News Portal

नेकपाविवाद: शीर्ष नेता गुटगत भेलामै व्यस्त !

हिमालीसंचार संवाददाता
४६५ पटक

सुभाष साह,
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि विवादले उग्र रूप लिएको थियो। विवाद समाधानका लागि यसबीच ओली र दाहालका बीचमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन। दुवै समूह आ-आफ्नै अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गरिरहेका छन्। केही समयअघि ओलीले प्रदेश १ का साथै काठमाडौमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए।

काठमाडौँको भेलामा उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू सहभागी थिए। प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः दिनहुँ गुटगत छलफल हुने गरेको नेकपा स्रोतले जनाएको छ। पछिल्लो समय बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल गरेका छन्।

यता, दाहाल–नेपाल समूहले समेत गुटगत भेला तथा बैठकलाई तीव्रता दिएका छन्। दाहाल निवास खुमलटारमा प्रायः दिनहुँ दलगत छलफल हुने गरेको छ। थापाथली क्याम्पसमा विद्यार्थीहरूको गुटगत भेला गरेका दाहाल–नेपाल समूहले पछिल्लो समय बिहीबार पेरिसडाँडामा बाग्मती प्रदेशको अगुवा नेताहरूको भेला गरेका छन्।

बाग्मती प्रदेशमा रहेका जिल्लाका पार्टी जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ। पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भएको सो भेलाले जिल्ला–जिल्लामा यस्तै गुट भेला, बैठक र छलफललाई तीव्रता दिने निष्कर्ष निकालेको छ। भेलालाई अध्यक्ष दाहालका साथै वरिष्ठ नेता नेपालले सम्बोधन गरेका छन्।

एकले अर्कोलाई कमजोर बनाउने उद्देश्यले आयोजित गुटगत भेलामा अर्को पक्षलाई गम्भीर आरोप लगाउने गरिएको छ। एकले अर्कोलाई पार्टी फुटाउनेसम्मको आरोप लगाउने गरेको नेकपा स्रोतको दाबी छ। नेकपा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले गुटगत भेलाको सुरुवात स्वयं प्रधानमन्त्री ओलीले गरेको आरोप लगाए।

पेरिसडाँडा भेलामा सहभागी अध्यक्ष दाहालले पार्टीभित्रको पछिल्लो अवस्था के कस्तो छ भन्ने विषयमा नेताहरूबीच छलफल भएको स्वीकार गरेका छन्। २१ मंसिरको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओली २८ मंसिरको बैठकमा सहभागी हुने कि नहुने निश्चित छैन। तर गत बुधबार अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल भयो। दुई नेताका बीचमा छलफल भएपनि सहमति जुट्न सकेको छैन।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अध्यक्षद्वयका बीचमा सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए। एकले अर्कालाई आरोप लगाएर पार्टी विभाजन गर्नुभन्दा आपसमा सहमति गरेर पार्टी एकता जोगाउनु नै अहिलेको आवश्यकता रहेको उनले बताए।

अध्यक्षद्वयका बीचमा सकारात्मक छलफलको सुरुवात भएको बताउँदै उनले २८ मंसिरको स्थायी कमिटी बैठक अघि सहमति हुने विश्वास व्यक्त गरे। बैठकबाटै दुवै अध्यक्षका प्रस्ताव फिर्ता वा खारेज गरेर साझा प्रस्ताव ल्याउने र अगामी केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्ने अर्को विकल्प उनले सुझाएका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन्। तर, दाहालले सो प्रस्ताव सचिवालय हूदै स्थायी कमिटीमासमेत पेस गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको छ। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान आफ्नो लिखित पत्रमार्फत स्थायी कमिटीलाई जानकारी गराइसकेका छन्।

दुवै अध्यक्षले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि दुवैलाई खारेज वा स्थगित गरी साझा प्रस्ताव तयार गर्नुपर्ने ओलीको अडान छ तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाललगायतका नेताहरूले दुवै प्रस्तावमा छलफल हुने र पार्टी बैठकले गर्ने निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने अडानमा छन्। पार्टीका शीर्ष नेता नै आ–आफ्नो अडानमा अडिग भएपछि विवाद बढ्दै जानुका साथै गुटगत भेलालेसमेत तीव्रता पाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...