News Portal

भाइटीकाको शुभसाइत बिहान ११ः५५ बजे

हिमाली संचार संवाददाता
६९६ पटक

काठमाडौं ११, २०७६ कार्तिक : प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन मंगलबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम छ, भाइटीका लगाउन मध्यान्हको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

मंगलबार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

दिदीबहिनी नहुनेका लागि उक्त दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि चार वर्ष अघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाईटिकाकै दिनमात्र खुल्ने गर्दथ्यो। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले बताए।

विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भिड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भिड लाग्छ। उनले भने।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भिड लाग्न थालेको छ।

यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउँदैछन्।

गोवर्द्धन पूजा !

मंगलबारै आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

यसवर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवर्द्धन पूजा परेको हो। कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ मंगलबार बिहान ७ः५१ बजेसम्म प्रतिपदा तिथि छ।

गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले मंगलबार नै गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

मंगलबार बिहान प्रतिपदा तिथि हुँदै गोवर्द्धन पूजा गर्न समितिले आह्वान गरेको छ। त्यसपछि भाइटीका लगाउन सकिन्छ। – रासस

प्रतिकृया दिनुहोस्

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...