News Portal

हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाई–हाई विपत्तिमा कोही छैन दाजुभाइ’

हिमाली संचार संवाददाता
६७२ पटक
२०७७ जेठ २५, आईतबार

चिप्लेढुङ्गा – पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ। त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १० वर्षदेखिको एउटै दिनचर्यासँगै बितिरहेको छ उहाँको दैनिकी।

उमेरले ८२ वर्ष पुगेको बताउनुहुने उहाँ अरुको सहारामा हुर्केबढेकाले नाम पनि सहारा क्षेत्री रहेको बताउनुभयो। “म जन्मेको एक महिनामा आमा बित्नुभयो रे, जसले भेट्यो उसले पाले । अरुको सहाराबाटै हुर्कैँदै गएँ। मलाई सहारा दिने आमाको मामाकी छोरीले १६ वर्षमा घर बनाउने काम गर्ने एउटा मान्छेसँग बिहे गरिदिइन्। उसको घर काठमाडौँको छेउ पर्छ रे तर, श्रीमान्ले कहिल्यै घर लगेनन्। घरमा सौता छोराछोरी पनि छन् रे । मलाई यता (पोखरा) ल्याए, दशकअघि बूढा पनि मरे, चार छोराछोरीले आफ्नै सुर गरे।”

आगोको भुङ्ग्रोमा दाउरा झोस्दै क्षेत्रीले भन्नुभयो, “भाग्यले ठगेकाहरुलाई सधैँ दुःख मात्र लेखेको हुन्छ, कर्म गरेर पनि कहाँ सुख मिल्छ र नानी, पाखुराले साथ दिएसम्म दुःख गरेर खान्छु, नसक्ने दिन ईश्वरको भर।” जीवनसँग निराश भए पनि बाँच्नुको विकल्पमा परिश्रमसँग जोडिनुभएकी क्षेत्री छोराछोरीका बारेमा केही बोल्न चाहनुभएन।

निकै भारी मन गर्दै उहाँले भन्नुभयो, “छोराछोरीको कुरै नगर, जन्माएँ, दुःखले हुर्काएँ, अहिले कसैले हेर्दैनन्, बिरामी भएर अस्पताल भर्ना हुँदा पनि कसैले फोन उठाएनन्। दुई छोरा, दुई छोरी जन्माएँ, कोही नारायणघाट छन् कोही हेटाँैडा होलान् कुन्नि, बिरामी हुँदा वास्ता नगर्ने सन्तानलाई जन्माएकी हुँ भनेर किन सम्झनु ?”‘मनको पीडा कसलाई सुनाउनु, आफ्नो पीडा आफैँसँग छ’ भन्दै उहाँले एक गाँस खानाका लागि बिहानदेखि बेलुकासम्म तातो भुङ्ग्रोमा पसिना बगाउनुपरेको सुनाउनुभयो।

पोखराको घारिपाटन कृष्णमन्दिर छेऊको एक घरमा रु दुई हजार ५०० कोठाभाडा तिरेर बस्दै आउनुभएकी क्षेत्रीले अरुले मकै र दाउरा ल्याइदिने एकै ठाउँमा बसेर बेच्ने गरेको बताउनुभयो। “मकै कहिले रु १३/१४ मा ल्याइदिन्छन्। पोलेर रु ४० मा बेच्छु, दाउरा पनि एउटा बाबुले ल्याइदिन्छ, सबैलाई गुहार माग्दै चलाएकी छु।

दिनको २५÷३० मकै बेच्छु, कहिले त बिक्दैन, भाडा तिर्न गाह्रो भएको छ।” क्षेत्रीले रक्तचापको समस्या भएकाले सरसापट गरेर दुई दिनअघि मात्रै रु एक हजार ३०० को औषधि किनेर खाइरहेको बताउनुभयो। हप्ताको एक दिन चर्चमा गएर दिन बिताउने गरेको सुनाउँदै भन्नुभयो, “सम्पत्तिमा सबैको हाई–हाई विपत्ति कोही छैन दाजुभाइ।”

बाटोमा सधैँै मकै बेचिरहेको देख्दा सम्भव भएसम्म मकै खरिद गरिदिने गरेको काँग्रेस नेतृ सरस्वती गुरुङले बताउनुभयो । “यो बाटोमा सधैँ आमाले मकै पोलेको देख्छु  समय मिलेसम्म धेरथोर पोलेका र काँचो मकै किनेर लाने गर्छु।” बूढेसकालमा छोराछोरी आफन्तको साथमा रमाएर बिताउनुपर्ने समय आगोमा पसिना बगाउँदै सङ्घर्ष गर्नुभएकी आमाको दुःखले मन बिझाउने गरेको गुरुङले बताउनुभयो।

घारीपाटनका गणेश थापाले बूढेसकालमा पनि दुःख गरेर कसैको सहाराबिना परिश्रम गरेर बाँचिरहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...