सविता शर्मा/काठमाडौँ – नेपालमा सबैतिर पाइने बाँस तथा निगालोबाट धेरै ठूलो लाभ लिन सकिने सम्भावना भए पनि यसको सदुपयोग हुन सकेको छैन । बेरोजगार युवाका लागि बाँस र निगालो उद्यम र रोजगारीको अत्यन्त सम्भावना भएको क्षेत्र हुनसक्ने यस क्षेत्रमा क्रियाशील युवा बताउँछन् ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रीजन उप्रेती बाँसमा भएका सम्भावना उजागर गर्दै उत्पादनलाई ब्रान्डिङ गर्ने सोंचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, अपार सम्भावना भएको क्षेत्र हो यो, अहिले भइरहेको भन्दा फरक तरिकाले अगाडि बढ्दा धेरै गर्न सकिन्छ । अहिले हस्तनिर्मित मात्र काम भइरहेको चर्चा गर्दै उहाँले यसलाई व्यापक बनाउन प्रविधि, आधुनिकता र कलालाई जोड्न सकेमा धेरै ठूलो स्केलमा काम गर्न सकिने बताउनुभएको छ ।
बाँस, बेत तथा निगालोबाट निर्मित सामग्रीको बजारीकरण तथा बाँस घर रेस्टुरेन्ट सञ्चालन गरिरहनुभएका उद्यमी दिवस श्रेष्ठले अहिले टुथ पिनसमेत आयात भइरहेको जानकारी दिँदै भन्नुहुन्छ, गाउँमा डेढ सयमा पाइने २० आँख्ले एउटा बाँसबाट सामान्य सीप भएको व्यक्तिले पनि आठ देखि १० हजार रुपियाँसम्म कमाउन सक्छ । उहाँले यस क्षेत्रमा अबको पाँच वर्षभित्र एक हजार रोजगारी र एक सय उद्यमी बनाउने अठोट पनि व्यक्त गर्नुभयो ।
विभिन्न मुलुकमा बाँसको खेती भइरहेको भन्दै उहाँ भन्नुहुन्छ, बाँसबाट हामी अर्बौं कमाउन सक्ने थियौँ तर त्यो कुहिएर खेर गइरहेको छ, बाँस होइन हाम्रो पैसा कुहिएको जस्तो लाग्छ मलाई ।
डेढ दशकदेखि यसक्षेत्रमा प्रशिक्षण दिइरहनुभएका दाङका ब्रिजध्वज विश्वकर्माले बाँस र निगालोबाट परम्परागत घरायसी, सजावटका र फर्निचर बनाउन जान्यो भने जीवन सजिलै धानिने बताउनुहुन्छ । हरियो वन नेपालको धन भन्ने नारालाई जीवन र उत्पादनसँग जोड्नुपर्ने ठान्नुहुन्छ उहाँ । यसो गरे प्लास्टिकजन्य सामग्रीमा कमी ल्याउन सकिन्छ जसले गर्दा आयातमा कमी हुन्छ र हाम्रा उत्पादनलाई निर्यात गर्न पनि सकिन्छ ।
सस्तोमा घरघरमा बिक्रीका लागि ल्याइने प्लास्टिकका सामग्रीले पुरानो कुरा मासिँदै गएको उहाँको अनुभव छ । प्रविधिको सहजता नहुँदा लागत मूल्य बढ्ने र बजार व्यवस्थापनमा पनि नभइदिँदा परम्परागत हाम्रा उपयोगी सामग्री लोप हुने अवस्थामा पुगेको बताउनुुहुन्छ उहाँ ।
बजारीकरण र देशभित्रैबाट कच्चा पदार्थ ओसापसार गर्दासमेत विभिन्न ठाउँमा झमेला खेप्नुपरेका दुःखेसो छ उद्यमीको । बाँस ओसारपसार गर्दा पनि कतिजनाले मुद्दासम्म खेप्न परेको अनुभव सुनाउँछन् उद्यमी । सरकारले सहजीकरण गरिदिए काम गर्न अप्ठेरो हुँदैनथ्यो भन्ने अपेक्षा व्यक्त गर्दै उद्यमी श्रेष्ठले भन्नुभयो, दस हजारको बाँस उपत्यका बाहिरबाट ल्याउँदा २० हजारभन्दा बढी बाटोमा खर्च हुन्छ, हामीलाई सहज वातावरण चाहिएको छ ।
बाँस तथा निगालोबाट धेरै खालको उत्पादन गर्न सकिने उल्लेख गर्दै उद्यमीहरू उपयोगका कतिपय प्लास्टिकजन्य सामग्रीलाई विस्थापितसम्म गर्न सकिने विश्वास व्यक्त गर्छन् । बाँसलाई ‘ट्रिटमेन्ट’ गरेर बनाइएको सामग्री स्टिलभन्दा कम नहुने, निकै उपयोगी र टिकाउ पनि हुने उल्लेख गर्दै उप्रेती भन्नुहुन्छ, स्टिलको खोज हुनुभन्दा पहिले चीनमा बाँसबाट घर बनाइन्थ्यो जुन साढे दुईसय वर्षसम्म टिकेको उदाहरण पाइन्छ, बाँसमा खिया पनि लाग्दैन र भाँचिदैन ।
बाँसबाट तामा, कपडा, जुुस, बियर लगायतका खाने, लाउने र बस्ने धेरै सामग्री उत्पादन गर्न सकिने सम्भावना स्पष्ट पार्दै उप्रेतीले बाँसबाट फाइबर, काठ, स्टिल, प्लास्टिकलाई धेरै हदसम्म विस्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, पर्यावरण जोगाउन पनि बाँस अत्यन्त महìवपूर्ण मानिन्छ, सामग्री बनाउँदा पनि यसको टुप्पोदेखि जरासम्म केही खेर जाँदैन । रासस