News Portal

प्रधानमन्त्री एबं नेकपा अध्यक्ष ओली आक्रामक होइन, रक्षात्मक

हिमाली संचार संवाददाता
४७८ पटक

काठमाडौं, २६ माघ । प्रायः सबैले बुझ्ने कुरा हो, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले आफ्नो वा पार्टीको बारेमा केहि प्रतिक्रिया दिए त्यसलाई उखान टुक्का मार्फत प्रतिकार गर्छन । धेरै विषयबस्तुमा उनको त्यो प्रतिक्रिया आएको पनि थियो ।

तर, उनको अहिलेको कार्यशैली र व्यवहार परिवर्तन भएको छ । अहिले उनी आक्रामक होइन, रक्षात्मक देखिएका छन् । अहिले ओलीले धेरै सुन्ने र कम बोलो रणनीति अख्तियार गरेका छन् । त्यो मंगलबार मात्रै गरेको सम्पादकहरुसंगको भेटघाटमा ओलीले देखाए । पहिला दुई घण्टा सम्पादकहरुका कुरा सुनेका ओलीले आफुले जवाफ दिने क्रममा पनि धेरै उखान टुक्का र आफ्नो बखान गरेनन् ।

ओलीले अहिले सरकारका राम्रा कामको प्रसंशा मिडियाले गर्न नसकेको बताइरहेका छन् । सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यति प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंग मिडियाले आफ्नो खेदो खनेको बताइरहन्छन् ।

विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली प्रयोग भने अहिले चाहे भाषणमा होस या प्रत्यक्ष भेटघाटमा गर्दैनन् । ओलीको यस्तो रक्षात्मक अवतार अहिलेमात्र देखिएको हो । सरकारले विभिन्न नियम–कानुन ल्याएर आमसञ्चार, सामाजिक सञ्जाल र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्न गरेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

तर, ओलीले भने अहिले नरम भाषामा प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा आम स्वतन्त्रताको हक कुण्ठित गर्ने काम कुनै हालतमा नहुने बताइरहेका छन् । त्यतिमात्र होइन कहींकतै गल्ती वा त्रुटि भएको भए सच्याइने समेत बताउन थालेका छन् । अरूलाई चाहिँ सुन्नुपर्छ, सुन्न सक्नुपर्छ भन्नेले राम्रो कुराको प्रशंसा गर्ने मुटु छैन भन्न नपाउन भन्ने प्रश्न ओलीको छ ।

सरकार र पार्टीबीचको सम्बन्ध, र अर्का अध्यक्ष दाहालबारे पनि ओली अहिले नरम अवस्थामा प्रस्तुत हुन थालेका छन् । सत्तारूढ नेकपाको भीमकाय केन्द्रीय समितिको दोस्रो बैठक तुलनात्मक रूपले व्यवस्थित ढंगबाट हालै सम्पन्न भएको छ । तर त्यो बैठक प्रधानमन्त्री ओलीका हकमा खासै अनुकूल भएन ।

बैठकले अमेरिकी परियोजना ‘एमसीसी’लाई संसद्बाट जस्ताको त्यस्तै पारित नगर्ने संकेत दिँदै तीन सदस्यीय अध्ययन कार्यदल बनाएको छ, जसमा एमसीसीको आलोचना गरिरहेका दुई नेता झलनाथ खनाल र भीम रावल रहेकाले अर्का सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अल्पमतमा पर्न सक्ने देखिन्छ ।

यद्यपि प्रधानमन्त्री ओलीले कार्यदलको प्रतिवेदन ‘सकारात्मक’ आउने संकेत गर्दै संसद्को यही बैठकले एमसीसीलाई ‘चाँडै’ अनुमोदन गर्ने दाबी गरिरहेका छन् । केहीअघि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘रणनीतिक साझेदारी’ गरेका ओली आफू कुनै मुलुक विशेषतर्फ ढल्किएको देखिन चाहँदैनन् । चीनपछि अमेरिकासँग घनिष्ठ साझेदारीको नमुना सहकार्यका रूपमा उनले एमसीसीलाई लिएको देखिन्छ ।

उनकै पार्टीका कतिपय वरिष्ठ नेताले भने यसलाई चीनलक्षित अमेरिकी इन्डो–प्यासिफिक रणनीति (आईपीएस) को हिस्साका रूपमा अर्थ्याएको र सरकारविरुद्ध राजनीतिक प्रहार गर्न यसैलाई अस्त्र बनाएको कारण प्रधानमन्त्री ओली अहिले चेपुवामा परेको भान हुन्छ ।

अहिले आएर एमसीसीलाई आईपीएसअन्तर्गत हो भनेर विरोध गर्नु उचित नहुने उनको तर्क थियो । ‘अमेरिकाको आफ्नो ग्लोबल स्ट्राटेजी होला, क्षेत्रीय रणनीति पनि होला, त्यसलाई हेरेर हामी हिँड्ने कि हामीले उनीहरूसँग गरेको सम्झौतालाई आधार बनाउने ?,’ ओलीले भने, ‘साथीहरूमा अलि कन्फ्युजन देखियो । त्यही भएर अध्ययन कार्यदल बनाएको हो । अब सात दिनभित्रमा त्यसले रिपोर्ट दिन्छ, अनि अहिलेको सबै कन्फ्युजनको अन्त्य हुन्छ ।’

एमसीसीअघि सभामुख चयन प्रकरणमा पनि प्रधानमन्त्री ओलीले प्रतिकूलता व्यहोर्नुपरेको थियो । आफ्नो अनिच्छाका बाबजुद पूर्वमाओवादी पक्षका अग्निप्रसाद सापकोटालाई सभामुखमा स्वीकार्न उनी पार्टी सचिवालयमा बदलिएको समीकरणले गर्दा बाध्य भएका थिए । सचिवालयका नौ सदस्यमध्ये छजना विपक्षी धारमा उभिएपछि प्रधानमन्त्रीले सभामुख पदमात्र नभई आफ्नै सरकारको भविष्यसमेत दाउमा पर्न सक्ने देखे । पछिल्लो रक्षात्मक अवतार सम्भवतः त्यहींबाट सुरु भएको हो ।

यद्यपि प्रधानमन्त्री ओलीले पार्टीभित्र रस्साकसी चल्नुलाई स्वाभाविक परिघटनाका भएको भन्दै त्यसलाई पनि सहज रुपमा स्वीकार्न थालेका छन् । प्रधानमन्त्री ओलीले धेरै सोचविचार र छलफल गरेरै पार्टी एकता भएको उल्लेख गर्दै आफूहरूलाई कसो गर्दा पार्टी कमजोर र कसो गर्दा बलियो हुन्छ भन्ने राम्रैसँग थाहा भएको बताउन थालेका छन् ।

अर्का अध्यक्ष दाहालप्रति ओलीको टिप्पणी अस्वाभाविक रूपमा सकारात्मक सुनिन्थ्यो । पहिले दाहालसँग आलोपालो सरकार चलाउने सहमति भएको र पछि दाहालकै प्रस्तावमा आफू पूर्णकालीन प्रधानमन्त्री हुन लागेको प्रधानमन्त्रीको भनाइ छ ।
काठमाडौंमा माघ १५ गतेदेखि सुरु भएको नेकपाकोे दोस्रो पूर्ण बैठक आइतबार सकिएको थियो । बैठक समापनसँगै प्रधानमन्त्री ओलीले सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रिभोजको आयोजना गरे ।

कतिपयले भोजको आयोजना गरिनु भनेको असन्तुष्ट नेताहरुलाई फकाउनको लागि भएको समेत बताए । दोस्रो पूर्ण बैठकमा धेरै केन्द्रीय सदस्यहरुले सत्तामा रहेकाहरुको खुलेर आलोचना गरेका थिए । त्यसपछि ओलीले गरेको रात्रीभोजका विषयमा विभिन्न टिकाटिप्पणी आएपनि त्यो अनुरुप भएन । अभियान टाइम्सका साथमा ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...