
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको काठमाडौमा भेटपछि भारतीय योगगुरु बाबा रामदेवलाई क्रान्तिकारीको संज्ञा दिएका छन्। काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले ‘सुरुमा चिनजान हुँदा, कता कता पहिले त उहाँ रुढीवादी र परम्परावादी हुनुहुन्छ जस्तो लागेको थियो। मैले जहिलेदेखि बाबा रामदेवसँग निकटता बढाएँ, छलफल गर्न थालेँ तब अर्कै पाएँ’, उनले भने, ‘बुझ्दै जाँदा त उहाँ वैज्ञानिक र क्रान्तिकारी पो हुनुहुँदो रहेछ।’
बाबा रामदेवले योगलाई एउटा क्रान्तिमार्ग देखाएको उनले बताए। ‘बाबा रामदेवले योगलाई एउटा नयाँ क्रान्ति मार्ग देखाउनु भयो। योगबाट आरोग्यतिर निरोगितातिर लाग्नु भयो’, उनले भने, ‘उहाँले आरोग्यताबाट उद्योगतिर लानुभयो।’
प्रचण्डले बाबा रामदेव र आचार्य बालकृष्णलाई जुम्ल्याहा भाइको संज्ञा पनि दिएका छन्। बाबा रामदेवसँग तीन क्षेत्रमा क्रान्ति ल्याएको कुरा भएको पनि बताए। ‘हिजो खुमलटारमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा क्रान्ति ल्याउने उपायबारे हिजो छलफल भएको छ’, उनले भने, ‘हरिद्वारमा उहाँ हात समातेर मलाई लैजानु भयो जडीबुटीको कारखाना देखाउनु भयो। ती जडीबुटी त सबै नेपालबाट जाँदा रहेछन्।’