाउने योजनामै छौं । हामीले चुनावी घोषणापत्रमै बोलेकै विषय पनि हो । हामीले २५ बेडको अस्पताल बनाउने भनेको हो । तर, यो बन्यो भने १० बेड जतिको बन्छ । १० बेडकै बन्यो भने पनि त्यो ठूलो कुरा हो । तर, कानूनी विषय र प्राविधिक कारणले नै यो अहिलेसम्म अड्किइरहेको छ ।

    अहिले नगरपालिकामा हामीसँग स्वास्थ्य चौकीहरु छन् । यहाँ बेलबारीमा स्वास्थ्य चौकी र तल बाहुनीमा स्वास्थ्य केन्द्र छ । बाहुनीमा स्वास्थ्यकेन्द्र त्यसबेला राजनीतिकरण भएर बनाइएको हो । त्यो त्यतिबेलाको सान्दर्भिकतामा थिएन । राजनीतिक फइदाका लागि त्यहाँ पहुँच पुग्यो, त्यो काम भयो ।

    त्यहाँ भएको कुरालाई विरोध गरेको त होइन, तर राजमार्ग नजिक बेलबारीमै त्यो हुनुपर्ने थियो । त्यसैगरी हरैंचाको स्वास्थ्य केन्द्र पनि हाइवे नजिकै हुनुपर्ने हो । बाहुनीमा स्वास्थ्य केन्द्र छ, डाक्टरको दरबन्दी पनि छ, तर, त्योृ ठाउँ नै अपायक परेकाले मान्छेहरु जाँदैनन् । त्यो छ भन्नेजस्तो मात्रै भएको छ ।

    घोषणापत्रमा के छ ?

    यतिबेला केन्द्रमा नेकपाको सरकार छ । प्रदेशमा पनि ६ वटामा नेकपाकै सरकार छ । स्थानीय तहमा प्रायः नेकपाकै सर्वत्र बाहुल्य छ । यस्तो अवस्थामा नेकपाले अलिहेसम्म आफैंले चुनावी घोषणापत्रमा लेखिएका कुराहरु कार्यान्वयन गरेको छैन ।

    स्थानीय चुनावका लागि तत्कालीन नेकपा एमालेले बनाएको घोषणापत्रको ३३ औं पृष्ठमा गाउँपालिकामा कम्तिमा २५ बेडको अस्पताल बनाउने भनिएको थियो । त्यसैगरी हरेक नगरपालिकामा ५० बेडको अस्पताल खोल्ने भनिएको थियो । प्रत्येक वडामा नर्ससहितको प्रसुती केन्द्र स्थापना गर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको थियो ।

    हेर्नुहोस् घोषणापत्रको अंश :

    अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...