जनकपुर – धनुषामा आफ्नै भाञ्जाको अपहरण गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आज सार्वजनिक गरेको हो।
महोत्तरीको पिपरा गाउँपालिका-७ घर भई जनकपुरधाम उपमहानगरपालिका-७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन्। चन्दनको अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए। कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी अर्थात चन्दनकी आमालाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए।
घटनाबारे जानकारी पाएपछि खोजी सुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनुभयो।
‘आफ्नै भाञ्जाको अपहरण गरी १ करोड माग गरेका लक्ष्मेश्वर मोलमोलाई गरेर केही रकम लिने योजनामा थिए, तर उनको योजना सफल भएन,’ एसपी रानाभाटले भन्नुभयो। उनले केही रकम भएपनि पाउने हिसाबले बच्चाको अपहरण गरेको देखिएको प्रहरीको भनाइ छ।