News Portal

कुवेतमा फेरि ३२ नेपाली अलपत्र, घर फर्किन पाऊँ भन्दै दूतावासको शरणमा पुगे

हिमाली संचार संवाददाता
६८९ पटक

भूपराज बस्याल
काठमाडौं १४, २०७६ पौष : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्। काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको काम नपाएपछि अलपत्र परेका हुन्।

‘आएको तीन महिनासम्म कुर्दा पनि भनेको काम नदिएपछि हामी आफ्नै मुलुकको राजदूतावासको शरणमा जान बाध्य भयौं’, बिहीबार कुवेतबाट नेपाल फर्किएका प्युठानका जंगवीर सुनुवार र रोल्पाका मतिवीर पुन मगरले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘हामी त आयौं, तर त्यहाँ हाम्रा साथी अलपत्र छन्।

त्यहाँ रहेका सबै नेपाली पीडामा रहेको र दूतावासलाई निवेदन दिँदासमेत सुनुवाइ हुन नसकेपछि ६ दिनको जरिवाना शुल्क तिरेर आफूहरू नेपाल फर्किएको सुनुवार र मगरले बताउनुभयो।भिजिट भिसाको तीन महिने म्यादसम्म कुनै काम नदिएको र भिसा प्रक्रिया पनि शुरू नगरेपछि आफूहरू नेपाल फर्किएको उहाँहरूको भनाइ थियो।

गएका ३२ जनामध्ये मात्र नौ जना कामदारको भिसा लागेको र अरू कसैको तीन महिने भिसा सकिसकेको त कसैको सकिन लागेको हुँदा उनीहरूले नेपाल फिर्तिका लागि हारगुहार गरेका हुन्।

फर्किएका सुनुवारले एक लाख ५० हजार र मगरले एक लाख ६० हजार रुपियाँ म्यानपावरलाई बुझाएको बताउनुभयो। साहुसँग ब्याजमा पैसा लिएर विदेश गई कमाएर घर परिवार पाल्ने आशाका साथ विदेश गइयो, अहिले समस्या परेर फर्कनुपरेको छ।

दुवै जनाको गुनासो थियो। महिनाको १२० केडी (कुवेती रुपियाँ) तलब दिने भनेर गएको आउने बेलासम्म जम्मा ४० केडी मात्रै दिएको गुनासो गर्दै यसले ब्याज तिर्न पनि नपुग्ने उहाँहरूको भनाइ थियो।

इन्फा गल्फ कुवेत फर जनरल ट्रेडिङ मेसिनरी एन्ड एकुप्मेन्ट कम्पनीमा गएका युवाहरू निवेदन लिएर राजदूतावास जाँदा उक्त कम्पनी ब्लाक लिस्टमा परेको हुँदा भिसाको प्रक्रिया हुन नसकेको उहाँहरूले जनाउनुभयो।

गएका ३२ जनामध्ये चार जना फर्किसकेको र बाँकी पनि उद्धारको पर्खाइमा बसेको नेपाल फर्किएका पीडितहरूको गुनासो छ।

यता मेनपावर कम्पनी सञ्चालक किशोर केसी भने पीडितले भनेजस्तो केही नभएको र दुई वर्षसम्म म्यानपावरकै जिम्मा हुने हुँदा कुवेतमा रहेकाहरू अवैध हुन नदिने बताउनुहुन्छ।

केसीले भन्नुभयो– ‘हामीले दूतावासले प्रमाणीकरण गरेको डिमान्डमा कामदार पठाएका हौं। त्यसैले उनीहरू समस्यामा पर्ने कुरा हुँदैन।’ नेपाल फर्किएका कामदार भने आइतबार वैदेशिक रोजगार विभागमा मुद्दा हाल्न जाने तयारीमा रहेका छन्। (नेस)

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...