अधिकारको दुरुपयोग गर्ने अधिकृत पुर्पक्षका लागि जेल चलान

२०७७ आषाढ २२, सोमवार/काठमाण्डौ – भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय झापाका पूर्व प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन्।
वि.स.२०७२ मंसिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला अदालत झापाले आचार्यलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो।
झापामा बसेर व्यापार व्यवसाय गरेर बस्दै आएका भारतीय नागरिक मुस्तफा आलमलाई ज्यामिरगढी गाविसबाट सिफारिस लिई नेपाली नागरिकता बनाएको आरोपमा फरार रहेका आचार्य २० गते पक्राउ परेका थिए।
जिल्ला अदालत झापाले गत मंसिर २ मा पक्राउ पुर्जी जारी गरेकोमा महानगरीय अपराध महाशाखाको समन्वयको जिल्ला टोलीले शनिवार काठमाडौँको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
पक्राउ पुर्जी जारी भएपछि आचार्य फरार रहेका थिए। लकडाउनमा घरमै रहेको गोप्य सूचना पाएपछि आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ।















