News Portal

दुई श्रीमती बिदेशमा, श्रीमान घर कुरुवा

हिमाली संचार संवाददाता
७६७ पटक

सिन्धुपाल्चोक ०५, २०७६ पौष : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो। सुरूका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरूमा एक खालको तनाव पैदा भयो। उनीहरूका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन्। उनले पनि सहजै स्वीकारे। अन्ततः राममायाले आफ्नै श्रीमानको बिहे बहिनी मोतिमायासँग गराइन्। बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु।

बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुसी आउँथ्यो। तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो। दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे। तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए।

‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो,’ मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए। छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कुलमा कक्षा एकमा पढ्छन्। छोराहरू श्रीमानलाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन्।

निःशुल्क भिसामा उनीहरू दुई वर्ष अघि विदेश गएका हुन्। दुवैजना घरको काम गर्छन्। यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन्। आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए।

भीमबहादुरका श्रीमतीले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन्। उनले सबै पैसा बैंकमा राखेका छन्। त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छन्। यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्’, उनले भने।

भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। श्रीमान् घर कुरेर बस्छन्। उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन्। उनीहरू पनि दिदीबहिनी हुन्। जेठी अहिले विदेशमै छिन्। जेठीकी दुई छोरा भए।

कान्छीपट्टिबाट जन्मेको छैन। दस वर्ष अघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जान्छन्। काम नहुँदा घर कुरुवा भएर बस्छन्।

बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए। उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प। भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमाए। त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा थिइन्। एकैचोटी गुटुङ्टुङ भएर हल्लायो।

एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो। मायस पुरिए। आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो। गाउँलेले निकै समय लगाएर आमालाई त निकाले। छोरा फेला परेनन्। तीन दिनपछि छोराको लास भेटियो।

गाउँका धेरै महिला विदेश !

भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन्। छिमेकी मिलन तामाङकी श्रीमती सलमाया पनि कुवेत गएको निक्कै समय भयो।

छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरूले बताए। सानुकान्छी तामाङकी छोरी सुनमाया पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन्। सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका ६ जना महिला वैदेशिक रोजगारीमा छन्।

उनीहरूका श्रीमान् घर रुँगेर बस्छन्। गाउँलेका अनुसार पुरुषहरू गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन्।

कानुनमा के छ ?

विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसूरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानुनी व्यवस्था छ।

उक्त कसूरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ।

यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ।

उक्त कसूरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र रु तीन हजार जरिवाना तथा विवाह बदर हुने उल्लेख छ। हद म्याद भने तीन महिनाको छ।

कानुनमा कारबाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानुनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...