News Portal

दसैंबजारमा कोरोनाको असर खसी बिकेन

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं– आज दसैंको महाअष्टमी लागिसकेको छ । मानिसहरुका घरघरमा खसी काटेर दूर्गापूजा गर्ने आज महत्वपूर्ण दिन हो ।  शहर बजारमा समेत मानिसका आँगनमा कराएको सुनिने खसीको आवाज भोलिदेखि सुन्न छाडिने छ ।

तर, यसवर्ष खसीको ब्यापार गतवर्षको दसैंमा जस्तो भएन । कोरोनाका कारण शहरमा खसीबोका धेरै भित्रिएनन् । गाउँमा पनि कतिपय किसानका खोरमा रहेका खसी नबिकेको गुनासो सुनियो

सुर्खेतको बराह ताल गाउँपालिकी सुजाता कँडेलको कृषि फर्ममा घटस्थापना लाग्दासम्म दसैंका लागि बिक्री गर्न तयार २० भन्दा बढी खसी थिए । अघिल्ला वर्षहरुमा त्यतिबेलासम्म उनको फर्म रित्तो भइसक्थ्यो । तर, गत वर्षजस्तो खसी खोज्दै व्यपारीहरु यस वर्ष फर्ममा नआएको सुजाता बताउँछिन् ।

गत वर्ष जिउँदो खसी प्रतिकिलो पाँच सय ५० रुपैयाँभन्दा धेरैमा बिक्री भएको भए पनि यसपटक त्यतिमा बेच्न नसकिने उनको भनाइ छ । ‘आएका केही व्यापारीले कम मूल्य दिएका छन्,’ सुजाताले भनिन् । मेहनत गरेर उत्पादन गरेको वस्तु बिक्री नहुँदा नमज्जा लाग्ने उनले सुनाइन् ।

भोजपुरको पौवादुङमा गाउँपालिका तिवारीभञ्ज्याङमा सिंहदेवी कृषि तथा पशुपान फर्म सञ्चालन गर्ने डम्बर खनालको व्यथा पनि उस्तै छ । दसैंको मुखैमा पनि खसी बोकाको ब्यापारमा उत्साह नआएको उनले बताए ।

बोयर र लोकल खसी फर्ममा पाल्दै आएका खनाल यस वर्ष कोभिडले कृषक पनि मारमा परेको बताउँछन् । ‘यसपालि एकदमै थोरै ब्यापारी गाउँ पसेका छन्, आएकाहरुले पनि कोभिडको कारण देखाएर सकेसम्म सस्तोमा खसी किन्न खोजे।’ खनालले भने ।

गत वर्ष दसैंमा तराईतिर खसी बिक्री गर्ने गरिएकोमा यसपटक पहाडमा बल्ल तल्ल १० वटा खसी बिक्री गर्न सकिएको उनको अनुभव छ । कोरोनाका कारण दसैं रमाइलो हुन्छ भन्ने माहोल नै नबनेको र व्यापारीहरुमा उत्साह नहुँदा कृषकसमेत अप्ठ्यारोमा परेको खनाल बताउँछन् । कोभिडले दशंैको चहल–पहल नहुँदा गोठमा भएकै खसी बिक्री गरेर दसैं मनाउने तयारी गरिरहेकाहरु अहिले मारमा परेका छन् । कोरोना र लकडाउनका कारण खसीको मासुमा उपभोक्ताको आकर्षण घटेको मासु व्यापारीहरु बताउँछन् । खसीको मासुको बढ्दो मूल्य र मानिसले रोजगारी गुमाएका कारण यस वर्षको दसैंमा खसीको किनबेच प्रभावित हुने राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी बताउँछन् ।

‘किलोको १३ सयमा मासु बिक्री गर्नु परेको छ, उपभोक्ता मासु किन्न नै आउँदैनन्, यही तरिकाले यसवर्षको दसैं दसैं जस्तो हुने छैन्,’ अध्यक्ष खड्गीले भने ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक १२ सय खसी काटिने गरेकोमा लकडाउन र निषेधाज्ञाका कारण त्यो आधाभन्दा कम भएको उनले बताए । मानिसको खर्च गर्न सक्ने क्षमता कमजोर हुँदा कति पसललाई खसीको मासु बिकाउन समेत मुश्किल भएको उनले सुनाए ।

कोभिडकै कारणले दसैंमा चहल पहल नहुने देखिएकाले खसी किन्न गाउँ नगएको संघका उपाध्यक्ष उमेश खड्गी बताउँछन् । ‘गत वर्ष यतिबेला खसी खोज्न पहाड तथा तराई पुगिन्थ्यो, तर यस वर्ष गएका छैनौँ, किसान वा साना व्यापारीले जे जस्तो ल्याउँछन् त्यसैबाट दसैं चल्छ,’ उपाध्यक्ष खड्गीले भने । कोभिडका कारण मानिसले मासुको खपत घटाउँदा धेरै मासु पसलहरु बन्द हुन पुगेको पनि उनले बताए ।

दसैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने च्यांग्रा र खसी बोकाको संख्या गत वर्षभन्दा घटाएको छ । यस वर्षको दसैंका लागि दुई हजार मात्रै खसी बोका तथा च्यांग्रा ल्याउने निर्णय भएको उनको भनाइ छ ।

काठमाडौंमा मासुको माग

दसैंमा धेरै मानिस उपत्यकाबाहिर जाने र कोभिडमा मासु बिक्री नभएको कारण देखाएर यस वर्ष सरकार तथा नीजी क्षेत्रका व्यवसायीहरुले खसीको जोरजाममा खासै उत्साह देखाएनन् । यसपटक विगतमा जस्तो कोभिडका कारण काठमाडौंबाट बाहिरीनेहरु भने धेरै देखिएनन् ।

वाणिज्य विभागले गरेको अनुमान अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक तीनदेखि तीन लाख ५० हजार किलो कुखुराको मासु खपत हुनेको गरेको छ ।

यस्तै १२ सय गोटा खसी दैनिक मासुको प्रयोजनकालागि काटिने पनि विभागले जनाएको छ । आठ सयको संख्यामा राँगा र भैसी, छ सय गोटा बंगुर र पाँच हजार किलो माछा उपत्यकामा दैनिक खपत हुने गरेको छ । तर यसलाई पनि कोभिडले ५० प्रतिशत कममा खुम्च्याई दिएको व्यवसायीहरु बताउँछन् । कोभिडकै कारण बढेको अन्योलले मासु नबिक्ने आकलनमा व्यापारीहरुले कृषकको खसी किनेनन् ।

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...