News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ७ वर्षदेखिको पारिश्रमिक लिन मालिक खोज्दै किसान काठमाडौंमा आएपछि..

    हिमाली संचार संवाददाता
    ४१८ पटक

    घनश्याम खड्का
    काठमाडौँ १३, २०७६ पौष : पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए। सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो। त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत। महतोले त्यही घर र खेतको दूरी नापेरै जिन्दगी बिताए। बिहान घरबाट खेतमा जाने र साँझ खेतबाट घर फर्किने नित्य क्रम चलिरहँदा देशमा धेरैखाले परिवर्तन भए।

    खेतको लहलह उखु बाली स्याहार्दास्याहार्दै उनले पाँच वर्षले कान्छी पतियादेवीसँग बिहा गरे, दुई छोरा हुर्काए। आक्कल झुक्कल सदरमुकाम मलंगवासम्म पुगेका हरिहर यसपाला भने जीवनकै लामो यात्रा गरे र आइपुगेका छन् संघीय राजधानी काठमाडौं।

    उनको दिनचर्या पनि फेरिएको छ अहिले। बिहानै उठ्छन्, माइतीघर मण्डल पुग्छन्, निरक्षर उनी विभिन्न नारा लेखिएको तुलको एक कुना समातेर दिनभरि सडकमा गुडिरहेका गाडीहरू ट्वाल्ल हेरिरहन्छन्। घाम डुबेपछि वाग्मतीको किनारमा उभिएको एक झुपडपट्टीमा गएर टाउको घुसार्छन् जहाँ ६ महिनादेखि कबाडीको काम गर्दै काठमाडौं सहरलाई दिनहुँ खुट्टाले नापिरहेका उनका जेठा छोरा गणेश बस्दै आएका छन्। महतोको यस्तो दिनचर्या शनिबार छैटौं दिनमा चल्दै थियो। ‘मेरो पैसा खाइदियो साहुले,’ उनी भन्छन्, ‘त्यो लिन भनेर काठमाडौं आएको छु।

    भोजपुरीमा मात्रै बोल्ने र भोजपुरी मात्रै बुझ्ने महतोका कुरा उनीझैं पहिलो पटक काठमाडौं आएका उनका ६० वर्षीय भतिजा सिंगडाले नेपालीमा अनुवाद गरी सुनाए।

    महतो परिवारले रगतपसिना एक पारेर लगाएको उखु सर्लाहीस्थित अन्नपूर्ण सुगर मिलले चिनी बनाएर देशभर बेच्यो तर पैसा भने आफैं राख्यो। ‘सात वर्षदेखिको पैसा लिनु छ हजुर,’ काका महतोले याचक दृष्टिले दुःख बेसाए, ‘साहु भागेका छन्।

    अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाललाई उनले कहिल्यै देखेका छैनन्, त्यसैले देखिहाले चिन्दैनन्। उनै अग्रवालसँग महतोले अढाई लाख लिनु छ र, त्यही लिन भनी उनी माइतीघरमा रुँगी बसेका छन्, जहाँ अरू पनि धेरै किसान भेटिन्छन्।

    संयोग के भने, उनीहरूमध्ये अधिकतरको जीवनमा राजधानीको यो यात्रा पहिलो नै हुन गएको छ। ‘हामीले धेरै पटक सीडीओलाई भन्यौं, एसपीकामा गएर हात जोड्यौं,’ सर्लाहीका अर्का उखु किसान ४३ वर्षीय मायाशंकर यादवले भने, ‘केही सीप नलागेपछि उसैको घर घेर्न भनेर गाउँबाट हिँड्यौं।

    यादवले अग्रवालबाट २५ लाख लिन बाँकी छ। कतिपय किसानको त ६० लाखसम्म पनि उठाउनुपर्ने छ। ‘सबै गरेर २५ हजार किसानको ५० करोडजति पैसा उठाउन बाँकी छ,’ उखु किसान संघर्ष समितिका सचिव ३६ वर्षीय हरिश्याम रायले भने, ‘अब पैसा नलिई हामी फर्किन्नौं।

    सर्लाही र रौतहटका किसान खल्तीमा दुई/तीन हजार बोकेर गत साता काठमाडौं जाने बसमा चढेका थिए सर्लाहीबाट। उनीहरू कोही सडकपेटीमा सुतिरहेका छन्, कोही लजमा त कोही आफन्त र गाउँलेको झुपडपट्टीमा। दिनभरि माइतीघरमा रुँगेर बस्ने अनि साँझ परेपछि तितरबितर भई रात बिताउने उनीहरूको न खानको ठेगान छ न बासको। महतोलाई शनिबार मैले सोधें, ‘कस्तो लाग्यो त राजधानी ?

    ‘जाडो लाग्यो हजुर !’ पातलो न पातलो धोती–कुर्ता अनि एउटा पातलै मजेत्रोमा पारिलो घाममा पनि चिसोले कक्रिएका उनले भने, ‘काठमाडौं साह्रै जाडो लाग्यो। यो जाडोमा उनको पेटमा भने आगो बल्न थालेको छ। ‘हामी सबैको ल्याएको पैसा सकियो, अब खाने उपाय केही छैन,’ उनी भन्छन्, ‘जाडोले भन्दा भोकैले पहिला मार्लाजस्तो छ।

    उनीहरूले काठमाडौं आएर चार दिन धुइँपत्ताल खोजेपछि राकेश अग्रवालको घर पत्ता लगाए। ‘उसको घर त्रिपुरेश्वरमा रहेछ,’ यादवले सुनाए, ‘त्यहाँ हामी पुग्दा अग्रवालचाहिँ भागिसकेका थिए। उनले अग्रवाललाई हजार पटक फोन गरे होलान् तर एक पटक पनि उठेन।

    ‘मान्छे नेपालमै छ, फोन जान्छ, प्रहरीलाई हामीले धेरै पटक हात जोड्यौं,’ संघर्ष समितिका सचिव रायले भने, ‘तर हाम्रो सुनुवाइ भएन। अग्रवालको घरको पाँचौं तलामा निजी कार्यालय छ, जहाँ पुगेर किसानहरू धर्ना बसे। ‘त्यसपछि भने प्रहरी आयो तर उसलाई पक्रन होइन, हामीलाई धपाउन,’ उनले भने, ‘प्रहरीले हाम्रो दुःख हेर्ला भनेको त उसैलाई पो जोगाउन खोज्छ बा !

    प्रहरीले बाहिर निक्लन भने पनि उखु किसानले एक भएर अग्रवालको दैलाअघिल्तिर धर्ना कसिरहे। ‘हामीलाई पक्रेर लैजानुस्, गोली हान्नु छ हान्नुस् तर हामी यसको कामकाज ठप्प पारेरै छाड्छौं,’ उनीहरूले प्रहरीलाई भने र अन्तमा अग्रवालको कार्यालयमा ताल्चा लगाइदिए।

    त्यसयता दुई दिनदेखि उनीहरू माइतीघरमा धर्ना बसिरहेका छन्। उनीहरू सबको खेतमा काट्ने बेला भएको उखु छ। फर्केर त्यो काट्ने कि पहिलेको उखुको बक्यौता लिएर जाने भन्ने प्रश्नले दिनभरिजसो उनीहरूलाई पिरोलिरहन्छ।

    शनिबार दिउँसो उनीहरू धर्नामा बसिरहेका बेला प्रहरीको चिल्लो नीलो जिप अघिल्तिर आएर रोक्कियो। ‘अहो एसएसपी साहेब !’ यादव र महतोहरूले आफन्त भेटेझैं गाडीभित्रका एक अधिकारीलाई जदौ गरे, ‘हेर्नॅहोस् न, हाम्ले त अहिलेसम्म पैसा पाएका छैनौं।

    उनी रहेछन् काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी । उनले गाउँबाट को को आएका छन् भनी केहीबेर भलाकुसारी गरे र गाडीमा हुइँकिहाले। तीन वर्षअघि सर्लाहीमा उनी एसपी हुँदा किसानहरू अग्रवालविरुद्ध उजुरी गर्न गएका रहेछन्।

    सुवेदी र सर्लाहीका तत्कालीन सीडीओ प्रदीपराज कँडेलले अग्रवालको गोदाममा भएको चिनी बेच्न लगाएर किसानलाई केही पैसा दिलाएका रहेछन्। ‘यो समस्या वर्षौंदेखिको हो, त्यतिखेर मैले केही पहल गरेर पैसा तिराउन लगाएको थिएँ। फेरि किसानलाई दिइएनछ,’ सुवेदीले साँझ कान्तिपुरसँग भने, ‘उतिखेर जिल्लामा हुँदा आफूले सम्हालेको मामिला हुनाले आज भेट्न गएको हुँ।

    उनका अनुसार उधारोमा उखु लिने र पछिसम्म किसानलाई पैसा नतिर्ने व्यापारीहरूको पुरानै बानी हो। अन्य मिलमा यो समस्या भए पनि अग्रवालको स्वामित्वमा रहेको अन्नपूर्ण सुगर मिलमा भने पैसा नतिर्ने प्रवृत्ति चर्को छ। ‘अलि टाढाबाठालाई तिर्ने र सोझासाझालाई नतिर्ने गर्छन् व्यापारी,’ उनले भने, ‘त्यसमाथि व्यापारी र किसानको देखभेट कहिल्यै हुँदैन। बीचमा दलालहरू भन्छन्, तिनैले हो धेरै गडबडी गर्ने त।

    सर्लाहीको हजारौं बिघा जमिनमा लगाइएका उखु उधारोमा किनेर चिनी बनाई बेच्ने र त्यसबाट आएको पैसा अन्यत्र व्यापारमा लगानी गर्ने अग्रवालको बानीले किसानहरू मर्कामा परेको सुवेदीको बुझाइ छ।

    यो सल्ट्याउनै नसकिने केस होइन,’ उनले भने, ‘स्थानीय सरकार, राजनीतिज्ञ र समाजका अगुवाले पहल गरे किसानले पैसा पाउँछन्। वर्षौंसम्म किसानलाई पैसा नदिइएको र त्यो उठाउन बेहाल अवस्थामा उनीहरूमध्ये केही काठमाडौं आइपुगेको घटनालाई चासोका साथ हेरिरहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

    ‘उनीहरू काठमाडौं आएको खबर पाएलगत्तै आयोगले जनकपुरस्थित प्रदेश कार्यालयलाई सर्लाहीमै गएर स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको छ,’ आयोगका सचिव वेदप्रसाद भट्टराईले भने, ‘यता काठमाडौंमा उनीहरू भोकभोकै पर्नु र बासै नपाउनेअवस्था आउनु राम्रो होइन। हामी सरकारलाई उनीहरूको समस्या तत्काल समाधान गर्न आग्रह गर्छौं।

    प्रतिकृया दिनुहोस्

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय...

    सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका...

    रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

    काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण...

    रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    रामेछाप, जेठ ८ – रामेछापबाट मृतकको शव लिएर काठमाडौंतर्फ गइरहेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटनामा परेको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ, आजै आदेश आउने सम्भावना

    काठमाडौं, जेठ ८ – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...