News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बाँके ट्राफिक प्रहरीमा शाहको राज, सिद्धिगणेशको रजगज

    हिमालीसंचार संवाददाता
    ३०१ पटक

    नेपालगंज। बाँके ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको छ। पोष्ट इन्चार्जदेखि सवारी लाइसेन्सको परीक्षामा हिमालय राज चलेको ट्राफिक प्रहरीभित्रै चर्चा चुलिएको छ। ‘हाकिम’को हुकुमी शैलीबाट आजित भएकाहरुले ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको व्यंग्य गरिरहेका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा बसेर पहुँचकै आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके आएका प्रहरी निरीक्षक हिमालय शाह आफू स्थानीय अर्थात् नेपालगन्जबासी रहेकोले आफूलाई कसैले हल्लाउन नसक्ने धाक लगाउँदै ‘हिमालय राज’ चलाएका छन्।

    आफ्ना विश्वास पात्रका रुपमा बरिष्ठ प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहलाई ‘सेकेन्ड म्यान’ बनाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत दरबन्दी भएका सिद्धिगणेशले ‘हिमालय राज’कै आडमा ट्राफिक प्रहरी कार्यालय बाँकेभित्र ‘रजगज’ चलाएका छन्।

    केही महिनाअघि साँझ परेपछि धम्बोझी चोकमा मापसे चेकजाँचको पासो थापेर कृषि विकास बैंक नजिकैको अँध्यारोमा रसिद काट्ने बहानामा रकम असुलीमा सक्रिय सिद्धिगणेश तत्कालिन प्रहरी निरीक्षक ऐनबहादुर मल्लको बढुवासँगै सरुवा भएपछि उनी निमित्त भएर जिल्ला गएका थिए।

    झण्डै एक महिना निमित्त कार्यालय प्रमूख चलाएका सिद्धिगणेश अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तरगत रहेका ट्राफिक प्रहरी पोष्टबाट मासिक ‘नजराना’ उठाउने र सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षाको कमाण्ड उनैलाई दिएपछि लाइसेन्सको लिखित र ट्रायल परीक्षामा सिद्धिगणेश ‘रजगज’ चलाइरहेका छन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत रहेका ११ वटा ट्राफिक प्रहरी पोष्टबाट रकम असुलीको जिम्मा प्रहरी निरीक्षक हिमालयले आफ्ना विश्वासपात्र बरिष्ठ प्रहरी नायव निरिक्षक सिद्धिगणेशलाई दिएका छन्। पैसा नबुझाउने पोष्ट इन्चार्ज फेरबदलको जिम्मा पनि बरिष्ठ प्रहरी नायव निरिक्षक सिद्धिगणेशलाई नै दिइएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अझ अर्को रोचक पक्ष के छ भने जिल्लामा दरबन्दी भएकालाई कार्यालयमै थन्क्याएर काजमा रहेकाले इन्चार्ज पाएका छन्। अधिकांश ‘हिमालय राज’ नजिकका रहेको पनि ट्राफिक प्रहरी स्रोतले बतायो। ‘हामीले भन्दा जातको कुरा आउला, यहाँ ‘ठकुरीवाद’ चलेको छ,’ नाम नभन्ने शर्तमा एक ट्राफिक प्रहरीले भने।

    कार्यालयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत दरबन्दीमा रहेका बरिष्ठ प्रहरी नायव निरिक्षक सिद्धिगणेश शाहको ‘रजगज’ चलिरहेको छ। ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल दरबन्दी रहेका बरिष्ठ प्रहरी नायव निरिक्षक नरेन्द्रबहादुर सिंहलाई इन्चार्ज दिइएको छ।

    त्यस्तै, आकर्षक पोष्टका रुपमा रहेको नेपालगन्ज बसपार्कमा लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, दाङ्ग दरबन्दी रहेका बरिष्ठ प्रहरी नायव निरिक्षक लक्ष्मणबहादुर ऐरलाई खटाइएको छ भने लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा दरबन्दी रहेका प्रहरी नायव निरिक्षक होमबहादुर अधिकारी सम्शेरगन्ज खटाइएको छ।

    त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलाली दरबन्दी रहेका प्रहरी सहायक निरिक्षक सुरेन्द्रबहादुर शाहलाई सम्झना, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवल दरबन्दी रहेका प्रहरी सहायक निरिक्षक दिलबहादुर शाहीलाई फुलटेक्रा, २ नं. गण नक्साल, काठमाडौं दरबन्दी रहेका प्रहरी हवल्दार केशव जोशीलाई चिसापानीको इन्चार्जमा दिइएको छ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवल दरबन्दी रहेका प्रहरी हवल्दार देबबहादुर पाललाई हाइस्कुल खटाइएको छ भने विगतमा चप्परगौडी पोष्टमै विवादमा तानिएका सुरेन्द्रबहादुर खत्रीलाई फेरि आकर्षक मानिने सोही पोष्टमा पठाइएको छ। खत्रीको दरबन्दी भने जिल्ला प्रहरी कार्यालय दाङ्ग रहेको छ।

    त्यस्तै पटक–पटक एउटै पोष्टमा इन्चार्ज पाउनेमा अर्का प्रहरी हवल्दार रामबहादुर बिष्ट पनि छन्। आकर्षक कमाई हुनेमध्येको कुसुम पोष्टमा उनी तीन पटक इन्चार्ज भइसकेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमै दरबन्दी रहेर इन्चार्ज पाउने चार जनामध्ये बरिष्ठ प्रहरी नायव निरिक्षक ओमप्रसाद पौडेलाई गनापुरको इन्चार्ज दिइएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमै दरबन्दी रहेका प्रहरी सहायक निरिक्षक मदनसिंह मात्तरलाई धनौली, प्रहरी हवल्दार रामबहादुर बिष्टलाई कुसुम र प्रहरी हवल्दार विमला कुँवरलाई मदन चोकको इन्चार्ज दिइएको छ। यहाँ दरबन्दी भएका धेरैलाई थन्क्याएर काजमा आएकालाई इन्चार्ज तोकिनुले पनि असुली धन्दा भइरहेको पुष्टि हुन्छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके स्रोतले भन्यो, ‘काजमा आएकालाई इन्चार्ज तोक्दा कुनै समय विवाद आइहाले उनीहरुलाई कारबाही गरेको भन्दै काज फिर्ता पठाउन सकिने सम्भावना बढी हुने भएकाले यस्तो चलाखी गरिएको हो। त्यसैले पनि होला यहाँ दरबन्दी भएकालाई जिल्लामै थन्क्याएर काजमा आएकालाई इन्चार्ज दिइएको छ।’

    ट्राफिक प्रहरीका ती पोष्टबाट प्रत्येक महिना ‘मासिक रकम’ बुझाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमै पुग्नुपर्छ। प्रत्येक महिना ‘मासिक रकम’ हाकिमका विश्वासपात्र सिद्धिगणेश शाहलाई बुझाएपछि जिल्लाका हाकिमदेखि माथिसम्मको भागवण्डा लाग्छ। चर्को घाममा खटिएर रकम उठाउँदै बदनाम बन्नेहरुको हातमा ‘शुन्य’ पर्छ।

    जिल्लाले तोकेअनुसारको ‘मासिक रकम’ बुझाउनकै लागि पोष्ट इन्चार्जहरु सबैतिरको ‘सेटिङ्ग’मा व्यस्त हुन्छन्। इन्चार्जलाई डिउटीमा भेट्याउन मुस्किल पर्छ। पोष्ट इन्चार्जहरु टिप्पर र ट्रयाक्टर धनी, इँट्टा उद्योगीहरुसँगको सेटिङमा व्यस्त हुन्छन्। अन्य पोष्टको तुलनामा नेपालगन्ज पोष्टलाई भने तोकेको रकम जम्मा गर्न सहज छ।

    त्यहाँ लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा दरबन्दी रहेका प्रहरी हवल्दार शैलेन्द्र शाहलाई झण्डै डेढ बर्षदेखि खटाइएको छ। अझ प्रहरीकै भाषामा ‘अफिस कलर’का रुपमा खटाइएका शैलेन्द्रको काम भनेकै रकम संकलन गरेर जिल्लामा पठाउनु हो। भारतबाट आएर नेपालमा पनि भन्सार गरेका गाडीहरुबाट सबैभन्दा धेरै रकम नेपालगन्ज पोष्टले उठाउने गर्छ।

    भब्बर र ओभरलोडको कारण देखाउँदै प्रत्येक भारतीय गाडीबाट १०० देखि २०० भारतीय रुपैयाँसम्म प्रहरी हवल्दार शैलेन्द्रले उठाउँदै आएको स्रोतको भनाई छ। ‘नेपालगन्ज पोष्ट अगाडी डिउटीमा खटिएका ट्राफिक जवानले गाडी रोक्छन्। गाडी रोकिएपछि डिउटीमा खटिएका ट्राफिकको इसारामा गाडीबाट ओर्लिएर एक जना कार्यालयभित्र पुग्छन्।

    गाडी मालिक, चालक या सहचालक झ्यालमा पुगेर रकम झ्यालबाटै बुझाउँछन् अनि हिँड्छन्,’ ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘जरिवाना गरेको कुनै प्रमाण उनीहरुलाई दिइँदैन्।’ प्रहरी हवल्दार शैलेन्द्र सरकै आदेशमा भारतीय गाडी रोक्छौं, नरोके उहाँ रिसाउनुहुन्छ। किनकी यहाँ कति दिन टिक्ने शैलेन्द्र सरकै हात हुन्छ।’

    सम्शेगन्जमा इन्चार्ज प्रहरी नायव निरिक्षक होमबहादुर अधिकारीको भरोसा नलागेपछि प्रहरी हवल्दार गणेशबहादुर शाहीलाई ‘सेकेन्ड म्यान’ बनाएर पठाइएको छ। इलाका प्रहरी कार्यालय, धनौली, खजुरा दरबन्दी रहेका शाही ट्राफिक प्रहरीमा आएलगत्तै ठकुरी भएकै कारण आकर्षक पोष्टमा जान सफल भएको स्रोतले बतायो।

    मनग्य आम्दानी हुने भएपछि काजमा आएकाहरु भएभरको ‘पावर र पहुँच’ लगाएर बाँके जिल्ला छोड्न चाहँदैनन्। काजमा आएका अधिकांश एक बर्षदेखि धेरै समय माथिको ‘पावर र पहुँच’का आडमा बाँकेमै बसिरहेका छन्। पटक–पटक काज फिर्ता गर्न ताकेता आए पनि माथिको ‘पावर र पहुँच’ लगाएर काज थमौति गर्न सफल हुन्छन्।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...