आज : २०२६-०९-३०, बुधबार

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साहवे ६१७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत प्राप्त गरेकी छन् भने एमालेका केशव स्थापितले ३८११७ मत प्राप्त गरेका छन् । 

महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८६१२ प्राप्त गरेकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले  २३८०६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।  गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।