
खोटाङ – जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य आङकाजी शेर्पाले खोटाङमा निर्माणको चरणमै अलपत्र परेको नेपाल आदिबासी जनजाती महासंघ संग्रहालय भवन स्थल अवलोकन गरेका छन् ।
शेर्पाले नेपाल आदिवासी जनजाती महासंघको पुर्वमहासचिवका हुदा निर्माणको सुरुवाती चरणमै अलपत्र परेको नेपाल आदिबासी जनजाती महासंघ संग्रहालयको भवन स्थल बिहिबार अवलोकन गरेका हुन् ।
नेपाल आदिवासी जनजाती महासंघ सम्वद्ध अगुवाको आग्रहमा शेर्पा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा अलपत्र परेको भवनको जग तथा रुग्न पर्खाल निरिक्षण गरेर फर्किएका छन् ।
विस २०६७ सालमा निर्माण सुरु गरिएको नेपाल आदिबासी जनजाती महासंघ संग्रहालयको भवन निर्माणको काम आर्थिक अनियमितताका कारण सुरुवाती चरणमै अलपत्र परेको हो ।
तत्कालिन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, भवन निर्माणको जिम्मा लिएका बिष्णुराज राई र भक्तकर्ण राईले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरेर बैंकबाट रकम झिकेपछि चर्केको बिवादका कारण भवन निर्माणको काम बीचम अलपत्र परेको हो ।
आदिबासी जनजाती पुर्खाले आदिम कालमा प्रयोग गरेका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजा लगायतका सामग्री राख्नकालागि निर्माण शुरु गरिएको आदिवासी जनजाती संग्रहालय भवनको जग र पर्खाल उठाउने बाहेकका काम अघि बढ्न सकेन । निर्माणाधिन भवनको उठाइएको जग र पर्खाल हाल पुरानो घरको भत्किएको जस्तै देखिन्छ । अलपत्र भवनको जगमा झार, झाडी र उत्तिसको रुख हुर्किसकेको छ ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, कामको जिम्मा लिएका विष्णुराज राई र भक्तकर्ण राईले कोषाध्यक्ष रामकुमारी राईको किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकासा गरेको भन्दै विस २०७० सालमा अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम आफ्नो किर्ते हस्ताक्षर गरी १३ लाख ८३ हजार निकासा गरिएको भन्दै कोषाध्यक्ष राईले उजुरी दिएकी थिइन् ।
गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर किर्ते गरेर रकम निकासा गरिएको कोषाध्यक्ष राईको भनाई छ । बैंकको स्टेटमेन्टमा विस २०६७ साउन ३१ गते २ लाख ५० हजार, असोज २१ गते ३ लाख, चैत १ गते एक लाख ८० हजार र २० गते ८३ हजार रूपैंयाँ निकासा गरिएको उल्लेख छ ।
आर्थिक अनियमितता भएको भन्दै अख्तियार र प्रशासनमा उजुरी परेकाले थप रकम छुट्टयाउन नमिल्ने भएपछि अलपत्र भवन निर्माणको कामलाई अघि बढाउन सकिने अवस्था छैन ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई र भवन निर्माणको काममा संलग्न भक्तकर्ण राईको मृत्यु भइसकेका कारण पनि यस बिषयमा कुन काम कारबाही हुन नसकेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्माणाधिन संग्रहालय निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न आदेश पाएको जिल्ला प्रशासन कार्यालयले निर्माण उपभोक्ता समितिका पदाधिकारीसँग केही पटक बयान समेत लिएको थियो ।
किर्ते हस्ताक्षर गरी भवन निर्माण गर्न रकम झिकिएको विषयमा आवाज उठेपछि नेता हिरण्य मगरको संयोजकत्वमा छानबीन समिति समेत गठन गरिएको थियो ।
शेर्पाले आफ्नो फेसबुकमा लेखेका छन् “जहां जाऊ, जता सुकै लैजाऊ मलाई, यो मन त आदिवासी हो, यो मन त मूलबासी हो !, किरात भुमीको माटो टेक्दा, मेरो छाती गर्वले फुली दिन्छ , आदिवासीसंगको भेटले, मेरो सबै निद्रा खुली दिन्छ।” उनले अलपत्र भवनसंग सम्बन्धित कुनै धारणा राखेका छैनन् ।