News Portal

मलेसियामा ‘डिस्क ब्रेक’ भेटिएन, गाउँमा टेम्पोको ब्रेकले जिन्दगीको गति मोडियो

८२१ पटक

सन्जिता देवकोटा/काठमाडौं – कपिलवस्तुका कमल परियार विदेश जाँदा फक्रिँदै गरेको कमलको फूल जस्तै हुनुहुन्थ्यो । घरमा छँदा न उहाँले केही काम गर्नुभएको थियो,न त विदेश जान कुनै सीप सिक्नुभएको थियो ।

भर्खर २२ वर्ष टेक्दै हुनुहुन्थ्यो  । कलिला कमललाई मलेसियामा पुग्दा हिलोमा फूल्ने कमलको फूललाई बालुवामा फ्याँकिदए झैं भयो । तर कमलले हार खानुभएन ।

कमलको कथा उहाँकै शब्दमा

दुःख बाजा बजाएर आउँदैन भनेको सुनेको थिएँ । मेरो जीवनमा यो भनाई ठ्याक्कै मिल्यो । बुवाआमाको साथमा खाइखेली हिँडेको मान्छे म । त्यो बेला मलाई दुःख के हो थाहै थिएन । कथा अरुको भन्दा फरक छैन मेरो पनि । तर एउटा दु:खको कथाबाट पाठ सिकेर मैले अर्को सुखद कथाको सुरुवात गरेको छु ।

सन् २००८ मा बुवाआमाले नै मलाई थैलो टकटक्याएर विदेश पठाउनुभएको हो । मलेसिया पुग्दा बुवाआमाको टकटक्याएको थैलो कमाएर भरौंला भन्ने सपना थियो । म्यानपावरका मान्छेले‘डिस्क ब्रेक’बनाउने कम्पनीमा हो तिम्रो काम भनेको जस्तो लाग्छ । २२ वर्ष त भएको थिएँ । तर परिपक्वता थिएन । त्यसैले होला विदेश जाने भनियो । तर काम र कमाइको बारेमा कुनै जानकारी थिएन ।

म्यानपावरले भनेजस्तो काम भएन । चार वर्ष बिताएँ मलेसियामा । तर बुवा आमाको टकटक्याएको थैलो भर्न सकिन । काम पनि नराम्रो नराम्रो पर्‍यो । त्यतिबेला गरेको काम मलाई अहिले सम्झन पनि मन लाग्दैन । प्लाष्टिक कम्पनीको काम थियो ।

कहिले कहाँ,कहिले कहाँ लिएर जाने । न कामको ठेगान, न खानको । प्याकिङको काम गरें,मसिन चलाएँ,सामान गाडीमा राख्ने,निकाल्ने काम पनि गरें । काममा दुःख भए पनि पराइ देशमा कसैले सानो सहयोग गरे पनि कस्तो हुन्थ्यो होला भन्ने लाग्ने । सहयोग भनेको केही दिएर हैन । त्यो बेला त बोलीकै सहयोग पनि निकै महत्वपूर्ण हुँदो रहेछ ।

तर, मेरो मन हलुका हुन्छ भनेर अर्काले किन राम्रो गरी बोलिदिन्थ्ये र । गाली गर्ने, तेरो भिसा यस्तो उस्तो भन्ने । त्यो बेला त रुनुभन्दा अरु विकल्प थिएन । किनकी धेरैजसो त म उनीहरुले किन गाली गरे भनेर पनि बुझ्दैन थिएँ ।

महिनाको नौ सय रिंगिटसम्म त आउँथ्यो । तर खै के गर्दा, बच्दैन थियो । चार वर्ष पछि सन् २०१२ मा घर फर्किएँ ।

एक वर्षजति यत्तिकै बसें । घरमा काम गर्ने जस्तो केही भएन । त्यसपछि म फेरि सन् २०१३ मा मलेसिया नै गएँ । मलेसियाको रहनसहन थाहा थियो । पहिले जस्तो नहोला जस्तो लाग्यो । यो पालि पनि म ठगिएँ । राम्रो काम परेन । लेवरकै काम पर्‍यो । त्यो पनि सप्लाई कम्पनीमा । गर्ने काम र ठाउँको ठेगान नहुने ।

तीन वर्ष काम गरें । यो पालि चाहिँ मलाई पहिले जस्तो रित्तो हात फर्कन छुट थिएन । पहिले पो कमाउन सकिन भन्दा पनि भयो, तर यो पालि त आफ्नै लागि कमाउनु थियो । एक हजार रिंगिट थियो, बेसिक तलब । तीन वर्ष बस्दा चार पाँच लाख रुपैयाँ कमाएँ र फर्किए ।

गाउँघरमा विदेशबाट फर्किनेहरुले एउटा बाइक किनेकै थिए । मलाई पनि साथमा पाँच लाख रुपैयाँ हुँदा किनौं किनौं लागेको थियो । तर के गर्नु श्रीमती र छोराछोरीको मुख हेरें, त्यसो गर्न मन लागेन ।

आफूसँग भएको पैसा लगानी गर्ने उपयुक्त ठाउँ खोजें । गाडी चलाउने सीप थियो । यसो सोचें, टेम्पो किन्छु । अलिअलि बैंकबाट ऋण गरेर टेम्पो निकालें ।

टेम्पो चलाउन थालेको पाँच महिना जति भयो । विदेशमा ‘डिस्क ब्रेक’ बनाउन गएको थिएँ । बनाउनु त परको कुरा देख्न पनि पाइएन । अहिले टेम्पोको ब्रेकमा हात राखेदेखि मेरो दैनिकी फेरिएको छ । अझ भनौं टेम्पोको स्टेरिङ समातेसँगै मेरो जीवनले गति लिएको छ ।

अहिले टेम्पो चलाएरै म महिनाको ३० हजार कमाउँछु । यो ३० हजार भन्दा अमूल्य कुरा त परिवारको साथ पाएको छु । उनीहरुको साथमा बसेर कमाएको ३० हजार मेरा लागि विदेशमा लाखौं लाख कमाउनुभन्दा बढी हो ।

दिनको पाँच सय बैंकको ऋण बुझाउँछु । जति कमाई हुन्छ, त्यसमा घर खर्च कटाएर बैंकमै जम्मा गर्छु । बाइक किनेका भए म एक्लै घुम्थें होला । अहिले कतै जान मन लागेपनि परिवारलाई टेम्पोमा राख्छु र घुमाउँछु । टेम्पोबाट कमाएको पैसा थोरै थोरै बचत गरेर बिस्तारै जीप किन्ने सोचेको छु । अब विदेश जान्न । (उज्यालोअनलाइनबाट)

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...