रामकृष्ण अधिकारी
काठमाडौं, २१ बैैैशाख : नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए।
तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए।
पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो। फूलमाला र खादा त्यहाँ उत्तिकै प्रयोगमा आयो। दाहालसँग फोटो खिचाउन चाहनेको तँछाडमछाड देखियो।
त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षण पत्र पनि आफ्नै निवासमा बुझेका थिए। नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ। पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ। तर उनी धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो। दाहालको नेता–कार्यकर्ता भेटघाटदेखि सबै कार्यक्रम निजी निवासमै हुन्छन्। पार्टी कार्यालयमा बनाउनुपर्ने कार्यक्रमसमेत निजी निवासमा गर्ने गरी बनाइँदै छन्।
यस्तो दृश्य दाहाल निवासमा मात्र होइन, प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि देखिन्छ। १६ वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठक आफ्नै सरकारी निवास बालुवाटारमा बोलाए। गतवर्षको जेठ ३ को पार्टी एकतायता एक पटक स्थायी समितिको बैठक धुम्बाराही कार्यालयमा बसे पनि जेजति अन्य बैठक अहिलेसम्म बसेका छन्, प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ।
कांग्रेसमा सभापति शेरबहादुर देउवाको अवस्था पनि उस्तै छ। उनी पार्टी पदाधिकारी बैठक आफ्नै निवासमा गराइरहेका छन्। १९ वैशाखमा मात्र पार्टीभित्र देखिएको असमझदारी हटाउने, भ्रातृसंस्थादेखि कार्यसम्पादन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक बोलाए।
कूटनीतिक नियोगका प्रतिनिधिलाई समेत नेताहरूले निवासमै बोलाएर भेटघाट गर्ने चलन बढेको छ। पार्टीका संस्थागत निर्णय गर्ने थलोभन्दा नेता निवास बलियो बनेका यी त केही उदाहरण मात्र हुन्। यस्ता अनगिन्ती घटना छन्, जसले राजनीतिक दलका मुख्य नेताहरूकै प्राथमिकता पार्टी कार्यालयभन्दा आफ्नै निवास हुन थालेको देखाउँछन्।
यस्तो प्रवृत्तिमा नेताहरूको आदत बसिसकेको नेकपा स्थायी समिति सदस्य नारायण शर्मा बताउँछन्। नेतृत्वको विचारदेखि व्यवहारमा सन्तुलन मिलाउने र जनता, कार्यकर्ताले पनि निगारानी, नियन्त्रण र हस्तक्षेपकारी भूमिका खेल्ने गरी सुझाव र दबाब दिएर नेतृत्वलाई त्यहीअनुसार लैजान सकिन्छ’, उनी भन्छन्, ‘तर यी सबै पक्ष विशृंखलित छन्।
नेताहरूको आदत बनिसक्यो, आदत फेर्न गाह्रो छ। राजनीतिक दलका नेताहरूले कूटनीतिक नियोगका प्रतिनिधिलाई समेत निवासमै बोलाएर भेटघाट गर्ने चलन बढेको छ।
आफ्नै निर्णय उल्लंघन !
पार्टीभित्र चर्कै आलोचना, टिप्पणी हुन थालेपछि यदाकदा मात्र नेताहरूले निजी निवासभन्दा कार्यालयलाई प्रयोग गर्न खोजेको देखिन्छ। गत २२ मंसिरमा बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेर हिँडे।
शीर्ष नेतृत्वले समय पालनासम्बन्धी पार्टीले लिएको नीतिगत निर्णय कार्यान्वयन नगरेको त्यस बेला नेताहरूको प्रतिक्रिया थियो। तर त्यसले नेकपालाई लगत्तै स्थायी समिति बैठक केन्द्रीय कार्यालयमा बोलाउन दबाबको काम गरेको थियो। त्यहीअनुसार स्थायी समितिको बैठक केन्द्रीय कार्यालयमै बस्यो। तर अन्य बेला फेरि नेताहरूको कार्यालय आवतजावत छैन। नेताहरू नै हत्तपत्त पार्टी कार्यालय नपुग्ने समस्या नेकपामा छ।
महासचिव विष्णु पौडेल नियमित जस्तो कार्यालय पुग्ने गरेका छन्। तर सचिवालयका अन्य नेताको उपस्थिति पार्टी कार्यालयमै यदाकदा मात्र छ। नेताहरूले निजी निवासका भेटघाट बन्द गरेर कार्यालयबाटै गर्ने घोषणा नगरेका पनि होइनन्। तर ती घोषणा कागजको पुलिन्दाबाहेक केही बन्न सकेनन्। त्यसैको एउटा बलियो प्रमाण हो— नेकपाका जोर पाइलट ओली र दाहालले पार्टी कार्यालयमा गर्ने भनी आफैंले घोषणा गरेका प्रतिबद्धता।
०७४ माघ ४ मा दाहालले निवासको भेटघाट बन्द गरेर पार्टी कार्यालयबाटै गर्ने योजना बनाए। उनको निजी सचिवालयले अध्यक्ष आफैंले बोलाएका व्यक्तिबाहेक अन्यसँग खुमलटारको गेट बन्द हुने वक्तव्य दिएको थियो। पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरूलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले यस्तो निर्णयमा पुगिएको त्यस बेला दाहालको सचिवालयको वक्तव्यमा थियो। तर दाहालले पार्टी कार्यालयबाट हुने त्यस्तो भेटघाट एक हप्तासम्म पनि निरन्तरता दिएनन्।
ओलीले पनि दाहालकै जस्तो वक्तव्य दिएका थिए। भलै तत्कालीन माओवादीसँग पार्टी एकताभन्दा केही महिनाअघिको घोषणा थियो त्यो। त्यस बेला ओलीले आफ्नो नियमित भेटघाट पार्टी कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा गर्ने बताएका थिए।
निजी निवास बालकोट भक्तपुरमा भीडभाडका कारण असहजता देखिएको भन्दै नियमित भेटघाटका कार्यक्रम सिंहदरबार र पार्टी कार्यालय धुम्बाराहीबाट गर्ने घोषणा ओली सचिवालयको थियो।
तर त्यस्तो भेटघाट ओलीले पनि पार्टी र दलको कार्यालयबाट खासै गरेनन्। अहिले उनी प्रधानमन्त्री छन्। प्रधानमन्त्री भएपछि उनका सिंहदरबारका कतिपय काम त आफ्नै निवासबाट हुने गरेका छन् भने पार्टी काम उनले कार्यालय पुगेर गर्ने कुरै भएन।
नेकपा नेताहरूका अनुसार, अध्यक्षद्वय ओली र दाहाल दुवैको स्वभाव, हाउभाउ, पार्टी सञ्चालन पद्धतिका कारण पनि निजी निवासमा भीड लाग्ने गरेको हो। पार्टी संगठनात्मक पद्धति दुवै नेताले आफ्नै छत्रछायाँमा चलाउन खोज्ने प्रवृत्तिका कारण पनि निजी निवासमा भीडभाड लागेको हो।
दाहाल–ओली दुवैले आफंैलाई हेडक्वार्टर मान्ने र आफैं पनि व्यक्तिवादी स्वभावका भएकाले पार्टीका अधिकांश निर्णय व्यक्तिगत तवरले निवासबाटै गर्न थालेका छन्। नेकपाकै एक नेता भन्छन्, ‘नेकपाभित्र नेतृत्वको आलोचना गर्ने प्रवृत्ति अझै विकसित भइसकेको छैन। पार्टीका दुई अध्यक्षले जे भन्छन्, त्यही कार्यान्वयन भइरहेको छ। त्यसो भएपछि कतिपय निर्णय उनीहरूले आफ्नै निवासबाटै तजबिजीमा गर्न थालेका छन्।
कांग्रेस सभापति देउवालाई भेट्ने जोकोही उनकै निजी निवास बूढानीलकण्ठ पुग्छन्। पार्टी कार्यालय भने सुनसान जस्तै हुन्छ। कांग्रेसमा कृष्णप्रसाद भट्टराई पार्टी सभापति हुँदादेखि नै प्रभावशाली नेताले निजी निवासलाई बलियो बनाउँदै आएको देखिन्छ। बहुदलपछि सभापति कृष्णप्रसाद भट्टराई हुँदा गिरिजाप्रसाद कोइरालाले आफ्नो निजी निवासको भेटघाटलाई बलियो बनाए। पछि उनले सभापति हुँदा पार्टी कार्यालयभन्दा निजी निवासमै पार्टी गतिविधिलाई केन्द्रित गराइराखे।
अहिलेका सभापति देउवाको शैली ठ्याक्कै त्यही खालको छ। सुशील कोइराला मात्र कांग्रेसमा अपवाद देखिएका थिए, उनले भने नेता–कार्यकर्ता भेटघाटदेखि शिष्टाचार भेटसम्म पनि कार्यालयबाटै गरेका थिए।
देउवाले तीन वर्षअघि पार्टी सभापति चुनिँदा सबै नेता केन्द्रीय कार्यालय नियमित जाने गरी कार्यतालिका नै बनाएका थिए। तर त्यो कार्यान्वयनमै आएन। उपसभापति विमलेन्द्र निधिले आफ्नो पदभार ग्रहण गर्ने बेला आफू नियमित कार्यालय आउने र भेटघाटदेखि सबै काम कार्यालयबाटै गर्ने सार्वजनिक घोषणा गरेका थिए। तर त्यो एक साता पनि टिक्न सकेन।
निवासनै किन रोजाइमा ?
नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालका अनुसार नेपालका नेताहरूले अहिले आफूलाई सर्वेसर्वा ठानेका छन्। आफू राजा जस्ता र आफैंले सबै कुरा दिने जस्ता राजनीतिक संस्कार नेताहरूमा हाबी हुँदै जान थालेको भुसालको बझुाइ छ।
नेता–कार्यकर्तामा पनि जतिसुकै क्षमता, योग्यता भए पनि आफ्नो राजनीतिक तथा आर्थिक भविष्य सुरक्षित बनाउन नेताहरूकहाँ धाउने चलन बढेको उनको तर्क छ। नेपालमा सर्वहारा वर्ग, क्रान्तिकारी प्रकारको संर्घष अहिले नभएका कारण पनि नेता कार्यकर्तामा चाप्लुसी, चम्चागिरीको प्रवृत्ति देखिन थालेको स्थायी समिति सदस्य शर्माको भनाइ छ।
सर्वहारा वर्ग अनुशासित हुन्छ, जुझारु हुन्छ। तर अहिले सर्वहारा वर्ग नै छैन, क्रान्तिकारी संर्घषका बेला विचार आदतमा हस्तक्षेप हुने हुन्छ, त्यो अवस्था पनि अहिले छैन’, शर्मा भन्छन्, ‘अहिले पार्टी, नेता, आन्दोलन सबै सत्ता र संसदीय भासमा पर्दै जान थालेका छन्। यस्तो अवस्थामा वैचारिक विचलन हुने, सांस्कृतिक र आचरणगत समस्या आउँछ।
निजी निवासबाटै नेताहरूले व्यक्तिगत निर्णय गर्ने, छलफलबिनै आसेपासेलाई अवसर प्रदान गर्ने प्रवृत्ति बढेपछि कार्यकर्तामा पनि नेताहरूको निवास धाउने र चाकडी गर्ने क्रम बढेको उनको बुझाइ छ। कार्यालय सुनसान हुने, नेताका निजी निवासहरूमा भीडभाड हुने र पार्टीका गतिविधि पनि निजी निवासबाटै हुने प्रवृत्तिले पार्टी संस्थागत रूपमा नचलेको प्रस्टिने नेकपाका प्रभावशाली युवा नेता लेखनाथ न्यौपाने बताउँछन्।
‘पार्टी संस्थागत छैन, चलेको पनि छैन। व्यक्ति विशेषको मर्जीका आधारमा पार्टी चलाउने प्रवृत्तिको अभिव्यक्ति हुन्, अहिले देखिएका परिघटनाहरू’, उनले भने, ‘पार्टी कार्यालयमा आआफ्ना समूहको स्वार्थमा रहेर काम गर्न अप्ठ्यारो पर्न सक्छ। निवासबाट भए ढुक्कसँग मनलाग्दी गर्न सकन्छि, त्यही भएर नेताहरूले आफ्नै निवासमा भीड लगाउने गरिरहेको देखिन्छ।
अहिले नेपालका राजनीतिक दलका नेताको चरित्र ‘हिरोइज्म’ हो। नेतामा देखिने यो चरित्रले पार्टी नबनाउने उनी बताउँछन्। ‘हामी कम्युनिस्टले कलेक्टिभ लिडरसिप खोजेका हौं, तर हामीकहाँ ‘हिरोइज्म’ चरित्र भएको नेतृत्व छ। यो कम्युनिस्ट संस्कृति र चरित्रको लिडरसिप होइन’, न्यौपाने थप्छन्, ‘व्यक्ति हिरो भएर हामीले ताली मात्र बजाउने हो भने त्यसले कम्युनिस्ट पार्टी बन्दैन।
शक्तिमा रहेका नेताको घर धाएर पहुँच बनाउन सक्दा गाह्रोसाह्रो पर्दा नेताको सहयोग पाउने त छँदै छ, नेतासँगको सम्बन्धका आधारमा उसले अरूबाट समेत मानमनितो पाउन सक्छ, अप्ठ्यारो परेका बेला प्रहरी–प्रशासनको सहयोग पनि पाउन सक्छ। चाकडी गर्ने र खोज्ने दुवैको स्वार्थ मिलेकाले पनि नेताका निजी निवासमा भीड लाग्ने गरेको कतिपयका भनाइ छ।