News Portal

देशभरमा ३० हजार कामदार अलपत्र

जीवन बस्नेत
४६१ पटक
काठमाडौं १९, २०७६ चैत

सरकारले एक स्थानबाट अर्को स्थानमा जानसमेत प्रतिबन्ध गरेपछि निर्माण क्षेत्रमा रहेका करिब ३० हजार कामदार आफ्नो घर फर्किनबाट वञ्चित भएका छन्।

आ-आफ्नो गन्तव्यमा फर्किनुपर्ने सबै मजदुर एवं सर्वसाधारण फर्किसकेको भन्दै गृह मन्त्रालयले आवतजावत रोक्न प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको छ।

गृहको परिपत्रले अझै घर फर्किने तयारीमा रहेका कामदार अलपत्र परेका हुन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार विभिन्न जिल्लामा करिब ३० हजार कामदार अझै घर जाने तयारीमा छन्।

‘सरकारले काम गर्न रोक लगाएपछि निर्माणस्थलमा क्याम्प बनाएर बसेका छन्, काम नभएपछि दैनिक ज्याला पनि छैन,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘अर्कोतिर केही दिनमै रासनलगायतका अत्यावश्यक सामान पनि सकिने अवस्था छ।

घर जान पनि नपाउने भएका छन्। लकडाउनको समय वृद्धि हुँदै जाँदा कामदारलाई कठिनाइ हुँदै जानेछ। सोमबारसम्म विभिन्न जिल्लाबाट ४० हजार कामदार घर फर्किसकेको महासंघले जानकारी दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने सबै जिल्लाबाट कामदार घर फर्काउने काम सकिएको जानकारी पाएकाले प्रमुख जिल्ला अधिकारीलाई अब आवतजावतमा रोक लगाउन परिपत्र गरिएको जानकारी दिए।

‘यसरी त कहिल्यै नसकिने भयो त, हामीले घर जानेहरू फर्किसकेको भनेर बन्द गरेका हौँ,’ उनले भने। त्यस्तो समस्या भए सम्बन्धित जिल्लाबाट अनुमति लिएपछि फर्किन सकिनेसमेत बताए।

करिब ३ हजार भारतीय मजदुर अलपत्र

निर्माण व्यवसायीका अनुसार नेपालीबाहेक करिब ३ हजार भारतीय कामदार पनि अलपत्र परेका छन्। कामदारहरूले नेपाल–भारत सीमासम्म पु¥याउन आग्रह गरेका छन्।

तर, त्यसो गर्दा असुरक्षित र केही भइहालेमा जिम्मेवारी हुनुपर्ने भएकाले निर्माण व्यवसायीले आँट गरेका छैनन्। ‘यो विषय भारतीय दूतावाससँग समन्वय गरेर मात्र समाधान गर्नुपर्ने देखिन्छ,’ महासंघका अध्यक्ष सिंहले भने।

यसअघि १५ चैतमा गृह मन्त्रालयले कोरोनाका कारण भएको लकडाउनले गर्दा देशभर रहेका निर्माण व्यवसाय क्षेत्रमा कार्यरत कामदारहरू आ-आफ्नो गृहजिल्ला लैजाने निर्णय गरेको थियो।

मन्त्रालयमार्फत निर्माणसम्बन्धी कार्यहरू रोकिएका कारण कामदारका रूपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आफ्नो गृहजिल्लासम्म उद्धार गरी पुर्‍याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो।

सोहीअनुसार व्यवस्था मिलाउन र प्रशासनसँग समन्वय गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको थियो।

अलपत्र कामदार घर फर्काउने यस्तो व्यवस्था

सबैभन्दा पहिला अलपत्र परेका कामदारलाई उनीहरूको घरमा पुर्‍याउनका लागि काम बन्द भएको पत्र सम्बन्धित आयोजना वा कार्यालयले दिनुपर्नेछ।

त्यस्तै, कामदारको नाम, ठेगाना सहितको विवरण हुनुपर्नेछ। गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने र नामावली पठाउनुपर्नेछ।

बीचबाटोमा सवारीसाधन रोक्न नहुने र अन्य यात्रु चढाउन पाउनेछैन। सवारीसाधन फर्काउँदा कुनै पनि यात्रु नचढाइएको सुनिश्चितता गर्नुपर्नेछ।

यसबाहेक गन्तव्य जिल्लाले फर्केका कामदारलाई उनीहरूका घरमै क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई जानकारी गराउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...