News Portal

असार १५: खेती-किसानीको खाजा, स्वादिलो अनि तागतिलो पनी…!

हिमालीसंचार संवाददाता
३०७ पटक

किसानहरुले असार महिनालाई ‘मानो रोपेर, मुरी उब्जाउने’ विशेष महिना मान्दछन् । अहिले किसानहरु असारे बाली लगाउनमा व्यस्त छन् । असार १५ किसानहरुले पर्वकै रूपमा मनाउने प्रचलन रहेको छ ।

रोपाइँको यो महिनामा खेतालाहरूलाई विशेष खाजा खान दिने प्रचलन रहेको छ । असारे खाजा र असारे भाकाको महत्व अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउदै आएको छ । यस दिन विशेष गरेर दही चिउरा खाने प्रचलन छ । साथै खेती-किसानीका बेला खाइने अन्य विभिन्न प्रकारका खाजा पनि सर्वप्रिय छन् ।

दही-चिउरा:

असार १५ का दिन विशेष गरी रोपारहरूलाई दिइने सबैभन्दा लोकप्रिय खाजा दही चिउरा हो । दहीले पाचन प्रणालीलाई राम्रो बनाउने र चिउराले ऊर्जा दिने भएकाले किसानहरुका लागि यो खाजा मुख्य प्राथमिकतामा पर्छ ।

आज असार १५ मा धान रोपाइँमै किसानहरु व्यस्त हुने भएकाले खाजा बनाउन पनि किसानहरुसँग धेरै समय हुँदैन । दहीलाई अघिल्लो दिन घरमै जमाउन सकिने र चिउरा पनि सजिलै उपलब्ध हुने भएकाले यो सहज खाना हो । स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि यो खाजा एकदमै राम्रो हुन्छ ।

चाम्रे र गुन्द्रुक साँधेको:

खेती-किसानीका बेला प्राथमिकतामा पर्ने अर्को खाजा चाम्रे र गुन्द्रुक साँधेको पनि हो । विशेषगरी तराई क्षेत्रमा यो खाजा बढी लोकप्रिय छ । गाउँघरको लोकल चामलमा गाईभैंसीको शुद्ध घिउ राखेर त्यसमा मेथी, मरिच, बेसार र चिनी राखेर सानो आँचमा बिस्तारै पकाएको चाम्रे र त्यसको साथमा भटमास राखेर बनाएको गुन्द्रुकको अचार निकै मीठो र स्वास्थ्यकर हुन्छ ।

लोकल चामलबाट बनेको चाम्रेमा राम्रो कार्बोहाइड्रेट हुने भएकाले यसले शरीरमा ऊर्जा दिन्छ भने साँधेको गुन्द्रुकले चाम्रेको स्वादलाई झन् बढाउँछ ।

आलुको तरकारी र चिउरा:

खेती-किसानीका बेला अर्को सर्वप्रिय खाजा आलुको विभिन्न परिकार र चिउरा पनि हो । आलुको अचार, आलुको तरकारी, आलुको झोल तरकारी, साँधेको आलु र चिउरा असारे खाजा हुन् । आलु र चिउरामा दुवै कार्बोहाइड्रेटको राम्रो स्रोत भएकाले यो खाजाले काम गर्न ऊर्जा दिन्छ । खेतमा काम गर्न धेरै ऊर्जा चाहिने भएकाले आलु र चिउरा एकदमै उपयोगी खाजा हुन सक्छ ।

रोटी र गेडागुडीको तरकारी:

घरमा बन्ने सुपाच्य र मीठो खाजा रोटी तरकारी पनि खेती-किसानीमा प्राथमिकतामा पर्ने खाजा हो । रोटी कार्बोहाइड्रेटको राम्रो स्रोत र गेडागुडी प्रोटिनको स्रोत भएको हुनाले यो खाजा स्वास्थ्यको दृष्टिकोण पनि उत्तिकै राम्रो छ । यो खाजाले पनि खेतालालाई काम गर्न राम्रो ऊर्जा दिन्छ । गाउँघरमा पीठो अलि सहज रूपमा उपलब्ध हुने भएकाले पनि यो खाजा प्राथमिकतामा परेको हुनसक्छ ।

पोषणको हिसाबले पनि राम्रो:

दही प्रोबायोटिक्स हो, जसले पाचन प्रक्रिया सुधार गर्न सहयोग गर्छ । दहीले शरीरलाई आवश्यक ब्याक्टेरिया उत्पादन गर्छ । रोपाइँ गर्दा हिलो र चिसो पानीको सम्पर्कमा आउनुपर्ने हुन्छ, जसले विभिन्न इन्फेक्सन हुने सम्भावना हुन्छ । यस्तोमा दही खाँदा यसमा पाइने प्रोबायोटिक्सले काम गर्छ र इन्फेक्सन हुनबाट बचाउँछ ।

दहीसँग चिउरा खाने चलन छ । चिउरा कार्बोहाइड्रेट, आइरन र फाइबरको राम्रो स्रोत हो । काम गरेर थाकेको बेलामा चिउरा खाँदा यसले ऊर्जा दिन्छ । दही चिउरा सुपाच्य पनि भएकाले यो खाजा खेती-किसानीमा बढी प्राथमिकतामा पर्ने गरेको पोषणविद् प्रतिमा सेन केसी बताउँछिन् ।

चाम्रे पकाउँदा विशेषगरी लोकल चामलको प्रयोग हुन्छ र यो कार्बोहाइड्रेटको राम्रो स्रोत हो । कार्बोहाइड्रेट ऊर्जामा छिटो परिणत हुने भएकाले यो खाजा खेतबारीमा काम गर्नेहरूका लागि उपयोगी मानिन्छ। 

‘गुन्द्रुक नेपालमा मात्र पाइने लोकल खाना हो । गुन्द्रुकमा फाइटोकेमिकल्सहरु पाइन्छ जसले एन्टिअक्सिडेन्टको रूपमा पनि काम गर्छ । यसमा प्रोबायोटिक्स र फाइबर पनि हुन्छ, जसले पाचन प्रणालीलाई राम्रो बनाउने काम गर्छ।, ‘त्यसैले गुन्द्रुकलाई पनि खाजाको रूपमा दिनु पोषणको हिसाबले पनि एकदमै राम्रो हुन्छ ।’

खेती-किसानीमा प्राथमिकतामा पर्ने आलुमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट र कार्बोहाइड्रेट पाइन्छ । जसकारण आलु थोरै खायो भने पनि टन्न भएको महसुस हुन्छ । छिटो ऊर्जा पनि दिने भएकाले आलु पोषिलो खाजा हो। 

रोटी र गेडागुडीको तरकारी पनि एकदमै स्वस्थ र सुपाच्य खाजामा पर्छ । चोकर भएको गहुँको पिठोबाट बनेको रोटीमा फाइबर, भिटामिन र कार्बोहाइड्रेट पाइन्छ । त्यससँग गेडागुडीको तरकारी अझ टुसा उमारिएको गेडागुडीको तरकारीबाट प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । साथै भिटामिन, मिनरल्स, आइरन, जिंक र फाइबर पनि पाइन्छ । त्यसैले गेडागुडीको तरकारी र रोटीलाई ‘पावर प्याक’ खाजा मानिन्छ। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...