News Portal

  • लिबियामा एक नेपालीको मृत्यु, सँगै गएका साथीहरू पत्याउँदैनन् सन्तोषको मृत्यु

    हिमाली संचार संवाददाता
    ४६२ पटक

    उजीर कार्की
    जुलाई ५, शुक्रबार : इजिप्टको कायरोस्थित नेपाली दूतावासले बुधबार एक नेपालीको लिवियामा ज्यान गएको खबर सार्वजनिक गर्‍यो। सन्तोष श्रेष्ठको ज्यान गएको भनिए पनि उनको ठेगाना लगायतका विवरण प्रस्ट थिएनन्।

    यो खबर लमजुङको बेसिसहर नगरपालिका–११ चिति तिनपिप्लेका सन्तोष श्रेष्ठको परिवारसम्म पुग्यो। तर कहाँको सन्तोष श्रेष्ठ भन्ने खुलेको थिएन। आफ्ना २७ वर्षीय छोरा सन्तोष पनि लिवियामै भएकाले खबर सुन्नेबित्तिकै यो परिवारको होस उडिसकेको थियो।

    सन्तोषसँगै लमजुङका अरु तीनजना पनि गएका थिए। उनीहरूलाई फोन गरे सन्तोषका दाइ नवीनले। उनीहरू भन्दै थिए, ‘कहाँ हुनु सन्तोष त इटाली जाँदैछ, बाठो छ जसरी पनि पुग्छ। अरु नै कोही होला!

    बुधबार साँझ परिसकेको थियो। कार्यालयहरू बन्द भइसकेका थिए। लिवियामा ज्यान गुमाउनेका परिवार को हुन् भनेर कन्सुलर सेवा विभाग र राहदानी विभाग बिहीबार कार्यालय खुल्नासाथ प्रमाणीकरण गर्ने तयारी गर्दै थिए।

    त्यतिबेलै नवीन सन्तोषको राहदानी लिएर कन्सुलर सेवा विभागमा पुगे। चेकजाँच गर्दा थाहा भयो मंगलबार ज्यान गुमाउने सन्तोष आफ्नै भाइ रहेछन्। पासपोर्ट लिएर मान्छे निश्चित गर्न गएका नवीन भाइको ‘शव झिकाई पाऊँ’ भनेर निवेदन दिएर फर्किए।

    उनी घर नपुग्दै कायरोस्थित दूतावासबाट फोन आयो, ‘जे हुनु भइगयो, अब हामी शव नेपाल पठाउने कोसिस गर्छौंं। सन्तोषका बुबाको फोन लागेन। हामीले लिवियामा रहेका शान्ति सेनालाई सम्पर्क गरिसकेका छौं।

    सँगै नेपालबाट हिडेका सन्तोष र उनका साथीहरू लिवियामा भनेको काम र कमाई नभएपछि इटाली जाने निर्णयमा पुगेका थिए। त्यसका लागि दलालले मागेजति पैसा दिन तयार भए। दलालको सर्त थियो एकपटकमा चार नेपाली जाने । सन्तोष श्रेष्ठसहित उनीहरूको समूह ५ जनाको थियो । सन्तोष त्यो लटमा इटाली छिर्न पाएनन्, अरु चारजना बाटो लाग्ने भए ।

    बंगलादेशी दलालले थुप्रै बंगलादेशीलाई इटाली पुर्‍याउँदा रहेछन्। यो कुरा पत्ता लगाएपछि उनीहरूले पनि युद्धग्रस्त लिविया छाड्ने निर्णय गरेका थिए। टोलीमा अलिक बाठो थिए सन्तोष। टोली नेताजस्ता। त्यही भएर उनी बसेर साथीहरूलाई पहिल्यै पठाउन तयार भए। सन्तोष परदेशका भुक्तमान हुन्। यसअघि मलेसिया तीन वर्ष र कतारमा डेढ वर्ष काम गरेर फर्किएका थिए।

    सँगै गएका थिए लम्जुङका पुर्णप्रसाद अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई। उनीहरू सन्तोषलाई लिवियामै छाडेर इटालीका लागि पानीजहाजमा बाटो लागे। सन्तोष त्यो लटमा जान पाएनन्।

    उनीहरू पुस अन्तिम साता दुबई पुगेका थिए, भिजिट भिसामा। त्यहाँबाट अर्को सेटिङ मिलाए दलालले। दुबईबाट रवि प्रसाईंले पाकिस्तानी एजेन्टसँग मिलेर लिविया छिराए। नेपालबाट सिधै लिबिया जान नमिल्ने भएपछि उनीहरू सेटिङमै गए।

    लिबियाबाट रामचन्द्र घिमिरेले रोजगारीमा लगाइदिने आश्वासन दिएको सन्तोषका साथीहरू बताउँछन्। नेपालमा सबै व्यवस्था मिलाएका थिए दलालहरूले। तर चार दलाल गएको जेठ ३० गते पक्राउ परिसकेका छन्। प्रतिबन्धित देश लिवियामा पठाउने कार्यमा संलग्न लोकमान राई, तिर्थराज विश्वकर्मा, मेनुका श्रेष्ठ र अमरबहादुर बगाले हाल प्रहरी हिरासतमा छन्। एजेन्ट सुसान घिमिरे सम्र्पकविहीन रहेको परिवार बताउँछन्।

    उनीहरूविरुद्ध लिवियामा अलपत्र परेर फर्किएका १३ युवाले उजुरी दिएका थिए। मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी गोविन्द थपलिया भन्छन्, ‘उनीहरूले त्यतिबेलै भनेका थिए हामी फर्कियौं, अरु ६/७ जना युवा इटली जान लागेका छन्। त्यही समूहमा थिए सन्तोष र उनका साथीहरू। प्रहरीकाअनुसार यसरी जान लागेका नेपालीले आफ्नै साथीलाई पनि सत्य कुरा बताउँदैनन् । कतिले त म नेपाली होइन भन्ने गरेको पनि पाइएको एसपी थपलिया बताउँछन् ।

    लिविया पुगेको तीन महिनामा उनीहरू इटालीका लागि बाटो लागे । बंगाली एजेन्टलाई ३ हजार डलर बुझाएपछि पानीजहाजबाट इटाली हिडेका थिए अरु । तर दुई दिनपछि उनीहरू अलपत्र परे । विद्रोही समूहले उक्त पानीजहाज नियन्त्रणमा लियो। सन्तोषलाई छाडेर गएका साथीहरू विद्रोहीको फन्दामा परे । उनीहरूलाई विद्रोहीले आफ्नो क्याम्पमा लगेर यातना दिए। यता उनका परिवारले आफ्ना सन्तानलाई यातना दिएको भनेर निवेदन दिइरहँदा सन्तोष भने इटाली जानलाई दलाललाई पैसा पठाउँदै थिए।

    सन्तोषले जेठ ५ गते मात्रै दलालका आफन्तको नाममा नेपालमा दुई लाख रुपैयाँ जम्मा गर्न लगाए । तर त्यसको एक महिनापछि तिनै दलालसँग बाटो लाग्दा सधैंका लागि बिदा भए। पछिल्लो समय दलालले दुबई हुँदै नेपालीलाई लिबिया पुर्‍याएर अलपत्र पार्ने गरेका छन्। गएको दुई महिनामा कायरोस्थित दूतावासले २६ जनाको उद्धार गरेको छ ।

    विद्रोहीको आक्रमणमा मारिएका सन्तोषका साथीसहित ८ जना शुक्रबार नेपाल फर्किंदै छन्। अरु ६ जनालाई पनि नेपाल फर्काउन पहल गरिरहेको दूतावासले जनाएको छ। मानव बेचविखन व्यूरोमा लिवियामा अलपत्र पारेका ६ वटा मुद्दा दर्ता छन्। उनीहरू कहिले र कसरी फर्किने हुन् टुंगो छैन । लिबियामा नेपालको कुनै पनि निकाय छैन ।

    कायरो दूतावासले हेर्ने भएपनि द्वन्द्वरत देशमा काम गर्न निक्कै समस्या हुने गरेको छ। त्रिपोलीमा रहेका श्रेष्ठलाई पनि उद्धार गर्ने तयारी भइरहेको थियो। नेपाल फर्काउन दुई दिनअघि मात्रै ट्राभल डकुमेन्ट पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो । तर परिवारले दूतावासमा कागजात नपठाउँदै मृत्युको खबर सुन्नु पर्‍यो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...