
हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ। सदरमुकाम सिमिकोटदेखि उत्तरी भेगका नाम्खा गाउँसम्म जाने सडकहरू अवरुद्ध भएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट सिमिकोट जाने हवाई उडानहरू पनि रोकिएका छन्।
सदरमुकाममा कार्यालयहरू खुला राखेर आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कर्मचारीहरूले सिमिकोट विमानस्थलमा हिउँ सफा गर्ने काम तीव्र बनाएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा मनोनयन दर्ता गरेका सातै दलका उम्मेदवारहरू हिमपातका बाबजुद गाउँ–गाउँमा प्रचार प्रसार जारी राखिरहेका छन्। स्थानीय बासिन्दाहरूले भने हिमपातले मङ्सिरमा रोपिएका जौँ, गहुँ र उवा बालीका लागि फाइदा पुगेको भन्दै खुसी व्यक्त गरेका छन्।