News Portal

  • बंगलादेशको आमनिर्वाचन : प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी !

    हिमाली संचार संवाददाता
    २८४ पटक

    ढाका : यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ। प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन्। उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी छिन। तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन्।

    बंगलादेशका “झगडालु बेगम”हरु विगत तीन दशकदेखि एकअर्काविरुद्ध लडिरहेका छन्। यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनेछन्।

    यी दुबै महिला नेतृहरु सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय हुन। हाल ७३ वर्ष पुगेकी खालेदा जिया पूर्व सैनिक तानाशाहकी विधवा हुन भने हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन।

    साथै, यी दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनर्स्थापना गरेका थिए।

    बिडम्बना, सन् १९९१ मा प्रधानमन्त्रीमा खालेदा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो। त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ।

    हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा छिन। चुनावी मतसर्वेक्षणमा उनको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ। सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उनमाथि छ।

    विपक्षी दलकी अध्यक्ष खालेदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छिन्। उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ।

    बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउने छैनन्। बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रुपमा हुन नसक्ने दाबी गरेको छ। हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ।

    जिया अहिले बाथ तथा मधुमेह रोगबाट पीडित छिन्। उनको हालैमात्र घुँडाको प्रत्यारोपण गरिएको थियो। उनी आफैँले मुश्किलले मात्र हिँड्न सक्छिन्। पश्चिमा कुटनीतिक समुदायले उनी राजनीतिमा पुनः सक्रिय हुने सम्भावना नरहेको बताएका छन्।

    “उहाँको राजनीतिक यात्रा समाप्त भइसक्यो,” ढाकास्थित एकजना कुटनीतिज्ञले बताए। उनको एकमात्र सम्भावना भनेको औषधोपचारका लागि विदेश जान पाउने अधिकारको खोजी मात्र हो। जियाको कमजोर परिस्थितिले उनको परिवारमै सङ्कटको बादल मडारिएको छ।

    जियाको कान्छो छोराको सन् २०१५ मा निर्वासनकै क्रममा बैंककमा मृत्यु भएको थियो। उनको जेठो छोरा तारिक रहमान सन् २००८ देखि नै लन्डनमा निर्वासनमा छन्। तारिकले सन् २००१ को निर्वाचनमा खालेदा जियालाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    अक्टोबरमा तारिक विरुद्ध आजीवन काराबासको सजाय सुनाइएको छ। उनीमाथि सन् २००४ मा हसिनाले ढाकामा आयोजना गरेकाे चुनावी र्यालीमा ग्रिनेड आक्रमणको अगुवाई गरेको आरोप छ। उक्त आक्रमणमा २० जनाको मृत्यु भएको थियो।

    विश्लेषकहरुको भनाईमा चर्चामा नरहे पनि चुनावमा जियाको प्रभाव निकै छ। “हो, केही समयका लागि दुई बेगमबीचको शक्ति सङ्घर्ष ओझेलमा परेको देखिएको छ,” इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्री प्राध्यापक अलि रियाजले बताए। “तर खालेदा जियाको राजनीतिक युग सकिएको अहिल्यै ठोकुवा गर्नु ठीक होइन। खालेदा जिया चुनावमा उम्मेदवार नभए पनि उनको नाम र प्रभाव सकिएको छैन।

    जियाको कठिनाई सन् २०१४ को चुनाव बहिस्कार गर्ने निर्णयपछि अझ बढेको हो। हसिनाले बंगलादेशमा चुनावी सरकार गठन गर्ने प्रणाली खारेज गरेपछि चुनावमा व्यापक धाँधली भएको बीएनपीको आरोप छ।

    उक्त चुनावपछि भड्किएको हिंसामा दर्जनौं व्यक्तिको मृत्यु भयो। अर्को वर्ष राष्ट्रव्यापी सडक तथा रेलमार्ग अबरुद्ध पार्ने अभियान चलाइयो। उक्त अभियानको मुख्य उद्देश्य मध्यावधि चुनावका लागि हसिनालाई बाध्य पार्नु थियो। तर चुनाव भएन, बरु १५० भन्दा बढी मानिस मारिए।

    जियाको दलको आह्वानमा भएको यस आन्दोलनले आममानिसलाई क्रुद्ध बनायो। विश्लेषकहरुका अनुसार बीएनपीमाथि जाइलाग्न हसिनालाई यो आन्दोलनले उल्टै मद्दत गरेको थियो।

    “चुनाव बहिस्कार गर्ने तथा नाकाबन्दी गर्ने निर्णय दुबै आत्मघाती ठहरिए,” ढाकास्थित राजनीतिशास्त्री प्राध्यापक अताउर रहमानले बताए। “यो अभियानले पार्टीलाई कमजोर बनायो र विपक्षीमाथि जाइलाग्न ठूलो अवसर सिर्जना ग-यो। यो परिस्थितिले त्यसयता एक दलीय राजनीतिक प्रणालीका रुपमा हसिनाको दल उभिएको छ।

    केही मानिसको विश्वासमा जियाको परिवारले बीएनपीमाथिको नियन्त्रण गुमाउने स्थिति देखा परिसकेको छ। पार्टीको निमित्त अध्यक्ष रहेका जियाका छोराले लन्डनबाटै भिडियो संवादमा पार्टीका सम्भावित उम्मेदवारको अन्तर्वार्ता गरेका थिए।

    “यसले के सङ्केत गरेको छ भने जियाको वंश अझै पनि निकै बलियो छ र पार्टीभित्र बलियो प्रभाव कायम राखेको छ,” ओस्लो विश्वविद्यालयका प्राध्यापक मुबासर हसनले बताए। एजेन्सी

    _______

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    ओलीले “पहिले प्रचण्ड प्रयोग गरे, अहिले माधवकुमार नेपाल चिप्लाए” – राधाकृष्ण मैनाली

    काठमाण्डौ – मैले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नै भनेको थिएँ, त्यो एकता होइन,...

    सपथ लिँदालिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भने- त्यो पर्दैन

    काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराएकी छन्।...

    सिर्जना वाचन डबलीद्वारा अतिथिहरुलाई श्रस्टा सम्मान

    आरपी सहयात्री युएई– युएईको नेपाली साहित्यिक क्षेत्रमा सक्रिय साहित्यिक संस्था सिर्जना वाचन डबलीले आफ्नो कार्यक्रममा...

    पाटीलाई थाहा नै नदिई राजेन्द्र महतो चयन भए संसदीय दलको नेता

    काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन...

    नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

    रियाद – नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन्।...

     

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।