News Portal

विदेशमा नेपाली कोमामा पुग्ने कारण खोज्दै सरकार : स्वदेश ल्याएर उपचार गर्ने तयारी

सन्जिता देवकोटा
७२७ पटक

काठमाडौं – सरकारले रोजगारीका लागि विदेश गएका कामदार कोमामा पुग्ने कारण अध्ययनका लागि विज्ञ टोली गठन गर्ने भएको छ ।

विभिन्न देशका अस्पतालमा कोमामा उपचार गराइरहेका नेपालीको तथ्याङ्क संकलन भैरहेको र के कारणले नेपाली कामदार कोमामा जाने अवस्था आयो भन्ने विषयमा अध्ययन गर्न विशेषज्ञ टोली गठन गर्न लागिएको हो ।अध्ययनको लागि टोली सम्बन्धित देशमा जाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो ।

मन्त्रालयले विदेशमा कोमामा रहेका नेपाली कामदार स्वदेश ल्याएर उपचार गराउने तयारी पनि गरिरहेको छ । यसको व्यवस्था मिलाउन निर्देशिका एवं कार्यविधि तयार पारिएको दाहालले बताउनुभयो  । निर्देशिका रायका लागि कानुन मन्त्रालयमा पठाइएको र कानुन मन्त्रालयको राय पछि अर्थ मन्त्रालयसँग समन्वय गर्ने उहाँको भनाई छ । मन्त्रीपरिषदबाट पास भएमा यो निर्देशिका एक महिनाभित्र कार्यन्वयनमा आउने प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार प्रर्बद्धन बोर्ड र गन्तव्य देशमा रहेका नेपाली नियोगसँगको समन्वयमा सरकारले कोमामा रहेका नेपाली कामदारको तथ्याँक संकलन गरिरहेको छ ।

केही समय्अघि प्राप्त तथ्याङ्क अनुसार २३ जना नेपाली कामदार कोमामा रहेको भनिएको थियो । तर पछिल्लो समय १९ जनाको मात्र औपचारिक तथ्याँक प्राप्त भएको पनि प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग समन्वय भइरहेको र २५ देखि ३० जना कोमामा रहेका नेपाली कामदार विदेशस्थित अस्पलातमा उपचार गराइरहेको हुनसक्ने उहाँको अनुमान छ ।

तीन महिनाको उपचार खर्च मात्रै व्यर्होने

विदेशमा कोमामा रहेका कामदारलाई नेपाल ल्याए पनि सरकारले तीन महिनाको उपचार खर्च मात्रै व्यहोर्ने छ । कोमामा रहेको नेपालीलाई स्वदेश ल्याउन बनेको निर्देशिकामा तीन महिनाको उपचार खर्च मात्रै व्यहोर्ने प्रावधान भएको प्रवक्ता दाहालले बताउनुभयो ।

निर्देशिका अनुसार तीन तरिकाबाट कोमामा रहेका कामदारलाई नेपाल ल्याउन सकिन्छ । पहिलो, रोजगादाताले नै सबै खर्च व्यहोरेर पनि नेपाल पठाउन सक्छन् ।

दोस्रो, परिवारले नै उपचार खर्च र ल्याउने खर्च व्याहोर्ने गरी आफन्त स्वदेश ल्याउन सक्छन । र, यदि त्यसो नभएमा सरकारले नै ल्याउने र तीन महिनाको उपचार खर्च व्याहोर्ने प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

दुर्घटना र रोगका कारण कोमामा पुग्ने सम्भावना

कोमामा जाने कारण धेरै छन् । यही कारणले गर्दा कोमामा जान्छन् भन्न नसकिए पनि दुर्घटना र विभिन्न रोगका कारण नेपाली कामदार विदेशमा कोमामा जाने गरेको अनुसन्धानकर्ता डा. जीवन बानियाँ बताउनुहुन्छ ।

विदेश जाने बेला स्वास्थ्य परीक्षणका सबै प्रक्रियामा पास भएर गएका कामदार पनि कोमामा गइरहेका छन् । ट्राफिक संकेत र काम अनुसार अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदारलाई गम्भीर रोग लाग्ने र दुर्घटनामा पर्ने गरेको डा. बानियाँ बताउनुहुन्छ ।

सामान्य बिरामी हुँदा कामदारले नै बेवास्ता गर्ने र समस्या गम्भीर हुँदै गएपछि कम्पनीले जिम्मेवारी नलिने गर्दा पनि कोमामै जाने सम्भावना हुने उहाँले बताउनुभयो ।

विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम पर्याप्त नहुँदा पनि धेरै नेपाली विदेशमा समस्यामा परिरहेका हुन्छन् । विदेशको वातावरण, रहनसन, नीति नियम, कामको प्रकृति र समस्या परिहाले जाने ठाउँ थाहा नहुँदा पनि धेरैजसो अप्ठ्यारोमा पर्छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ३ सय ६१ जना नेपाली अंगभंग र बिरामी भइ विदेशबाट फर्केका छन् । यो संख्या वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट क्षतिपूर्ति पाउनेको मात्रै हो ।

नेपाली कामदारका मुख्य गन्तव्य देशबाटै धेरैजना घाइते र बिरामी भएर फर्कने गरेका छन् । गएको वर्ष मलेसियाबाट घाइते तथा बिरामी भएर १ सय १० जना युवा नेपाल फर्किए । त्यस्तै साउदीबाट ८९, कतारबाट ७० जना र युएईबाट ६२ जना फर्केका छन् ।

विदेश जानु अघि र त्यहाँ रहँदा ध्यान दिनुपर्ने कुरा

विदेशमा काम गर्दा सानोतिनो सुरक्षामा मात्रै ध्यान दिँदा पनि अंगभंग र बिरामी हुनबाट बच्न सकिन्छ । विदेश जानुअघि नै आफूले गर्ने काम र जाने देशका बारेमा सामान्य जानकारी राख्न आवश्यक छ ।

काम गर्दा आइपर्ने समस्या र त्यसबाट बच्न सकिने समाधानका उपयका बारेमा कामदारले नै ध्यान दिनु पर्छ । विदेश जानुअघिको अभिमुखिकरण तालिम देश अनुसारको भएमा पनि विदेशमा दुर्घटना जस्तै अरु समस्याबाट कामदारलाई बचाउन सकिने डा. बानियाँ बताउनुहुन्छ ।

विदेश जाने कामरदाहरुमा व्यवसायजन्य सुरक्षाका बारेमा सूचनाको कमी भएका कारण अंगभग हुने, निको नहुने रोग लाग्ने, ट्राफिक संकेतको बारेमा जानकारी नहुँदा दुर्घटनामा पर्ने गरेको देखिन्छ । त्यसैले विदेश जानुअघि नै आफूले गर्ने काम र त्यससँग सम्बन्धी असुरक्षाबारे थाहा पाउनुपर्ने उहाँको भनाई छ ।

कतिपय कामदार र कम्पनीले नै सुरक्षाको मापदण्ड नअपनाउँदा पनि दुर्घटना निम्तने र कोमामै जाने अवस्था आउन सक्ने डा. बानियाँले बताउनुभयो । समस्या कम हुँदा वेवास्ता गर्ने र बढ्दै गएपछि कम्पनीले पनि राम्रो ख्याल नगर्दा झन समस्या बढ्ने भएकाले बेलैमा चनाखो हुन उहाँको सुझाव छ ।

अहिले व्यवसायजन्स सुरक्षालई नेपाल सरकारले ऐनमै उल्लेख गरेको छ । श्रम ऐन २०७४ र श्रम नियमवाली २०७५ मा पनि व्यवसायजन्य सुरक्षाका विभिन्न पक्षहरुलाई समेटिएको छ ।

व्यवसायसँग सम्बन्धित कामदारका लागि शारीरिक, मानसिक लगायत सुरक्षाका बाटोहरुमा अपनाउनु पर्ने विधिलाई मध्यनजर गर्दै ऐन र नियमावलीमा पनि सुरक्षाको व्यवस्था गरिएको हो ।

विदेशमा काम गर्दा गह्रौं सामान उचाल्नु पर्ने छ वा यताउता सार्नुपर्ने छ भने काम गर्ने ठाउँमा भएका लिफ्ट आदिको प्रयोग गर्नुपर्छ । सकभर जाँडरक्सी, चुरोटबिडी नखान डाक्टरको सुझाव छ ।

काम गर्दा बेल्ट, टोपी, पञ्जा, मास्क प्रयोग गर्नुपर्छ । यसो गर्दा चोटपटकबाट बच्न सकिन्छ । धेरै घण्टा एउटै काम गर्दा तनाव हुनसक्छ । घर परिवार, साथीभाइका कारण पनि तनाव हुन्छ । यस्ता कुरा कम गर्ने प्रयास गर्नुपर्छ ।

विदेश गएर फर्कने सय जनामध्ये ५६ जना कामदारमा स्वास्थ्य समस्या देखापर्ने गरेको विभिन्न देशका डाक्टर तथा स्वास्थ्य संस्थाले मिलेर गरेको अध्ययनले देखाएको छ ।

बितेका ८ वर्षमा मात्रै पाँच हजार ७ सय ८४ जना नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । क्यान्सर, मुटु, मिर्गौला काम नलाग्ने लगायतका घातक रोगबाट पीडित भएर फर्कने युवाको संख्या पनि उत्तिकै छ । त्यस्ता समस्याबाट बच्न कामदार आफैं चनाखो हुनुपर्ने अनुसन्धानकर्ता डा. जीवन बानियाँले बताउनुभयो ।  उज्यालोअनलाइन

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...