सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित रूपमै अघि बढिरहेको बताएका छन्। उनले पार्टीले अघिल्ला सकारात्मक मूल्य, परम्परा र इतिहासलाई जोगाउँदै कमजोरी र खराब अभ्यास भने त्यागेको दाबी गरे।
शुक्रबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा मतदातासँग संवाद गर्दै थापाले कांग्रेसको इतिहासप्रति गर्व गर्नुपर्ने बताए। उनका अनुसार सबै पुराना कुरा खराब हुँदैनन्, राम्रा पक्षलाई निरन्तरता दिँदै अब समयअनुसार परिवर्तन आवश्यक रहेको छ।
थापाले अहिलेको कांग्रेस स्पष्ट योजना र सोचका साथ अघि बढेको उल्लेख गर्दै आगामी पाँच वर्षमा देशलाई नयाँ दिशामा लैजाने लक्ष्य लिएको बताए। विगतमा भएका त्रुटि र कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखिने बताए।
भ्रष्टाचार र कुशासन अन्त्य गर्दै लामो समयदेखि रोकिएका कामहरू पूरा गर्ने संकल्पसहित कांग्रेस अघि बढेको उनको भनाइ थियो। उनले मतदातालाई नयाँ ऊर्जा र योजनासहितको कांग्रेसलाई साथ दिन अपिल समेत गरे।
















